भत्‍कियो कभर्ड हल

रिपोर्ट नेपाल | 2018 Jul 15 | 12:20 pm 1680

डडेल्धुरा,असार ३१ : डडेल्धुरा खेलकूद विकास समितिको कार्यालयसँगै रहेको जिल्लाको एकमात्रै कभर्ड हल भत्किएको छ । अमरगढी नगरपालिका वडा नं ४ खलंगामा ३४ वर्ष पहिले निर्माण भएको उक्त कभर्ड हल जीर्ण अवस्थामा रहेको थियो।

जिल्लाको एकमात्र कभर्ड हल लगातारको वर्षाका कारण शनिबार भत्किएको खेलकूद विकास समितिले जनाएको छ। पुरानो संरचना भएको र मर्मतसम्भार नभएकाले अविरल वर्षाका कारण कभर्ड हल भत्किएको जिल्ला खेलकूद विकास समितिका अध्यक्ष राजेन्द्रबहादुर मगरले बताए।

विगत एक वर्षदेखि राष्ट्रिय खेलकूद परिषद् (राखेप) र प्रदेश सरकारलाई इस्टिमेटसहित मर्मतका लागि अनुरोध गर्दै आएको भए पनि सरोकारवाला निकायले ध्यान नदिँदा हल भत्किएको जिल्ला खेलकूद विकास समितिले जनाएको छ। स्थानीय निकाय अमरगढी नगरपालिकालाई पनि जीर्ण हलको मर्मत संहारका लागि निकै अनुरोध गरे तर बेवास्ता गरियो अध्यक्ष मगरले जानकारी गराए।

जिल्लाको एकमात्र कभर्ड हल भत्किदा जिल्लाका इनडोर खेलकूदका कार्यक्रमसमेत प्रभावित हुने भएका छन् । इनडोर खेल खेल्नका लागि हलको प्रयोग हुने हँुदा अब खेल खेल्न समस्या हुने खेलाडी सुनिल तामाङले बताए।

ब्याडमिन्टन, टेबलटेनिस, कराते, बक्सिङ, चेसजस्ता भित्र खेलिने खेल बाहिर मैदानमा खेल्दा हावाले प्रभावित हुने हुँदा कभर्ड हलको आवश्यकता रहेको उहाँको भनाइ छ। कभर्ड हलमा शनिबारको दिन भएकाले कुनै खेलाडीलाई चोटपटक भने लागेको छैन। अन्य दिनमा सामान्य किसिमका इनडोर खेलको अभ्यासका लागि खेलाडीहरु आइरहने भए पनि त्यो दिन भने बिदाका कारण कोही पनि हलभित्र नहुँदा कुनै किसिमको अप्रिय घटना हुनबाट जोगिएको खेलकूद विकास समितिका कार्यालय प्रमुख डम्बर भण्डारीले बताए। रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.