विश्वकपको फाइनल अाज : क्रोएसिया इतिहास रच्ने लक्ष्यमा, फ्रान्स दोस्रोपटक उपाधि उचाल्न आतुर

| 2018 Jul 15 | 02:32 pm 3004

मस्को ,असार ३१ : रुसमा जारी सन् २०१८ विश्वकपको फाइनल आज हुँदै छ । नेपाली समय अनुसार राति पौने ९ बजे फ्रान्स र क्रोएसियाबीच मस्कोको लुज्हनिकी रंगशलामा फाइनल खेल हुँदैछ ।

क्रोएसिया विश्वकप फाइनलमा पहिलो पटक उपाधि चुमेर इतिहास रच्ने लक्ष्यमा रहेको छ भने तेस्रो पटक विश्वकपको फाइनलमा पुगेको फ्रान्स दोस्रो पटक विश्वकप विजेता बन्न आतुर रहेको छ ।

सेमिफाइनलको खेलमा फ्रान्सले बेल्जियमलाई १–० ले हराएर फाइनलमा स्थान बनाउँदा क्रोएसियाले इंग्ल्याण्डलाई २–१ गोल अन्तरले हराउँदै पहिलो पटक विश्वकपको फाइनलमा स्थान पक्का गरेको हो ।

नयाँ च्याम्पियनका लागि फ्रान्समा युवा स्ट्राइकर किलियन एमबाप्पे र एन्टोनी ग्रिजम्यान भएकाले फ्रान्सलाई दह्रो टिमको रुपमा मानिएको छ । कप्तान लुका मोडरिचप्रेरित क्रोसिया भने नयाँ उत्साहको साथ फाइनलमा आइपुगेकाले इतिहास रच्दै विश्वकपको उपाधि उचाल्ने दाउमा रहेको छ । यो क्रोएसियाले फुटबलमा पाएको अहिलेसम्मकै सबैभन्दा ठुलो सफलता हो।

फिफाको विश्व वरीयतामा २०औँ वरीयतामा रहेको क्रोएसिया विश्वकपको फाइनलमा पुग्ने सबैभन्दा कम वरीयतामा रहेको टोली हो। २० वर्षअघि उनीहरू विश्वकप फुटबलमा तेस्रो स्थानमा पुगेका थिए। तर त्यस बेला उनीहरू सेमिफाइनलमा फ्रान्सबाट पराजित भएका थिए।

करिब एक महिना अगाडि सुरु भएको विश्वकपमा ३२ टोली थिए । त्यति बेला यी फाइनलमा पुगेका दुई टोली फाइनलमा पुग्छ भनेर एकदमै थोरै मानिसले परिकल्पना गरेका थिए ।

नाम चलेका विश्व फुटबलका स्टार स्ट्राइकरहरू लियोनल मेसी, क्रिस्टियानो रोनाल्डो र नेइमार घर फर्किसकेका छन्। त्यस्तै विश्व फुटबलका परम्परागत शक्ति राष्ट्रहरू ब्राजिल, जर्मनी र अर्जेन्टिना पनि घर फर्किसकेका छन्।

ब्राजिल, अर्जेन्टिना, जर्मनी र इटालीमध्ये कुनै पनि टोली फाइनल प्रवेश नगरेको यो केवल दोस्रो पटक हो । यसअघि २०१० मा दक्षिण अफ्रिकामा सम्पन्न विश्वकपमा पनि यी ४ राष्ट्रमध्ये कुनेै पनि टोली फाइनल प्रवेश गर्न सकेका थिएनन्।

सम्भवतः उपाधि भिडन्तमा विश्व फुटबलका शक्तिशाली राष्ट्र नभएकाले फ्रान्स र क्रोएसियाबीचको फाइनल त्यति उत्सुकता नलाग्न सक्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.