काठमाडौँ, असार १८ । जिल्ला अदालत ललितपुरका श्रेष्तेदारको राजिनामा र नायब सुब्बा प्रेमिका तामाङको बर्खास्तीको माग राख्दै नेपाल बार एसोसिएसनकाे नेतृत्वमा जिल्ला अदालत ललितपुरमा विरोध कार्यक्रम भइरहेकाे छ ।
प्रजातान्त्रिक कानून व्यवसायी संघका पूर्व सचिव खड्क बहादुर बुढाथोकी (शुभाष) का अनुसार अदालतभित्रका फाँट फाँटमा हुने भ्रष्टाचार लगायत अदालत शुद्धिकरणको माग राख्दै कानून व्यवसायी आन्दोलनमा उत्रिएका हुन् ।
अहिले अधिवक्ता अमिर लामिछाने र नायब सुब्बा प्रेमिका तामाङको घटना पनि अदालतको फाँटमा हुने गरेको भ्रष्टाचारको सांकेतिक घटना हो । आफूलाई हातपात गरेको भनीएकी प्रेमिका तामाङले अधिवक्ता अमिर लामिछानेसँग खाजा खाने पैसा मागेको र उनले दिन नमाने पछि धक्का धक्की भएको कानून व्यवसायीहरुको भनाई रहेको छ । धक्का धक्की पछि अदालतका कर्मचारी समेत अधिवक्ता माथि जाइलागेको भन्दै सिसिटिभी फुटेज देखाउनु पर्ने पनि कानून व्यवसायीको माग रहेको छ । बारले उक्त घटनाकाे निष्पक्ष छानविनका लागि सर्वाेच्च, बार र जिल्ला अदालतकाे तीन सदस्यीय छानविन समिति बनाउनु पर्ने माग पनि गरेकाे छ ।
नायब सुब्बा तामाङलाई हातपात गरेको भन्दै अधिवक्ता अमिर लामिछानेलाई पक्राउ गरी थुनामा राखे पछि कानून व्यवसायीहरु आन्दोलित बनेका थिए । कानून व्यवसायीले जबसम्म पीडित अधिवक्ता लामिछानेले दिएको जाहेरी दर्ता र सिसिटिभि फुटेज देखाइदैन् तवसम्म बन्दी प्रत्यक्षीकरण बाहेकका निवेदनमा बहस पैरवी नगर्ने जनाएका छन् ।
अधिवक्ता लामिछानेलाई साधारण तारिखमा आइतबारनै रिहा गरिएको थियो ।