११+… देश नलडेको युद्धमा नागरिकको मृत्यु कहिलेसम्म ?

रिपोर्ट नेपाल | 2024 Jan 18 | 09:22 am 197

काठमाडौँ, माघ ४। सरकारले औपचारिक रूपमा जानकारी नगराए पनि रुस–युक्रेन युद्धमा मारिने नेपालीको संख्या ११ पुगिसकेको छ । थप अरू पनि मारिएको अनौपचारिक सूचना छ, तर पुष्टि हुने विवरण आइसकेका छैनन् । एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका मृत्युका घटनाबाट सजिलै अनुमान गर्न सकिन्छ– यो शृंखला यत्तिमै रोकिने देखिँदैन ।

११+… देश नलडेको युद्धमा नागरिकको मृत्यु कहिलेसम्म ?

रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्धको लडाइँमा मारिएका नेपालीमध्ये सबैजसो निम्न मध्यम वर्गीय परिवारका सदस्य छन् । धेरैजसोको विगत प्रहरी वा नेपाली सेनामा भर्ती भएको देखिन्छ । कतिपय बीचमै जागिर छोडेर र कतिपय अवकाशपछि रुसी सेनामा भर्ती हुन पुगेका हुन् । मारिएकामध्ये धेरैजसो संगठित मानव तस्करका सदस्यलाई रकम बुझाएर भिजिट भिसामा दुबई हुँदै त्यहाँबाट रुस पुगेको देखिन्छ । केही भने कतार वा दुबईमा काम गर्दागर्दै आकर्षक कमाइको प्रलोभनमा परेर रुस पुगेका छन् ।

 

मृत्यु भएका ११ मध्ये कुन्दनसिंह नागलबाहेक १० को पृष्ठभूमि, उनीहरूको बाध्यता र परिवारमा परेको शोकको विवरण हामीले संकलन गरेका छौं । अन्तिमपल्ट अनुहार हेर्ने धोकोलाई मनमै अँठ्याएर कुशको शव बनाएर दाहसंस्कार गर्नुपर्नर् ेबाध्यतादेखि शव ल्याउन सकिन्छ कि भनेर परिवारजनले गरिरहेको हारगुहारको कथा सुन्दा मृत्युको यो भयावह शृंखला कति गहिरो छ भनेर थाहा हुन्छ ।

रुसी सेनामा भर्ती भएका लमजुङको दूधपोखरी गाउँपालिका–१ का ३२ वर्षीय साजन गुरुङको पनि मृत्युको खबर सार्वजनिक भइसकेको छ । विस्तृत विवरण आइसकेको छैन । आठ वर्ष पहिले मलेसिया गएका साजन ९ महिनामै गाउँ फर्किएर माओवादी पार्टीमा जोडिएका थिए । परिवारका सदस्यका अनुसार दूधपोखरी गाउँपालिका कमिटीका वाईसीएल अध्यक्षसमेत रहेका उनी झन्डै १० लाख खर्चेर रुस पुगीवरी सेनामा भर्ती भएका थिए । युक्रेनी सेनाविरुद्ध लड्दालड्दै बन्धक भएका चार नेपालीबारे पनि सामाजिक सञ्जालबाट भिडियो फुटेज बाहिर आइरहेका छन् । जसमा राजापुर गाउँपालिका–१ बर्दियाका विवेक खत्री, मण्डन देउपुर–६, काभ्रेका सिद्धार्थ ढकाल, लेटाङ नगरपालिका–२ मोरङका विकास राई र रुन्टीगढी गाउँपालिका–८ रोल्पाका प्रतीक पुन छन् ।

प्यूठान नगरपालिका–४ काठेबरका कालबहादुर सुनार एक सातायता छोराको शव पर्खेर शोकपूर्ण समय कटाइरहेका छन् । दुई वर्षअघि रोजगारीको खोजीमा कतार पुगेका ३० वर्षीय सोनु (सोमेस) दुई महिनाअघि रुस पुगेका थिए । रुसी सेनामा भर्ती भएका सोमेसको युक्रेनसँगको युद्धका क्रममा मृत्यु भएको खबर पाएपछि परिवारमा शोक छाएको छ । बाबु कालबहादुरले स्वदेशभित्र रोजगारीको अभावमा आफूले छोरा गुमाएको बताए । ‘देशमै रोजगारी भइदिएको भए ऊ रुस पुग्ने थिएन,’ उनले भने, ‘आफू विदेश जाँदाको ऋण त तिर्‍यो तर छोरा फर्किएन ।’

कालबहादुरलाई यतिबेला छोराको मृत्युको शोकसँगै शव आउने हो कि नआउने भन्ने संशयले पनि सताएको छ । घरपरिवारको आर्थिक अवस्था नाजुक रहेको सुनार परिवारका तीन जना रोजगारीका सिलसिलामा भारत तथा कतारमा थिए । बुबा कालबहादुर र कान्छो छोरा अनुज भारतमा काम गर्थे भने सोमेस दुई वर्षअघि कतार उडेका थिए । कतार जानुअघि ७ कक्षासम्म मात्रै पढेका सोमेस पनि रोजगारीका लागि लामो समयदेखि भारत आउजाउ गरिरहेका थिए । भारतमा भनेजस्तो कमाइ नभएपछि सोमेस कतार उडेको कालबहादुरले बताए ।

परिवारका अनुसार कतारबाट रुस जान सोमेसले साढे चार लाख रुपैयाँ दलाललाई बुझाएका थिए । आफ्नो र आमाको गरगहना बेचेर तथा भारतमा रहेका भाइ अनुजको १ लाख थपेर रकम कतार पठाइदिएको सोमेसकी श्रीमती मायाको भनाइ छ । रुस पुगेपछि गत मंसिर २२ सम्म परिवारको नियमित सम्पर्कमा रहेका सोमेस त्यसपछि बेखबर बने । त्यसअघि उनले परिवारका सबैलाई रुसी सेनामा भर्ती भएर तालिममा सहभागी भएका विभिन्न तस्बिर पठाउँथे । पछिल्लो पल्ट सोमेससँगै लडाइँमा संलग्न बर्दियाका एक साथीले सामाजिक सञ्जालमार्फत उनको मृत्यु भएको सूचना दिएका थिए । यतिबेला कालबहादुर छोराको शव ल्याउन सकिन्छ कि भनेर आफन्त र चिनेजानेकालाई परराष्ट्र मन्त्रालय र अन्य सरकारी निकायमा बुझ्न पठाइरहेका छन् । शव ल्याउन पाए अन्तिमपल्ट अनुहार हेर्न पाइन्थ्यो भन्ने धोको त उनले साँचेका छन् तर उनी आफैंमा विश्वस्त छैनन् । उनले भने, ‘शव ल्याउनै नसकिने पक्का खबर हुन्थ्यो भने हामी विधिअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गर्थ्यौं ।’

दुई महिनायता शवको उस्तै पट्यारलाग्दो प्रतीक्षामा छन्, पोखरा रानीपौवामा किराना पसल चलाइरहेका धनराज राई । गत कात्तिकमा कन्सल्टेन्सीमार्फत विद्यार्थी भिसामा रुस पुगेका उनका २६ वर्षीय छोरा देवान रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्धको युद्धमा मारिए । खासमा देवान रसिया जाने योजनामा थिएनन् । १२ कक्षा उत्तीर्ण गरेपछि उनले दक्षिण कोरिया जान ईपीएसमा नाम निकालेका थिए । कोरोना महामारीपछि कोरिया लैजाने प्रक्रिया रद्द भयो । त्यसपछि उनी पढ्दै कमाउने भनेर रुस पुगे । त्यहाँ पुगेपछि प्रलोभनमा परेर रुसी सेनामा भर्ती हुन पुगे । ‘हामीले त्यस्तो लडाइँ चलेको छ, खतरा छ भन्दा उसले बाहिर हल्ला भएजस्तो खतरा छैन, मेरो चिन्ता गर्नु पर्दैन भन्थ्यो,’ धनराजले भने, ‘पहिलो महिनाको तलब भनेर ३ लाख रुपैयाँ पठाएको थियो ।’ धनराजको अन्तिमपल्ट असोज १७ मा देवानसँग फोनमा कुराकानी भएको थियो । त्यतिबेला देवानले आफू बसिरहेको क्याम्पबाट १५ दिनका लागि अर्को क्याम्पमा जाने र त्यहाँ फोन, इन्टरनेट केही नहुने जानकारी दिएका थिए । त्यसपछि उनको कहिल्यै फोन आएन । युक्रेनविरुद्ध लड्दालड्दै असोज २२ मा देवानको निधन भयो । परिवारले यो खबर मंसिर १ मा पायो ।

छोराको निधनको खबरपछि धनराज परराष्ट्र मन्त्रालय पुगे । शव ल्याइदिन निवेदन बुझाए । शव आउने आशामा कहिले रुसस्थित नेपाली दूतावासमा फोन घुमाए, कहिले परराष्ट्र मन्त्रालयको कन्सुलर विभाग धाए । दुई महिनाको पर्खाइपछि रुसस्थित नेपाली दूतावासले शव पठाउन नसक्ने टुंगो दियो । दूतावासको आग्रहअनुसार धनराजले आइतबार पोखरा–१३ को वडा कार्यालयबाट देवानको उतै सद्गत गर्ने अनुमतिसहितको सिफारिसपत्र पठाए । उनका अनुसार कन्सुलर विभागमा इमेल गरेको पत्र दूतावासमा पुगिसकेको छ । ‘त्यो पत्र रुसको रक्षा मन्त्रालय हुँदै सैनिक ब्यारेक पुग्नुपर्ने रहेछ,’ उनले भने, ‘त्यसपछि मात्रै सद्गत गरेर अस्तु र फोटो नेपाल पठाउने रहेछन् । अझै १०–१५ दिन लाग्छ होला ।’ रुसमा सद्गत भएपछि पुर्ख्यौली घर उदयपुर पुगेर परम्पराअनुसार काजकिरिया गर्ने उनले सुनाए । ‘छोरा फर्किएन, अब शव पनि नआउने भयो,’ उनले भने, ‘क्षतिपूर्ति पाउने नपाउने केही थाहा छैन । पाए पनि लामो कागजी प्रक्रिया पूरा गर्नुपर्छ भन्छन् ।’

स्याङ्जा वालिङ नगरपालिका–१४ मान्खुस्थित अर्याल परिवार पनि शोकमा छ । नेपालबाट दुबई हुँदै कात्तिक ३ मा रुस पुगेका हरिप्रसाद अर्याल पाँचौं दिनमा रुसी सेनामा भर्ती भएका थिए । त्यसपछि उनले फौजी जीवनका फोटो र भिडियो फेसबुकमा पोस्ट गरिरहेका थिए । पछिल्लो पटक मंसिर १८ मा भिडियो पोस्ट गर्दै लेखे, ‘यस्तै छ जिन्दगी, बाँचे भेट मरे त यत्तिकै ।’ मंसिर १९ पछि भने उनी परिवारसँगको सम्पर्कबाहिर भए । परिवारका सदस्यले सोधीखोजी गर्दा हरिको मृत्यु भएको अपुष्ट खबर आइपुग्यो । पुस १७ मा परराष्ट्र मन्त्रालयको कन्सुलर विभागले वडाध्यक्ष बोधराज कुँवरलाई आधिकारिक जानकारी गराएपछि मात्रै दाइ राजुले घरपरिवारमा भाइको निधन भएको खबर सुनाए ।

१२ कक्षा उत्तीर्ण गरेका हरिप्रसाद १८ वर्षको उमेरमा नेपाली सेनामा भर्ती भएका थिए । बुबा भारतीय पेन्सनर, दुई दाइ कमल र राजु दुबईमा काम गर्थे । नेपाली सेनाको कमाइले उनलाई चित्त बुझेन । दक्षिण कोरिया जान भाषा सिके, परीक्षा दिए तर नाम निस्किएन । ओमन प्रहरी र कुवेतमा समेत आवेदन दिए । त्यता पनि असफल भएपछि उनी विरक्तिएका थिए । भाइलाई दुबई नै बोलाउने तयारी भइरहँदा कसैलाई खबर नगरी रुस पुगेको राजु बताउँछन् । ‘घरपरिवारको सरसल्लाहमा जान्छु भनेर गएको पनि होइन, एक्कासि त्यस्तो सुन्नुपर्‍यो,’ उनले भने, ‘सेनाको जागिर छोडेपछि यता हुन्छ कि उता हुन्छ भन्दाभन्दै कतै नभएपछि रुस गएको हो ।’

हरिप्रसादको परिवारले पनि उनको उतै सद्गत गर्न वडाबाट कागजपत्र बनाएर कन्सुलर विभाग हुँदै रुसस्थित नेपाली दूतावासमा पठाइसकेको छ । ‘भाइ छैन भन्ने भइसकेपछि अब उताको बाटो हेर्दैनौं, आफ्नै तरिकाले दाहसंस्कार गर्छौं,’ राजुले भने । माघ ५ गते कुशको शव बनाएर दाहसंस्कार गर्ने परिवारको तयारी छ ।

रुसी सेनामा भर्ती भएर ज्यान गुमाउनेका कतिपय परिवारले शव नआउने भएपछि कुशको शव बनाएर काजकिरिया गरिसकेका छन् । दोलखाको मेलुङ गाउँपालिका–६ सुनुवारपानी टोलका राजकुमार कार्कीको शव ल्याउन सम्भव नभएपछि परिवारले कुशको शव बनाएर अन्त्येष्टि गरिसके । विदेश जाने ताकमा महिनौंदेखि यताउति गरिरहेका राजकुमारले गत असोजमा टिकटकबाट रुसी सेनामा भर्ती खुलेको सूचना पाए । यही सूचनाको लहरो समात्दै मानव तस्करका एजेन्टमार्फत असोज १७ मा भिजिट भिसामा रुस पुगे । रुसी सेनामा भर्ती भएको डेढ महिना पनि नपुग्दै ज्यान गुमाए । यो खबर मंसिर १२ मा उनको घरमा परराष्ट्र मन्त्रालयले औपचारिक रूपमा पठायो ।

२०६४ सालमा सशस्त्र प्रहरीमा भर्ती भएका राजकुमारले ६ वर्षपछि २०७० सालमा जागिर छोडेका थिए । केही समय व्यापार व्यवसायमा लागेका उनी कोभिड महामारीपछि ऋण लागेको भन्दै अरू अवसरको खोजीमा हिँडिरहेका थिए । उनका दाइ सुमनकुमारले आर्थिक संकटमा परेपछि भाइ विक्षिप्तजस्तै भएको र जस्तोसुकै काममा पनि जान तम्सिएको बताए । ‘विदेश जाने हुटहुटीमा थियो तर रुसको सेनामा गएको पत्तो भएन । हामीले पनि उता पुगेपछि मात्रै थाहा पायौं,’ उनले भने । ऋणको भारीले जोखिम मोल्दा भाइ नै गुमाउनुपरेको उनले बताए ।

कपिलवस्तुको वाणगंगा नगरपालिका–१ मन्द्रेलीटोलका २४ वर्षीय रूपक कार्कीको परिवारले पुस ७ गते कुशको शव बनाएर दाहसंस्कार गरिसकेका छन् । स्थानीय दीपक पन्थीले पैसाको अभावमा स्थानीयले उठाएको डेढ लाख नगद, खाद्यान्न र लत्ताकपडाको भरमा काजकिरिया उम्काइएको बताए । २०७९ जेठ २५ मा पढ्नका लागि रुस उडेका २४ वर्षीय रूपक गत जेठको पहिलो साता रुसी सेनामा भर्ती भएका थिए । तर, डेढ महिना पनि नपुग्दै असार १५ मा परिवारले उनको मृत्युको खबर पायो ।

छोराको मृत्युले शोकमा डुबेकी आमा अहिले पनि झोक्राइरहेको अवस्थामा भेटिन्छिन् । घरमा आएका नातेदारसँग खुलेर कुरा गर्न सक्दिनन् । कर्जा लिएर बनाएको सानो घर र त्यही घरजग्गा बन्धकी राखेर १४ लाख खर्चेर छोरालाई रुस पठाएको कार्की परिवारमा अहिले बिचल्ली छ । मृतकका

काका गौतम कार्कीले भतिज कहिल्यै नफर्किने बाटोमा हिँडे पनि परिवारमा कर्जाको चिन्ताले थप पीर थपिरहेको बताए । गोरखाको सिरानचोक गाउँपालिका–८ जौबारीस्थित लाङदीका थपलिया परिवारले पनि कुशको शव बनाएर दाहसंस्कार गर्नुपर्ला भन्ने कहिल्यै सोचेको थिएन । तर नसोचेकै भइदियो । अध्ययनको सिलसिलामा रुस पुगेका ३० वर्षीय सन्दीप थपलियाको पनि रुसी सेनामा भर्ती भएपछि युद्धका क्रममा मृत्यु भयो । काठमाडौंमा फार्मेसी सञ्चालन गरेर बसिरहेका उनी ल्याब टेक्निसियन पढ्ने भन्दै रुस पुगेका थिए । गत जेठमा परिवारसँग सल्लाहसमेत नगरी रुसी सेनामा भर्ती भए । सेनाको पोसाक लगाएको फोटो पठाएपछि मात्रै परिवारले उनको भर्तीबारे पत्याएका थिए । सन्दीपको मृत्यु असारको अन्तिम साता भए पनि परराष्ट्र मन्त्रालयले कात्तिकमा मात्रै उनको मृत्युको खबर पुष्टि गरेको थियो ।

एक आफन्तले मृत्युको खबर पाएपछि शव ल्याउन सकिन्छ कि भनेर गाउँकै मान्छे गृहमन्त्री भएकाले भेट्न पुगेको र आफ्नै खर्चमा शव ल्याउँछु भन्दा पनि सम्भव नहुने देखेपछि दसैंको भोलिपल्ट कुशको शव बनाएर दाहसंस्कार गरेको बताए ।

टीकापुरको दौलतपुर घाटमा कुशको शव बनाएर ३६ वर्षीय भरत शाहको दाहसंस्कार गर्नुको पीडा यो परिवारबाट अझै उत्रिसकेको छैन । तीन महिनाअघि भरत रुसी सेनामा भर्ती हुनकै लागि दुबईस्थित सेक्युरिटी गार्डको काम छाडेर रुस पुगेका थिए । मंसिर १० मा रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्ध लडिरहेका एक नेपालीले कैलालीको टीकापुर नगरपालिका–१ दुर्गानगरमा एक खबर पठाएका थिए । उक्त खबरमा रुसको सीमा क्षेत्रमा गोली लागेर यिनै ३६ वर्षीय भरतको मृत्यु भएको सूचना थियो । खबर पाएको तेस्रो दिन उनका परिवारले टीकापुरको दौलतपुर घाटमा कुशको शव बनाएर अन्तिम संस्कार गरे । सात वर्ष नेपाल प्रहरीमा काम गरेका भरत तीन वर्षअघि राजीनामा दिएर दुबई पुगेका थिए । गार्डको काम गरिरहेकै बेला उनी रुस हान्निएका थिए । मृतकका भाइ नाता पर्ने मंगल शाहले कमाउने व्यक्तिको मृत्युपछि परिवार शोक र ऋणमा एकैचोटि डुबेको बताए ।

भरत शाहको जस्तै सैन्य पृष्ठभूमि छ, इलाम नगरपालिका–९ का गंगाराज मोक्तानको । २०६७ देखि २०७२ सालसम्म नेपाली सेनामा जागिर खाएका उनी २०७६ सालमा वैदेशिक रोजगारीका लागि दुबई पुगेका थिए । परिवारलाई समेत नभनी उनी गत असोजको पहिलो साता दुबईबाट रुस पुगेर सेनामा भर्ती भए । युक्रेनविरुद्धको लडाइँमा कात्तिक २९ मा उनको मृत्यु भए पनि परिवारले भने मंसिर १८ मा परराष्ट्र मन्त्रालयले औपचारिक रूपमा भनेपछि पुष्टि भएको खबर पायो । मृतककी भाउजू याङ्गिला शेर्पाले शव ल्याउन स्थानीय र संघीय सरकारका विभिन्न निकायबाट पटकपटक पहल गर्दा पनि अनिश्चित भएपछि पुस पहिलो साता काजकिरिया गरिएको बताइन् । परिवारका अनुसार दुबईमा भनेजस्तो काम नपाएकाले गंगाराज विकल्पको खोजीमा हिँडिरहेका थिए । त्यही बेला उनी ७ लाख दलाललाई बुझाएर रुस हान्निएका थिए । तर, रुस पुगेका उनी कहिल्यै नफर्किने बाटोमा गए ।

चितवनको भरतपुर महानगरपालिका–७ प्रेम बस्तीस्थित एक घरमा पनि उस्तै पीडा छ । धादिङ खानीखोला नौबिसेका राजकुमार गिरीले जीविकोपार्जनका निम्ति अनेक काम गरे । नौबिसेमा खाजा पसल खोले, सुरक्षा गार्डको काम गरे, खाडीका देशमा रोजगारीका लागि गए । यही दौडधुपपछि उनले प्रेमबस्तीमा सात धुरको घडेरी जोडेर घर बनाई परिवार सारेका थिए । पछिल्लो पटक दुबईमा काम गरिरहेका राजकुमार त्यहींबाट एजेन्टलाई ८ लाख रुपैयाँ बुझाएर भदौ १६ मा रुस पुगे र रुसी सेनामा भर्ती भए ।

प्रेमबस्तीस्थित घरमा मंसिर १६ को मध्यरातमा नमिठो खबर आयो । राजकुमारकी श्रीमती शर्मिलाले सुनिन्, ‘रुस–युक्रेन युद्धमा खटेका राजकुमार अब यो संसारमा रहेनन् ।’ यस्तो खबरको झन्डै एक महिनापछि पुस १७ मा परराष्ट्र मन्त्रालयले राजकुमारको निधन भएको आधिकारिक पत्र पठायो । त्यसपछि मात्रै उनीहरूको परिवार किरियाकर्ममा बसे । मृत्युको यो खबरपछि शर्मिलालाई जीवनको पूरै खुसी खोसिएझैं लागेको छ । दिदीको यो अवस्था देखेर भाइ मनोज पनि अवाक् हुन्छन् । मनोजका अनुसार भिनाजु १३ वर्षअघि वैदेशिक रोजगारीका लागि कुबेत गएका थिए । कोरोना कालमा फर्केका उनले केही समय चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा सुरक्षा गार्डको काम गरेका थिए । डेढ वर्षअघि भने उनी सुरक्षा गार्डकै काममा दुबई गए । ‘दुबईमा खै कसले कुरा गरेछ । त्यसपछि भिनाजु रुस गएर सेनामा भर्ती हुन्छु भन्न थाल्नुभयो,’ मनोज भन्छन्, ‘हामीले रोक्न खोजेको हो तर जीवन बन्छ, त्यस्तो ठूलो खतरा छैन । केही रिस्क त लिनु पनि पर्छ भन्नुहुन्थ्यो ।’ मनोजले शव मात्रै भए पनि नेपाल ल्याउन सकिन्छ कि भनेर आफूहरू अझै लागिपरेको उनले सुनाए । ‘मान्छेको निधन भएपछि के कसरी भएको हो, जानकारी पाउनुपर्ने, सद्गतका लागि शव पाउनुपर्ने कुरा पहिलो हो । त्यो नै भएको छैन । अरू कुरा के नै भन्ने हो र ?’ उनी भन्छन् ।

रुस–युक्रेन युद्धमा स्याङ्जा पुतलीबजार नगरपालिका–५ का प्रितम कार्कीले पनि ज्यान गुमाएका छन् । नेपाली सेनाबाट अवकाशप्राप्त ४० वर्षीय प्रितम रुसी सेनामा भर्ती भएको खबर परिवारले तबमात्र पाए, जब उनको निधनको खबर आइपुग्यो । कात्तिक २९ गते भाइटीकाका दिन श्रीमती र दिदीसँग म्यासेन्जरमा कुरा गरेपछि सम्पर्कविहीन भएका प्रितमको दुःखद खबर मंसिर १० मा कन्सुलर विभागले पुतलीबजार नगरपालिका–५ को वडा कार्यालयमा दिएपछि बल्ल परिवारले थाहा पाएका हुन् ।

अफगानिस्तान जाने भनेर गएका प्रितमको रुसमा निधन भएको खबर आउँदा परिवार, आफन्त, छिमेकी स्तब्ध भएको काकाका छोरा राजेशजंग कार्कीले बताए । ‘त्यतिबेला त्यति साह्रै खतरा छैन भनेर जानुभयो होला,’ उनले भने, ‘उहाँको निधनपछि परिवारमा के गर्ने, कसो गर्ने भन्ने अन्योल छ ।’ १७ वर्ष नेपाली सेनामा बिताएका प्रितमले ४ वर्षअघि अवकाश लिएका थिए । अवकाशपछि पोखरामा सुरक्षा गार्डको काम गर्दागर्दै छोडेर अफगानिस्तान हान्निए । अफगानिस्तानमा एक वर्ष बिताएर दुई महिनाको छुट्टीमा आए । छुट्टी सकेर असोज १४ मा घरबाट निस्किएका उनी अफगानिस्तान नगई रुस पुगेका थिए ।

प्रितमको निधनको शोक धान्न ७० वर्षीय बाबु हरिबहादुर र ६२ वर्षीया आमा इन्द्रकुमारीलाई उति सजिलो छैन । प्रितमकी श्रीमती, १० र ५ वर्षका छोरासमेत शोकबाट बौरिन सकेका छैनन् । रुसबाट शव ल्याउने अवस्था नभएपछि परिवारले मंसिर १२ मा कुशको शव बनाएर हिन्दु संस्कारअनुसार दाहसंस्कार गरिसकेको छ । ‘शव ल्याउन नपाइने, खर्च धेरै लाग्ने र अस्तु पनि डीएनए परीक्षण गरेर मात्रै ल्याउनुपर्ने जानकारी परराष्ट्र मन्त्रालयबाट आयो,’ राजेशले भने, ‘सरकारले अब रुसबाट राहतका लागि पहल गरिदिए परिवारको जीविका धान्ने केही उपाय हुन्थ्यो ।’

-जनकराज सापकोटा (काठमाडौं), दीपक परियार (पोखरा), अर्जुन शाह (धनगढी), रमेशकुमार पौडेल (चितवन), लक्ष्मी गौतम (पाँचथर), मनोज पौडेल (कपिलवस्तु), हरेराम उप्रेती (गोरखा), केदार शिवाकोटी (दोलखा) र शमशेरविक्रम जीसी (प्यूठान)

(कान्तिपुरबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.