काठमाडौं, भदौ ५ : नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकको रुपमा काम गरिरहेका जापानी नागरिक ग्यातुकी कोजी नेपाल आउन नपाउने भएका छन् । अध्यागमन विभागले नेपाली टोलीका मुख्य प्रशिक्षक कोजीलाई श्रम स्वीकृतिबिना नेपालमा काम गर्दै आएपछि नेपाल प्रवेशमा रोक लागाएको हो ।
प्रशिक्षक कोजी नेपाली टोलीसँग एशियन गेम्सको लागि हाल इण्डोनेसियामा छन् । एशियन गेम्समा नेपाल समूह चरणको तीनै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ ।
विभागले पर्यटक प्रवेशाज्ञामा नेपाल बस्दै आएका र श्रम स्वीकृति नलिइ नेपालमा काम गरेकाले प्रशिक्षक कोजीलाई सन् २०१८ सम्म नेपाल प्रवेशमा रोक लगाएको थियो । अध्यागमन विभागका निर्देशक जनार्दन गौतमले पर्यटक प्रवेशाज्ञामा १५० दिन नेपाल बसिसकेको र नियमानुसार श्रम स्वीकृित नलिएकाले कोजीलाई सन् २०१८ भर नेपाल प्रवेशमा रोक लगाइएको जानकारी दिए ।
“खेलकूद मन्त्रालयको पत्र, गृहमन्त्रालयको सिफारिस र काम गर्ने संस्थाको सिफारिससाथ उहाँले श्रम स्विकृतिका लागि प्रक्रिया गर्नुपर्नेमा गर्नुभएन ।’ निर्देशक गौतमले भने-‘नियमानुसार एक वर्षमा १५० दिन पर्यटन प्रवेशाज्ञामा उहाँ नेपाल बसिसक्नुभएको छ, २०१८ भर उहाँ नेपाल आउन मिल्दैन” । विभागका अनुसार पर्यटन प्रवेशाज्ञामा नेपाल बस्ने पर्यटकले वर्षमा १५० दिनमात्र यहाँ बस्न पाउँछ ।
अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०का प्रवक्ता किरण राईले कोजीलाई नेपालमा काम गर्न कानूनी समस्या रहेको बताउँदै नयाँ प्रशिक्षक चयनका लागि गृहकार्य शुरु गरेको बताए ।
“कोजी नेपाल आउन नपाउने भएपछि अब के गर्ने भन्ने विषयमा हामी आन्तरिक छलफल गरिरहेका छौँ, एक दुई दिनमा यसको किनारा लगाउछौँ” प्रवक्ता राईले भने। “प्रशिक्षक कोजीको स्थानमा साफ च्याम्पीयनसिप कसले हेर्ने र कसलाई ल्याउने भन्ने विषयमा छलफल जारी छ, यसबारे छिट्टै टुङ्गोमा पुग्छौँ”–प्रवक्ता राईको भनाइ थियो ।
सन् २०१६ को मार्चदेखि नेपाली राष्ट्रिय फुटबल टोली प्रशिक्षकको जिम्मेवारी सम्हालेका कोजीको करार अवधि आगामी नोभेम्बरसम्म रहेको छ । नेपालले यसै महिना बङ्गलादेशमा हुने साफ च्याम्पियनसिप खेल्दैछ । एन्फाले बङ्गलादेशमा हुने साफ च्याम्पियनसिपसम्मका लागि कोजीलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।