इपिएल : ललितपुरले भैरहवालाई हरायो

रिपोर्ट नेपाल | 2018 Dec 16 | 07:02 pm 1834

काठमाडौँ, पुस १ :  ललितपुर प्याट्रीयट्स एभरेष्ट प्रिमियर लिग (इपिएल) टी ट्वान्टी क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा रहँदै अघिल्लो चरणमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा आज भएको लिग चरणको अन्तिम खेलमा ज्ञानेन्द्र मल्ल कप्तान रहेको ललितपुरले शरद भेषवाकर कप्तान रहेको भैरहवा ग्लाडीयटर्सलाई छ विकेटले पराजित गर्दै क्वालिफायरमा पुगेको हो । क्वालिफायरमा विजेता हुने टोली सिधै फाइनलमा पुग्नेछ भने पराजित टोलीले फाइनल प्रवेशका लागि इलिमिनेटर खेल्नुपर्ने हुन्छ ।

टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले दिएको ९३ रनको लक्ष्यलाई ललितपुरले १४ दशमलव २ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो । ललितपुरको जितमा पवन सरार्फले २५ रनको योगदान दिए भने जय किशन कोल्शावालाले अविजित २२ तथा सन्दीप जोराले १८ रन जोडे । भैरहवाका लागि रायन टेन डेसकाटेले दुई विकेट झारे ।

त्यसअघि पहिले व्याटिङ गरेको भैरहवाले १९ ओभरमा सबै विकेट गुमाउदै ९२ रनमा समेटियो । भैरहवाका लागि रायन टेन डोसकाटेले सर्वाधिक ३७ रनको योगदान दिए भने रवि इन्दर सिंहले २५ रन जोडे । बलिङतर्फ ललितपुरका सन्नी पटेल एक्लैले पाँच विकेट लिए भने योगेन्द्रसिंह कार्की र राशिद खानले दुई-दुई विकेट लिए । जितसँगै ललितपुरले पाँच खेलबाट आठ अङ्क जोडेको छ भने समान खेल खेलेको भैरहवा छ अङ्कका साथ दोस्रो स्थानमा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.