काठमाडौं, माघ २० : नेपाली क्रिकेटले एतिहासिक सफलता हात पारेको छ। युएई विरुद्धको तेस्रो तथा अन्तिम टि-२० अन्तर्राष्ट्रिय खेलमा नेपाल १४ रनले विजयी भएको छ ।
जितका लागि १ सय ५ रनको लक्ष्य रक्षा गर्न उत्रेको नेपालका लागि पहिलो ओभर बलिङ गर्न आएका सन्दीप लामिछानेले २० रन खर्चिन पुगेका थिए । दोस्रो ओभरमा सोमपालले ९ रन दिंदै १ विकेट लिए भने तेस्रो ओभरमा करण केसीले १० रन दिए ।
सोमपालले फ्याकेको चौथो ओभरमा १२ रन बनाउंदै युएईले नेपालमाथि दबाब कायम गरेको थियो । तर पाचौं ओभरमा अभिनाश बोहोराले ७ रन दिंदै ओपनर घुलम साबेरको विकेट लिएपछी नेपाल खेलमा फर्किन खोजेको थियो ।
छैठौं ओभरमा बलिङमा फर्किदै सन्दीपले मोहम्मद उस्मानको विकेट लिंदै केवल ३ रन खर्चेपछि युएई ६१-३ को स्थितिमा पुगेको थियो । ललित राजवंशीले बलिङ गरेको सातौं ओभरमा युएईले १२ रन जोड्दा जितका लागि बाकिं ३ ओभरमा ३३ रन चाहिएको थियो ।
आठौं ओभरको पहिलो बलमै आक्रामक ब्याटिङ गरेका शाइमन अन्वरलाई करण केसीले आउट गर्न सफल भए । अन्वरले २० बलमा ३० रन जोडेका थिए । करणले फेरी तेस्रो बलमा कप्तान महम्मद नाभेदलाई शुन्यमै आउट गर्दा युएई संकटमा परेको हो । त्यस ओभरमा करणले केवल ४ रन खर्चिंदै युएईलाई दबाबमा राख्न सफल भए ।
नवौं ओभर बलिङ गरेका अभिनाशले सो ओभरमा ९ रन दिंदै १ विकेट लिन सफल भए । युएईलाई अन्तिम ओभरमा २० रन चाहिएको थियो । अन्तिम ओभर बलिङ गर्न आएका पहिलो दुई बलमा विकेट लिए र ५ रन मात्र खर्चिंदै नेपालको जित सुनिश्चित पारे ।