महोत्तरी, असार ३१ । ‘नेपाल रेल्वे’ ले आजदेखि महोत्तरीको भंगहासम्म सेवा विस्तार गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जनकपुर–जयनगरदेखि महोत्तरीको भंगहासम्म चल्ने रेल सेवाको उद्घाटन हरियो झण्डा देखाएर गरेका छन् ।
विगत १५ महिना देखि जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा रेलसेवा सञ्चालन हुँदै आएको थियो । आजदेखि थप १७ किलोमिटरमा रेल सेवा सञ्चालन भएको मन्त्री ज्वालाले बताए । अब महोत्तरीको भंगहादेखि जनकपुरहुँदै जयनगरसम्मको ५२ किलोमिटरमा रेल सेवा सञ्चालन हुनेछ ।
भारत सरकारको आर्थिक सहयोगमा भारतीय कम्पनी इरकनले १७ किलोमिटर विस्तार गरेको थियो भने १८ जेठमा नेपाल रेल्बे कम्पनीलाई हस्तान्तरण गरेको थियो ।
करिब २० वर्षको प्रतिक्षा पछि गाउँमा पूनः रेल सेवा सञ्चालन भएपछि खुसीको सीमा नै नरहेको भंगहा नगरपालिकाका मेयर संजीवकुमार साहले बताए । उनले भंगहा, बिजलपुरामा रेल सेवा सञ्चालन भएपछि भंगहा नगरवासीमा निकै उत्साह देखिएको बताए ।