बुबाको स्मृतिमा खुल्ला डबल्स व्याडमिन्टन प्रतियोगिता

रिपोर्ट नेपाल | 2018 Sep 16 | 08:07 am 2075

पाल्पा, भदौ ३१:  इलाका प्रहरी कार्यालय रामपुर पाल्पाका प्रहरी निरिक्षक भोजराज पाण्डेयको स्वर्गीय बुवा दिनानाथ पाण्डेयको ३१ औं पुण्यतिथि पारेर ईलाका प्रहरी कार्यालय रामपुरको खेल मैदानमा खुल्ला व्याडमिन्टन प्रतियोगिता शुरु भएको छ ।

नगर खेलकुद विकास समिति रामपुरको आयोजनामा ईलाका प्रहरी कार्यालय रामपुरको परिसरमा भएको प्रतियोगिताको शनिबार बिहान एक समारोहका बीच उट्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य दिदै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले जन्म दिने बुवाआमाको सम्मान र सम्झनामा कुशल छोराछोरीले यस्ता प्रतियोगितात्मक कार्यक्रम गरि युवा वर्ग लगायत सबैलाई समेट्नु महत्वपुर्ण रहेको बताए ।

उनले खेल खेल्नु ठुलो कुरा नभएर दिवंगत हुनुभएका बुवाको सम्झनामा युवाहरु विच आपसी भाइचाराको सम्बन्ध जोगाइराख्न निरीक्षक पाण्डेले गरेको खेलको पहलले समाजमा बुवाआमा र खेलप्रेमीमा राम्रो सन्देश गएको बताएका छन् ।

सो व्याडमिन्टन प्रतियोगितामा युवाहरुलाई अनुशासित भएर खेल खेल्न आग्रह गर्दै थापाले यस्ता प्रतियोगिताले प्रहरी र नागरिक बीच अन्योन्याश्रित सम्बन्ध बिस्तार हुनुका साथै रामपुरबासीमा मेलमिलाप र एकताको संदेश दिएको बताए ।

कार्यक्रममालाई सम्बोधन गर्दै इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख मधुसुदन भट्टराईले प्रतियोगिताले आपसी सम्बन्ध सुधार सँगै जन्मदिने बाबुको सम्मानमा एक सच्चा सुपुत्रले गरेको कार्य उदाहरणीय भएको उल्लेख गरेका छन् ।

खेलमा सहभागि खेलाडिहरुलाई शुभकामना, स्वागतको साथै कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भोजराज पाण्डेयले युवाहरु विचको सम्बन्ध सुधारको लागि खेलले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए ।

अन्य खेलका धेरै प्रतियोगिता हुने भएपनि व्याडमिन्टनमा स्वच्छ, मर्यादित र अनुशासित प्रतिस्पर्धा हुने भएकाले नगर खेलकुद विकास समितिलाई आग्रह गरी कार्यक्रम गरिएको बताए ।

बुवाको समाजसेवा प्रतिको प्रेरणाले नै उनको सम्मानमा पुण्यतिथिको दिन पारेर कार्यक्रम गर्न उत्साह जागेको बताउदै अत्यन्त भावुक हुदै पाण्डेले भने– समाजमा अमनचयन र साथित्वको भावना जगाउन यस्ता प्रकारका खेलले महत्वपूर्ण टेवा पुर्याउने विश्वास व्यक्त गरे ।

कार्यक्रमका सभापति तथा रामपुर नगर खेलकुद विकास समितिका अध्यक्ष शंकर बहादुर खाँणले बालक, युवा तथा प्रौढहरुको रोजाई पर्दै आएको व्याडमिन्टनको यस क्षेत्रबाट उत्थान गर्न कार्यक्रमको आयोजनामा आफुहरु हौसिएको बताए ।

समितिले व्याडमिन्टन प्रतियोगिता गर्ने योजना बनाएपनि संभव नभइरहेको बेला प्रहरी निरिक्षक पाण्डेयको समन्वयमा उनका स्वर्गीय पिताको पुण्यतिथी पारेर संञ्चालन गरिएको खाँणले बताए ।

रामपुरमा उत्साहजनक खुला व्याडमिन्टन प्रतियोगिता भने यो पहिलो पटक आयोजित प्रतियोगिता हो । प्रतियोगितामा गुल्मी, नवलपरासी, रुपन्देही, पाल्पा र स्याङ्जाका गरि ४४ टिमको सहभागिता रहेको छ भने भदौ ३१ गते सम्म गरि २ दिन संचालन हुने छ ।

प्रतियोगितामा प्रथम समुहले नगद १५ हजार र द्वितिय समुहले ७ हजार नगद प्राप्त गर्नेछन् । कार्यक्रमको संञ्चालन नगर खेलकुद विकास समितिका सचिव दुर्गेश मल्लले गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.