काठमाडौं, असार २८ । बंगलादेश भ्रमणमा रहेको नेपाली महिला फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल सिरिजको पहिलो खेल बिहीबार (आज) आयोजक राष्ट्रसँग खेल्दैछ ।
खेल बंगलादेशको राजधानी ढाकामा नेपाली समय अनुसार बेलुकी ५ः ४५ बजे सुरु हुनेछ । साफ महिला च्याम्पियनसिपको फाइनलपछि नेपाल र बंगलादेशको महिला टिम पहिलो पटक भिड्न लागेका हुन् । आगामी सेप्टेम्बर–अक्टोबरमा हुने १९औं एसियन गेम्सको तयारीका लागि नेपालको महिला टोलीले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो । यस अघी भएको साफ च्याम्पियनमा नेपाललाई हराउँदै पहिलो पटक च्याम्पियन बनेको बंगलादेशसँग यो पटक त्यो हारको बदला लिने लक्ष्य लिएको छ ।
नेपाली टोली गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा प्रतिस्पर्धा गर्ने छ । युरोपियन लिग खेल्ने तयारीमा रहेकी नेपाली स्टार सावित्रा भण्डारीको पुनरागमनले बिहीबारको खेल प्रतिस्पर्धात्मक हुने मुख्य प्रशिक्षक अनन्त थापाको विश्वास छ ।