१३ औं साग : १ मिलि सेकेन्डले स्वर्ण

रिपोर्ट नेपाल | 2019 Dec 04 | 08:23 am 2145

काठमाडौंं, मंसिर  १८ :  एथलेटिक्स खेलै पुरानो । यसलाई ‘फादर अफ स्पोर्ट्स’ मानिन्छ । यही एथलेटिक्समा सन्तोषी श्रेष्ठले मंगलबार स्वर्णपदक जितेर इतिहास रचेकी छन् । १३ औं दक्षिण एसियाली खेलकुदमा प्राप्त यो उपलब्धिले उनी एथलेटिक्समा नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय स्वर्ण जित्ने महिला खेलाडी भएकी हुन् ।

सन्तोषीले दशरथ रंगशालाको ट्र्याकमा १० हजार मिटर दौडमा त्यो सफलता हासिल गरेकी हुन् । उनले एक मिलिसेकेन्डले मात्र भारतीय प्रतिद्वन्द्वी कविता यादवलाई पछाडि पारिन् । सन्तोषीको टाइमिङ निस्कियो ३५ मिनेट ०७.९४ सेकेन्डको । कविताको टाइमिङ थियो ३५ मिनेट ०७.९५ सेकेन्ड ।

एक मिलिसेकेन्ड भनेको त्यति थोरै समय हो, जुन एक सेकेन्डलाई हजार भाग लगाउँदाको एक भाग हो । अर्थात्, हजार मिलिसेकेन्ड बराबर एक सेकेन्ड हुन्छ । ‘फोटो फिनिस’ (यति नजिक कि अन्तिम रेखा पार गर्दा शरीरको भागबाट गरिनुपर्ने मूल्यांकन) कै रूपमा उनले बाजी मार्दै इतिहास कोरेकी हुन् । एक मिलिसेकेन्डले जीवनमा के अर्थ राख्ला ? यही एक मिलिसेकेन्डले सफलता चुमेकी सन्तोषीले सुनाइन्, ‘टाइम म्यानेजमेन्टमा धेरै कमजोर हुँ । रनिङमा लागेपछि एक मिलिसेकेन्ड पनि कति महत्त्वपूर्ण छ भन्ने बुझ्न थालेकी छु ।’

तेस्रो भएकी श्रीलंकाली निलान्थी लंकाले ३५ मिनेट ५९.०२ सेकेन्डमा दूरी पार गरेकी थिइन् । सात प्रतिस्पर्धीमा नेपालकी विश्वरूपा बुढा (३८.२४.०३) छैटौं स्थानमा रहिन् । सन्तोषीेले जितेको यो स्वर्णपदक धेरै अर्थमा विशेष रह्यो ।

मध्यम दूरीमा मिलिसेकेन्डमा नतिजा निस्कनु नै दुर्लभ हुन्छ । अर्को, सागमा नेपालले मध्यम दूरीको दौडमा पाएको ठूलो सफलता हो । त्यसमाथि उनको पहिलो अन्तर्राष्ट्रिय सहभागितामै स्वर्ण जित पनि थियो । यसअघि नेपाललाई सागमा सबै स्वर्ण म्याराथनबाट आएको छ । वैकुण्ठ मानन्धरले तीन, टीका भण्डारी र राजेन्द्र भण्डारीले १–१ स्वर्ण जितेका छन् । आजको कान्तिपुरबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.