काठमाडौं, असार ४ : सोमबार भएकाे पहिलाे खेलमा स्वीडेन विजयी भएको छ । दक्षिण कोरियालाई १-० गोलले हराउँदै स्वीडेन विजयी भएको हो ।
खेलको ६५ औँ मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै स्वीडेनका लागि निर्णायक गोल बन्यो । पहिलो हाफमा बराबरी गोलरहित खेलेको थियो । विश्वकप अन्तर्गत आजको पहिलो खेल स्वीडेन र दक्षिण कोरियाबीच नोवगोरोड़ स्टेडियममा भएको थियो ।
चार पटकको विश्व विजेता इटालीलाई प्लेअफमा हराउँदै स्वीडेनले विश्वकपमा स्थान सुरक्षित गरेको थियो। ११ पटक विश्वकप खेलेको स्वीडेनले १९५८ को विश्वकप फाइनलमा ब्राजिलसँग पराजित भएको थियो । स्वीडेन अहिलेसम्म तीन पटक सेमिफाइनलमा पराजित भएको छ ।
सन् १९५४ मा पहिलो पटक विश्वकप खेलेको दक्षिण कोरियाको यो १० औँ विश्वकप सहभागिता हो । सन् २००२ मा जापान र कोरियामै विश्वकप आयोजना हुँदा दक्षिण कोरिया सेमिफाइनलसम्म पुगेको थियो । सन् २०१० मा भने दक्षिण कोरिया अन्तिम १६ सम्म पुगेको थियो ।