राष्ट्रपति पौडेलद्वारा २५६७औँ बुद्ध जयन्ती तथा उभौली पर्वकाे अवसरमा शुभकामना व्यक्त

| 2023 May 05 | 07:47 am 629

काठमाडौँ, वैशाख २२ः राष्ट्रपति रामचन्द्र पौडेलले २५६७औँ बुद्ध जयन्तीको अवसरमा आज शुभकामना सन्देश दिएका छन् । विश्व शान्तिका प्रकाश भनेर सम्मान गरिने गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबै नेपालीहरूका लागि गौरवको विषय भएको पनि बताएका छन् ।

शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले गौतम बुद्धले प्रतिपादन गरेका अहिंसा र शान्तिको सन्देशले व्यक्ति, परिवार, समाज, देश र विश्वको सर्वोत्तम हित र प्रगतिका लागि सदैव प्रेरणा दिने विश्वाससमेत व्यक्त गरेका छन् ।

सन्देशमा भनिएको छ, “शान्तिदूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने विश्वास मैले लिएको छु ।”

उनले २५६७औँ बुद्ध जयन्तीको यस शुभ अवसरमा बुद्धको अहिंसात्मक शान्ति सन्देश तथा उपदेशको स्मरण गर्दै एकता, सहिष्णुता, सद्भाव, अहिंसा र शान्तिको महान् अभियानमा लाग्न विश्वका सम्पूर्ण मानवलाई प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरेका छन् । वैशाख शुक्लपक्षको पूर्णिमा तिथिको दिन गौतम बुद्धको त्रि–संयोग अर्थात जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले आजको तिथिलाई विश्वभरका बौद्ध धर्मावलम्बीद्वारा गौतम बुद्धप्रति अत्यन्त श्रद्धा एवं भक्तिभाव व्यक्त गर्दै बुद्ध जयन्ती मनाउने गरिन्छ । त्यस दिन बुद्धका मन्दिर, गुम्वा, विहार, मठ, स्तुपा र चैत्यमा बुद्धको विशेष पूजा अर्चना लगायत विविध कार्यक्रम गरी मनाइन्छ ।

साथै, राष्ट्रपति रामचन्द्र पौडेलले उभौली पर्वकाे समेत शुभकामना व्यक्त गरेका छन् । यस पर्वले देशको सांस्कृतिक विविधतालाई कायम राख्दै नेपाली नेपालीबीचको एकतालाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।

शुभकामना व्यक्त गर्दै यस पर्वले सबै समुदायका नेपालीहरूबीच राष्ट्रिय एकता, सहिष्णुता र सांस्कृतिक ऐक्यबद्धताको भावना थप सुदृढ पार्न अभिप्रेरित गर्दै सभ्य, समृद्ध र विकसित समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भनी कामना गरेका छन् ।

शुभकामना सन्देशमा भनिएको छ, “किरात समुदायको महान् पर्व उभौलीको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका राई, लिम्बू, याक्खा, सुनुवारलगायत सम्पूर्ण किरात दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य एवं दीर्घायुको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।” वसन्त ऋतुको आगमनसँगै बाली लगाउने समय सुरु हुने भएकाले प्रकृति र पितृपूजक किराँत समुदायले बालीनाली राम्रो होस्, प्राकृतिक प्रकोप तथा विपत्तिहरू नआउन् भनेर भूमि, बाली र पितृ पूजा गर्ने गर्दछन् ।

त्यसका साथै विभिन्न परम्परागत नृत्य गर्दै र मिष्ठान्न परिकार खाएर आपसमा सुख, शान्ति, सुस्वास्थ्यको आदानप्रदान गरी रमाइलोसँग उभौली पर्व मनाउने परम्परा रहेको छ । किराँत समुदायको बाहुल्यता भएको नेपालका पूर्वी जिल्लाहरू र उपत्यकामा बसोबास गर्दै आएका किराँत समुदायहरूमा यो पर्वलाई भव्यरूपमा मनाउने गरिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.