फुदनले डाक्टरको सपना देखेका थिए, छोराको शव आयो

रिपोर्ट नेपाल | 2024 Jan 28 | 09:10 am 201

धनुषा , माघ १४। धनुषा सबैला–५ मखनाहाका ५० वर्षीय फुदन यादवलाई गत आइतबार एकाबिहानै फोन आयो– छोरा मोटरसाइकल दुर्घटनामा परेका छन्। छिटो वीरगञ्ज आउनुहोला।’ सुरुमा त फुदनलाई विश्वासै लागेन। तर, पनि छोराका साथीले नै फोन गरेकाले ‘सानोतिनो’ दुर्घटना होला भन्ने सोचेका थिए। किनभने होस्टेलमा बसेर एमबीबीएस पढ्दै गरेको छोरा मोटरसाइकल दुर्घटनामा पर्लान भन्ने कल्पना पनि थिएन। फुदनका छोरा सुमित वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा एमबीबीएस दोस्रो वर्षमा अध्ययन गरिरहेका थिए।

तर, एकछिन पछि छिमेकीले छोरा सुमितको निधन भइसकेको खबर सामाजिक सञ्जालमा आएको कुरा फुदनलाई सुनाएदिए। फुदन अक्क न बक्क भए। ‘होस्टलमा बसेको छोरा दुर्घटनामा परेको सुन्दा अचम्ममा परे,’ फुदन भन्छन्–सामान्य चोटपटक लाग्या होला भनेर मनलाई शान्त पारेर वीरगञ्ज जाने तयारी गरिरहेको थिएँ। छिमेकीले मृत्युको खबर सुनाइदिए। मेरो त बोली नै फुटेन। खुट्टाहरू काम्न थाले। बोली लर्बराउन थाल्यो।’

नेसनल मेडिकल कलेजमा अध्ययनरत सुमित र उनीसँगै पढ्ने बारा सुवर्णपुरका सञ्जित यादवको मोटरसाइकल घटनास्थलमा नै मृत्यु भएको थियो। मधेस प्रदेश २–०३–०२१ प ५४३२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूको वीरगञ्जको वडा नम्बर १५ स्थित जिल्ला आयुर्वेद अस्पतालदेखि पूर्व जाने सडकमा अनियन्त्रित भएर दुर्घटना भएको पर्सा प्रहरी बताउँछ। उक्त घटना राति २ बजे भएको थियो।

बिहान वीरगञ्ज पुग्दासम्म कलेजले त्यसबारे कुनै जानकारी दिन नमानेको फुदन बताउँछन्। ‘वीरगञ्ज पुगेर घटना बुझ्न खोज्दा विरोध गर्न आएको भनेर कलेजले प्रहरी लगाएर उल्टै दमन गर्‍यो,’ फुदन भन्छन्, ‘कलेजले घटनाबारे जानकारी दिनुको सट्टा प्रहरी लगाएर हामीलाई बाहिर निकाल्यो।

कलेजका प्रबन्ध निर्देशक बसरुद्दिन अन्सारी उक्त घटनामा कलेजको कुनै लापरबाही नरहेको दाबी गर्छन्। ‘कलेजको २ नम्बर गेटमा गार्डले उनीहरूलाई रोक्न खोजेको थियो। तर, उनीहरूले हस्पिटल जान्छौं, डियुटी छ भनेर निस्केका रहेछन्,’ अन्सारीले भने, ‘कलेजको सीसीटिभीमा सबै कुरा कैद छ।’ कलेजबाट सडकमा निस्केपछि उनीहरूले ‘हर्कत’ गरेको अन्सारीको दाबी छ। ‘रोडमा आएर स्ट्यान्ड गरेका छन्। सबै सीसीटिभी फुटेज प्रहरी कार्यालयमा एसपीसाबसँग सुरक्षित छन्,’ उनले भने।

कलेजमा पुगेका अभिभावकलाई प्रशासन लगाएर बाहिर निकालियो भन्ने आरोप छ नि भन्ने प्रश्नमा अन्सारीले भने, ‘प्रशासनले कहीँ अभिभावकलाई निकाल्छ ? उहाँहरू त हाम्रो परिवारको पार्ट हो।’ घटनाको छानबिन गर्न कमिटी गठन गरिएको अन्सारीले बताए। ‘हामीले सेक्युरिटी गार्डसँग इन्क्वाइरी गरिराछौं। एउटा कमिटी नै गठन गर्‍या छौं,’ अन्सारीले भने, ‘उहाँहरू नै जबरजस्ती गरेर बाहिर जानुभएको हो। कलेजभित्र घटना भएको भए अलग कुरा हुन्थ्यो।’

फुदनका दुई छोरा र एक छोरी छन्। छोराछोरीको अध्ययनका लागि उनले रतिभर कन्जुस्याइँ गरेनन्। जेठो छोरा आशिषलाई ‘बी फार्मेसी’ पढाए। माइली छोरी एग्रिकल्चरमा स्नातक गरिरहेकी छिन्। कान्छो छोरा सुमितको सानैदेखि डाक्टर बन्ने सपना थियो। पढाइमा लगनशील देखेर फुदनले लोभ गरेनन्। सुमितलाई डाक्टर बनाउन राजी भए।

डाक्टर पढ्न ‘जरा’ बलियो हुनुपर्छ भनेर फुदनले सुमितलाई ७ कक्षासम्म जिल्ला सदरमुकाममा राखेर पढाए। त्यसपछि काठमाडौं पुर्‍याए। सुमितले नाइटिङ्गल स्कुलबाट एसईई उत्तीर्ण गरे। काठमाडौंकै युनाइटेड एकेडमीबाट राम्रो अंक ल्याएर आईएस्सी पास भए।

पढाइमा अब्बल सुमितको पहिलो प्रयासमै छात्रवृत्तिमा चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) मा नाम निस्क्यो। उनी वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा भर्ना भए। कलेजले होस्टल अनिवार्य बस्नुपर्ने शर्त राख्यो। फुदन भन्छन्, ‘देशभरिमा कुनै कलेजमा होस्टेल अनिवार्य छैन। त्यहाँ भने कलेजले बाहिर बसे पनि होस्टेलको पैसा तिर्नैपर्छ भन्यो। बाध्य भएर होस्टलमा राख्यौं।’

एमबीबीएसको पहिलो वर्षको परीक्षामा राम्रो अंकले पास भए। छोरा डाक्टर बन्ने भयो भनेर फुदन औधी खुसी थिए। पहिलो वर्षमा १ सय जना अध्ययनरत विद्यार्थीमा २६ जना मात्रै नियमित परीक्षामा पास भएको उनी सुनाउँछन्। वीरगञ्जबाट छोरो डाक्टर भएर घर फर्किन्छ भन्ने आस थियो। ‘तर, कलेजको लापरबाहीले छोरालाई लास बनाएर फर्काइदियो,’ फुदन भक्कानिए, ‘हामीले त छोरालाई डाक्टर बनाइदिन कलेजको जिम्मा लगाएका थियौं। उनीहरूकै सर्तमा होस्टेलमा राख्यौं। राति २ बजेको समयमा होस्टेलबाट विद्यार्थी कसरी निस्किन सक्छ। कसले अनुमति दियो ? विद्यार्थीसँग कहाँबाट मोटरसाइकल आयो ? यस्तो पनि लापरबाही गर्न मिल्छ ?’

छोराको मृत्युले आमा अम्बिका कुमारी यादव अर्धचेत छिन्। छिनछिनमा बेहोस हुन्छिन्। आँखामा आँसुका भेल बगेका बग्यै छन्। होस् खुल्नेबित्तिकै बिलौना गर्छिन्। ‘कत चैल गेले हमर राजा बेटा, आइबक एकबेर ममि कहिदे बेटा(कहाँ गयौं मेरो छोरा, एकचोटी आमा भन्देऊ छोरा)।’

गाउँमा हस्पिटल खोलेर सेवा गर्न चाहन्थे सुमित

सानैदेखि सुमित सामाजिक कार्यमा रुचि राख्थे। डाक्टर बन्ने सपना बुनेका उनी भविष्यमा गाउँमै हस्पिटल खोल्न चाहन्थे। त्यो सपनालाई साकार पार्न छोरोको पिँठ्यु थपथपाउँथे फुदन। सुमितलाई डाक्टर बनाउन १४ कठ्ठा जग्गा बेचिसकेको उनले सुनाए। ‘पैसा थिएन। जग्गा थियो। कलेजलाई तिर्न हरेक किस्तामा जग्गा बेच्थे। अहिलेसम्म सुमितको कलेजमा ४० लाखको हाराहारीमा बुझाइसकेको थिएँ, फुदन भन्छन, ‘यो वर्षमा कलेजलाई बुझाउन फेरि जग्गा बिक्रीमा राखेको थिएँ। जग्गा र पैसाको माया थिएन। थियो त केबल छोराको र भविष्यको। अब भने केही रहेन।’

हस्पिटल खोल्ने सपनामा जेठो छोराको समेत साथ रहेको फुदन सुनाउँछन्। ‘त्यही योजनाले जेठो छोरा बी फार्मेसी पढ्यो। कान्छो भाइ डाक्टर बनेर आएपछि हस्पिटल खोल्छु भनेर भनि हिँड्थ्यो। अब उनको भाइ पनि रहेन। सपना पनि उडायो,’ भावुक हुँदै फुदनले भने। नेसनल मेडिकल कलेजलाई होस्टेल चलाउन क्षमता नरहेको मृतक सुमितका दाइ आशिष बताउँछन्। ‘होस्टेल चलाउने क्षमता कलेजसँग छैन। कलेजको चरम लापरबाहीले आज दुईजना भाइ गुमाएका छौं। यो घटना फेरि नदोहोरिस् भनेर कलेजविरुद्ध कानुनी लडाइ लड्छु,’ आशिषले भने।

(अन्नपुर्णबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.