– कृष्णप्रसाद सापकोटा
हालै नेपाल यात्रामा आएकी वलिउडकी प्रसिद्ध अभिनेत्री जुही चावलाले एक मार्मिक ट्वीट गरिन् । मुखमा सर्जिकल मास्कयुक्त तस्बिरसहितको उनी र उनका साथीहरूको तस्बिर आफैमा गम्भीर सन्देशमूलक त थियो नै, त्यसमाथि जुहीले नेपालमा आफूहरूले जताततै प्रदुषण, दुषित हावा, धुलो–धुवाँ झेल्नुपरेको आशयका शब्द लेखेर ट्वीट गरेकी थिइन् ।
जुही त एक सेलिब्रेटी पात्र थिइन्, जसले गर्दा उनको ट्वीटमाथि धेरैको ध्यान गयो र विदेशी पाहुना तथा पर्यटकहरूले नेपालमा के भोगिरहेका छन्, के महसुस गर्छन् र कस्तो सन्देश प्रवाहित गरिरहेका छन् भन्ने बुझ्न सजिलो तुल्यायो । तर, यस्ता कति पर्यटक नेपाल आए, गए र अझै आउँदैछन्, जसले विश्वमा नेपालको प्रदुषण, खाल्डाखुल्डी, हिलो–धुलो र फोहरयुक्त बिग्रेका बाटोबारे सन्देश फैलाए र फैलाउनेवाला छन् ? नेपालको राजधानीकै यो हालत छ भने काठमाडौं उपत्यकाबाहिर नेपालका शहर–बजार, गाउँ–बस्ती तथा दुर्गम स्थानहरूको हालत के होला भन्ने जिज्ञासा काठमाडौंबाटै फर्किने हरेक पर्यटकको मनमा जागृत भएको हुन सक्छ । यो महसुस मात्र गर्दा पनि प्रत्येक सचेत नेपालीलाई पीडा, ग्लानी र लज्जा बोध हुन्छ ।
कुनै पनि मुलुक कति सभ्य, सुसंस्कृत, सम्पन्न या समृद्ध छ भन्ने मापनका लागि हेरिने केही मूलभुत आधारमध्ये त्यहाँको सडक, बाटोघाटो र सरसफाईको अवस्था प्रमुख तत्वमा पर्दछ । यो विश्वव्यापी मान्यता नै हो भन्दा अन्यथा नहोला । र, यो विश्वव्यापी मान्यतासँग नेपालका शासकहरू भलीभाँती जानिफकार छन् । विदेश भ्रमणलाई राजनीतिक जीवनकै मूख्य उद्देश्य ठान्ने स्वभाबका नेपालका नेताहरूले विदेश घुमेर त्यहाँको सडक, पुल, बाटोघाटो, बिल्डिङ, मल–महल, पार्क, रङ्गशालादेखि वातावरणलाई स्वच्छ राख्न गरेका प्रयास र विभिन्न उपायहरू पनि देखेका छन् । थोरबहुत त्यसबारे जानकारी राखेकै छन् । यी नेताहरू आफ्नो मुलुकलाई पनि विकसित देशकै दाँजोमा पुर्याउने भाषण दिनहुँ दोहोर्याइरहेका हुन्छन् । उनीहरू सत्ता र शक्तिमा पनि छन् । तर, देश भने उहीँको उहीँ छ । अझ भन्ने नै हो भने समयानुसार जति हुनुपर्ने हो, त्यो अनुपातमा दाँज्दा मुलुक झन्–झन् ओह्रालो लागेको देखिन्छ । राजधानी शहरभित्रका मूल सडकहरू नै वर्षौंदेखि बिग्रिएर विसरूप अवस्थामा रहेका छन्, मर्मत तथा निर्माणका आवाज उठाएर सर्वसाधारण जनता थाकिसके, तर सडक बन्दैन, धुलो र धुवाँ उड्न छोड्दैन । सडकको दूरावस्थाकै कारण दुर्घटना निम्तिएर हजारौँले अकाल मृत्युवरण गर्न परेको छ, प्रदुषणका कारण नागरिकले अनेक जटिल रोगको शिकार बन्नुपरेको छ । तैपनि सरकार सुनिरहेको छैन, निरीह देखिँदैछ । उदेकको विषय बनेको छ यो ।
प्रधानमन्त्री केपी शर्मा ओलीका हरेक दिन आजकाल जनतालाई रेलका कुरा सुनाएर बित्छन् । नेपालमा पानीजहाज भित्र्याउने, ग्यासका पाइप जनताका भान्सा–भान्सामा छिराउने कुरा उनले अहिले मात्र होइन केहि वर्षदेखि नै गरिआएका हुन् । यसमध्ये यतिबेला रेल ल्याउने कुराले प्रमुखता पाएको छ । पीएम ओलीका रेलका गफ सुनेर नागरिक तप्काको ठूलो हिस्साले समेत रेलकै सपना देख्न थालेका छन् । नेपालमा रेल आउने अनि समृद्धि छाउने कल्पनाले ती त्यसै–त्यसै लट्ठ र मख्ख छन् ।
यस्तै–यस्तै उदेकपूर्ण परिवेशबीच देशका प्रधानमन्त्रीको रवैयाले सबैलाई थप उदेक र आश्चर्यमा पारेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका हरेक दिन आजकाल जनतालाई रेलका कुरा सुनाएर बित्छन् । नेपालमा पानीजहाज भित्र्याउने, ग्यासका पाइप जनताका भान्सा–भान्सामा छिराउने कुरा उनले अहिले मात्र होइन केहि वर्षदेखि नै गरिआएका हुन् । यसमध्ये यतिबेला रेल ल्याउने कुराले प्रमुखता पाएको छ । पीएम ओलीका रेलका गफ सुनेर नागरिक तप्काको ठूलो हिस्साले समेत रेलकै सपना देख्न थालेका छन् । नेपालमा रेल आउने अनि समृद्धि छाउने कल्पनाले ती त्यसै–त्यसै लट्ठ र मख्ख छन् । चियापसलदेखि चौतारासम्म र सार्वजनिक भाषणदेखि कार्यालयका कुनासम्म रेलकै गफ चलेको सुनिन्छ । रेल यतिबेला बच्चादेखि वृद्धसम्मको मुखैमा झुण्डिएको छ । वास्तवमा रेल यस्तो विषय बन्न पुगेको छ, मानौँ नेपाललाई चाहिएकै रेल हो, यहाँ गर्नुपर्ने अरु केही छैन– मात्र रेल आइदिए पुग्छ ! सरकार प्रमुखका कुरा सुन्दा यस्तै लाग्छ ।
तर, रेल कसरी आउँछ ? कति खर्चमा आउँछ ? आएपछि नेपाल र नेपालीका निम्ति त्यसको उपयोगिता के–कति रहन्छ या रहँदैन ? रेल आएछ भने पनि नेपालकै बाटो भई अन्यत्रै हुइँकिएको मात्र देख्नुपर्ने हो कि नेपाललाई ऋणको बोझ मात्र बोकाउने हो ? यस्ता सवाललाई मनन गरेर रेलको सपना बुन्ने पात्र भेटिन मुस्किल छ । भेटिए पनि ती ‘प्रधानमन्त्रीको सपना सकारात्मक भएकोले विरोध गर्न हुँदैन’ भन्दै तर्किने गर्छन् । बुझेकै भएपनि नबुझ्नेलाई बुझाउने प्रयत्न भएको पाइँदैन । जसले गर्दा रेलको सपना झन्–झन् स्वर्णिम बन्दै गएको छ । यसैको आधारमा प्रधानमन्त्री झन्–झन् चम्किएर रेलको भाषण ठोकिरहेका छन् ।
दिनहुँ १५ सयको हाराहारीमा मुलुकबाट युवा जनशक्ति रोजगारीको खोजीमा पलायन भइरहेका छन् । विदेशमा गएर दुःख पाउने र कफिनमा बन्द भई घर फर्किनेको हिसाब छैन । यस्तोमा स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न सरकारले तदारुकता देखाउनुपर्ने हो । विदेशी पर्यटकले नाक खुम्च्याउनुअघि नै बिग्रेका सडक सम्याउने, फोहोर व्यवस्थापन गर्ने, धुलो–धुवाँ नियन्त्रणको उपाय अपनाउने जस्ता काम गर्नेतिर योजना अघि बढ्नुपर्ने हो ।
अब एकपटक माथि उल्लेखित जुही चावलाको ट्वीट–सन्दर्भ यहाँनेर जोडौँ । कस्तो कल्पना साँच्दै जुही र जुहीजस्ता हजारौँ पर्यटकहरू नेपाल आउँछन्, अनि नेपाल आउँदा तिनले भोगेका–ब्यहोरेका हालत कस्तो छ ? हो, मुलुकको डाडु–पन्यु हातमा लिएका शासकहरूले यस सवालप्रति ठण्डा दिमाग लगाएर सोचिदिने हो भने रेलका कुराभन्दा तत्काल नगरी नहुने अन्य विषयले प्राथमिकता पाउँथ्यो होला । देशमा रेल आउनु कुनै नराम्रो कुरा होइन । रेल गुडाउने मात्रै होइन, नेपाल पनि सकभर रकेट नै उडाउने अवस्थामा पुग्नुपर्छ । उडी छुनु चन्द्र एक भन्ने महाकवि देवकोटाको सोच हामी सबै नेपालीले मनमा पाल्नु–हुर्काउनु राम्रै होला । तर, सपना बुन्ने, सोच हुर्काउने भन्दैमा खुट्टैमा ठोक्किएको बाधा पन्छाउनेतिर नलागी कहाँ हो कहाँ टाढा उभिएको पहाड फोर्नेतर्फ अग्रसर हुनु कहाँको बुद्धिमत्ता ठहरिएला ? गफ गर्दैमा न रेल गुड्छ न त रकेट नै उड्छ ।
मुलुक बेरोजगारीले ग्रस्त छ । दिनहुँ १५ सयको हाराहारीमा मुलुकबाट युवा जनशक्ति रोजगारीको खोजीमा पलायन भइरहेका छन् । विदेशमा गएर दुःख पाउने र कफिनमा बन्द भई घर फर्किनेको हिसाब छैन । यस्तोमा स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न सरकारले तदारुकता देखाउनुपर्ने हो । विदेशी पर्यटकले नाक खुम्च्याउनुअघि नै बिग्रेका सडक सम्याउने, फोहोर व्यवस्थापन गर्ने, धुलो–धुवाँ नियन्त्रणको उपाय अपनाउने जस्ता काम गर्नेतिर योजना अघि बढ्नुपर्ने हो । खर्बौं बजेट खर्च हुने रेलले दिने परिणाम कहिले हो कहिले, कस्तो परिणाम मिल्ने हो– त्यो पनि टुङ्गो छैन । पहिले स–साना काम जसले अत्यन्त ठूला र नकारात्मक सन्देश दिइरहेका छन्, तिनलाई सल्ट्याउनेतिर लाग्दा मुलुक र जनताको भलो होला । केपी सरकारकै कल्याण पनि यसैमा हुने देखिन्छ ।
(सापकोटा रिपोर्ट नेपालका निर्देशक हुन्)