एभरेष्ट म्याराथनको उपाधि सुमन कुलुङलाई

रिपोर्ट नेपाल | 2019 May 29 | 02:46 pm 2324

ओखलढुंगा, जेठ १५ : यसवर्षको एभरेष्ट म्याराथनको उपाधि सुमन कुलुङले जितेका छन् । बुधबार सगरमाथा आधारशिविरदेखि नाम्चे सम्मको ४२ किलोमिटर दुरी उनले ३ घण्टा ४७ मिनेट १६ सेकेन्डमा पार गरे । कुलुङ सन् २०१७ को पनि उपाधि विजेता हुन् ।

कपिलदेव बुढाले सोही दुरी ३ घण्टा ५६ मिनेट १० सेकेन्डमा पार गर्दै उपविजेतामा चित्त बुझाए । त्यसैगरी रामकुमार राजभण्डारीले ३ घण्टा ५८ मिनेटमा निर्धारित दुरी पार गर्दै तेस्रो भए । फुल म्याराथनमा विभिन्न देशका गरी १ सय ८७ धावकहरु प्रतिस्पर्धामा थिए ।

उपाधि विजेता कुलुङ सोलुखुम्बुको गुदेलका स्थानीय हुन् । उनले पर्यटकको भारी बोक्दाबोक्दै म्याराथन दौडिन थालेका थिए । हाल उनलाई अल्ट्रा धावकको रुपमा चिनिन्छ ।

त्यसैगरि दिङबोचेदेखि नाम्चे सम्म २१ किलोमिटरको हाफ म्याराथनको उपाधि बेलायतका अलेक्जेन्डर विलियम जल्यान्डले जितेका छन् । उनले निर्धारित दुरी ३ घण्टा आठ मिनेटमा पुरा गरे । त्यसैगरि ब्राजिलका कार्लोस फ्रेडेरिको उपविजेता भए । उनले ३ घण्टा ४२ मिनेट ५० सेकेन्डमा दुरी पार गरे । त्यसैगरी भारतका जेरोमी लियोडले ३ घण्टा ४४ मिनेट ५५ सेकेन्डमा निर्धारित दुरी पार गर्दै तेस्रो भए ।

हाफ म्याराथनमा विभिन्न देशका १२ जनाले प्रतिस्पर्धा गरेका थिए । ६० किलोमिटर दुरीको अल्ट्रा म्याराथनको परिणाम भने आउन बाँकी छ । हिमालय एक्सिपिडिशनले सन् २००३ देखि वर्षेनी एभरेष्ट म्याराथन आयोजना गर्दै आएको छ । यो संसारकै सबैभन्दा उचाइमा आयोजना हुने अल्ट्रा रेसको रुपमा समेत प्रसिद्ध छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.