कोहलपुर घटनाका कारण जिल्लाभरका विद्यालय बन्द

रिपोर्ट नेपाल | 2019 Dec 09 | 02:37 pm 1159

बाँके, मंसिर २३: कोहलपुरमा स्थानीय प्रशासनले आइतबार लगाएको कर्फ्यू हटाएको छ । विद्यार्थीको प्रदर्शनका कारण कोहलपुर अशान्त बनेपछि प्रशासनले आइतबार अपरान्ह तीन बजेबाट बजार क्षेत्रका केही स्थानमा निषेधाज्ञा जारी गरेको थियो । यता, प्याव्सन र एनप्याव्सनले घटनाको बिरोध गर्दै आज जिल्लाभरका विद्यालय बन्द गराएका छन् ।

बन्दका कारण विद्यालय र बजार ठप्प छन् । सवारी साधन भने सञ्चालन भइरहेका छन् । आइतबार बिहान ट्रकको ठक्करबाट स्कुले छात्रा प्रगति चन्द गम्भीर घाइते भएपछि कोहलपुर तनावग्रस्त बनेको थियो । त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत प्रगतिको दुवै खुट्टा काटिएको छ । उनलाई थप उपचार लागि हिजै काठमाडौं ल्याइएको छ ।

प्रगतिलाई ट्रकले ठक्कर दिएपछि प्रदर्शनमा उत्रिएका विद्यार्थीहरु ट्रकमा आगो लगाउनुका साथै दर्जन बढी सवारी साधन तोडफोड गरेका थिए । सोही क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्ने सुशील थापा गम्भीर घाइते भएका थिए । उनलाई पनि थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

अहिले कोहलपुरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । बालिकालाई ठककर दिने ट्रक चालक भने प्रहरी नियन्त्रणमा छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.