पितृसत्ताको विरोध गरिरहने कि आफु सच्चिने ?

यमुना अर्याल (काफ्ले) | 2018 Jun 15 | 11:56 am 5208

महिलाको मुख्य शत्रु पुरुष बाहेक अरु कोही छैन ? के सधैभरी महिलामाथि हिंसा र थिचोमिचो गर्ने काम मात्रै पुरुषले गर्छन ? कुनै पुरुषको सफलताको पछाडी महिलाको हात हुन्छ भने महिलाको सफलताको पछाडी पुरुषको हात हुन्छ कि हुँदैन ? महिलाको अधिकार र हकको लागि महिलामात्रै लडेका छन कि पुरुषले पनि साथ दिएका छन ? महिलाको शत्रु महिला हुन सक्छन कि सक्दैनन ? यी विषय कहिल्यैपनि चर्चामा आएनन वा आउने मौका दिइएन ।

छोरी मान्छे अलिकति जान्ने बुझ्ने भएपछि उसको दिमागमा लोग्नेमान्छे प्रति घृणाभाव देखाउने काम गरियो । पुरुष महिलाका सहयात्री होइनन शत्रु हुन मात्र भन्न सिकाइयो, महिलामाथि अत्याचार गर्ने, चुलोचौकोबाट बाहिर जान नदिने, रातदिन महिलामाथि हिंसा गर्ने, शोषण गर्ने, हिंसामा दबाएर राख्ने पात्रको रुपमा पुरुषलाइ देखाइयो तर महिलाको शत्रु मुख्यतया अर्की उस्तै महिला हुन भन्ने कुरा सिकाइएन । नेपाल पिृतसत्तात्मक देश हो, स्वस्थानी व्रतकथा जस्ता वाइयात कथाहरु पढाएर महिलाको दिमाग भुटिएको छ भन्ने कुरा सिकाइयो, पुजाको प्रसाद छोराको लागि मात्र योग्य हुने छोरीको प्रसंग उल्लेख नभएको आलोचना गरियो तर अहिलेको २१ औँ शताब्दीमा पनि एउटा छोरा जन्माउनको लागि कैयौँ छोरीको भ्रू्ण हत्या गर्न स्वयं घरका महिला सदस्यले अर्की बुहारी महिला सदस्यलाइ उक्साएको, बाध्य पारेको विषय उठान गरिएन ।

धर्मशास्त्रमा उल्लेख गरिएका कुराहरुलाइ पुरुषवादी नजरबाट हेरियो तर व्यवहारमा महिलाहरुले त्यसको विरोध गर्ने होइन भित्रभित्रै व्यवहारमा छोरा जन्माउनको लागि जतिपटक पनि गर्भपतन गराउन पछि नपर्ने बाहिर महिला अधिकार र भ्रूण हत्या गर्न पाइदैन भन्ने कुराको वकालत मात्र गर्न सिकाइयो । छोरी भएकोले मात्र यो सृष्टिको सृजना सम्भव भएको कुरा अर्की महिलालाई सिकाउने प्रयत्न गरिएन वा गर्ने आँट भएन, सन्तान नभएकी महिलालाइ अनेकन लान्छना लगाउने काम स्वयं महिलाबाटै बढी हुन्छ यी विषय सधैभरी ओझेलमा परे । दाइजो नल्याएको निहँुमा, छोरा नजन्माएको निहुँमा, बोक्सी लागेको निहँुमा सबैभन्दा पहिले महिलाले नै महिलालाइ दोषी देख्ने नजरमा फरकपन आउन सकेन । त्यही पनि हामी पुरुषलाइ गाली गरिरहेका छौँ, आलोचना गरिरहेका छौँ , उनिहरुले नै गर्न दिएनन भनेर थाकेका छैनौ आफुभित्रको कमजोरी उजागर गर्न सकेका छैनौं। सधैभरी पितृसत्ताको आलोचना गरिरहने कि आफुभित्रका कमजोरी बुझेर सच्च्याउन तिर लाग्ने ? केही उदाहरणहरु यहाँ उल्लेख गरिएको छ ।

पात्र १ . आज भन्दा ५ वर्ष पहिले छिमेकी गाउँकै केटासँग धुमधामसँग बिहे भयो । मास्टरकी छोरी थिएँ गाऊँमै इज्जतदार भनेर मेरा बालाई चिन्थे अरुका अगाडी आहा भन्ने खालकै दाइजो दिएर बिदाइ गरे । म घरकी जेठी बुहारी , तिनवटी नन्द एउटा देवर र एउटी आमाजुकी एक्ली बुहारी, भाउजु जे भनेपनि म मात्रै । बिहे गरेर भित्रेको दिनमा दाइजो कति ल्याइ भनेर गाउँलेहरु सबै हेर्न आएका थिए । ओहो यतिधेरै दाइजो ल्याएकी रहछि खुब सुख पाउने भइ मुख हेर्न आउनेहरु खासखुस गरेको सुन्थेँ तर नयाँ बेहुली बोल्ने कुरा पनि आएन । बिहेको भोलीपल्ट दुुलन फर्काउन माइतीमा गएँ श्रीमानसँग । अर्कोदिन घर आएपछि १६ रात कटाउनुपर्छ भनेर १६ दिन घरमै बसेँ । त्यो बेलामा १६ वर्षको भन्दा बढी अनुभव मैले संगाले ।

मेरो काका ससुराका छोराले पनि त्यही महिनामा बिहे गरेका रहेछन तर अति सामान्य तरिकाले । काकाकी बुहारीले दाइजो केहीपनि नल्याएकी रहिछन । मेरा घरका सासु, नन्द, आमाजु र वरपरका महिलाहरु जम्मा हुन्थे र मेरो र काकाकी बुहारीको तुलना गर्थे । हाम्री बुहारीले यो ल्याइ ऊ ल्याइ, यति दक्षिणा दिए, यस्ता कपडा दिए तर फलानाकी बुहारी फुक्का टाँट केही ल्याइन यस्तैयस्तै…. । ती नयाँ बेहुली स्कुलमा राहत कोटामा प्राविमा पढाउँथिन मेरो जागिर थिएन तैपनि मलाइ उनीभन्दा निकै माथि पुराउँथे मेरा घरका र वरपरका महिलापात्रहरु ।

भलै काकाका छोराले दाइजो नल्याएको भनेका थिएनन उनीपनि शिक्षक नै थिए । श्रीमतीपनि पढाउँथिन दुवैजनाको कमाइ थियो । तर पनि महिला पात्रहरु दाइजो नल्याएको , बिहेमा दक्षिणा कम पाएको विषयलाइ दिनदिनै यति उचाल्थे कि सुनेको भए सायद नयाँ बेहुलीले घर गर्न सक्ने आँट आउने थिएन होला ।

कुनैपनि पुरुषपात्र जस्तो मेरा श्रीमानलाइ मैले दाइजो ल्याए नल्याएको विषयमा मतलव थिएन, ससुरालाइ पनि चाँसो थिएन, साना एउटा देवर थिए उनलाइ चाँसो हुने कुरै भएन , काकालाइ मतलव थिएन, काकाका छोरालाइ आत्मनिर्भर केटी पाएकोमा गर्व थियो तर घरका महिलापात्रहरुलाइ अर्की नयाँ भित्रेकी महिलाको बारेमा यति चासो र सरोकार थियो कि मानौँ राज्यले उनिहरुलाइ खुरापाती गर्नकै लागि खटाएको हो ।

मेरी चिनजानकै साथीले एक भेटमा यतिधेरै कुरा खोतेलिन उनको अनुभवमा महिलाहरु सधैभरी पितृसत्ताको बिरोध गर्ने तर आफु सच्चिने छाँटकाँट नभएको उनको जिकिर थियो । महिलाले महिलाको बारेमा बढी चासो लिने, अनावश्यक टिकाटिप्पणी गर्ने र दोष पुरुषलाइ लगाउने गरेका कारण महिला हिंसाका घटनामा कमी आउन नसकेको उनको जिकिर थियो ।

पात्र २ केही दिन अघि मात्रै दाँङमा एउटा घटना घट्यो जस्ले आम महिलाहरुलाइ लज्जित त बनायो नै पिृतसत्ताको आरोप प्रत्यारोप लगाएर मात्रै महिला हिंसाका घटनामा कमी आउने रहेनछ भन्ने कुराको आत्मबोध पनि गरायो । दुइजना महिलाले अर्की एक महिलालाइ आपसी हिसाबकिताबमा चित्त नबुझेको बहानामा सार्वजनिक स्थानमा अर्धनग्न बनाएर निर्घात कुटपिट गरे ।

को मर्म नबुझेपछि राष्ट्रपति, प्रधानमन्त्री जे–जे महिला भएपनि केही हुँदैन घरमा शान्ति ल्याउनको लागि महिलाले महिलाको मर्म बुझ्न सक्नुपर्छ

उनिहरुको व्यवहार के थियो कसो थियो मिलेर गर्नुपथ्र्यो तर जग्गा सस्तोमा दिइन वा पैसा समयमा तिरिन वा अन्य जे सुकै कारण भएपनि एउटी आफुजस्तै महिलाको इज्जत लुट्ने हिसाबले अर्की महिला प्रस्तुत हुनुलाइ पितृसत्ताको दोष भन्ने कि महिलाहरुको कमजोरी ठान्ने ?
एउटी महिलालाइ नग्याउँदैमा अर्की महिलाको इज्जत बढ्दैन बरु आफ्नै गरिमा घट्न जान्छ । यस्ता व्यवहारबाट महिलाले महिलाको ओझ घटाएका छन । कुनै पुरुषले एउटी महिलामाथि यस्तो व्यवहार गरेको हुन्थ्यो भने महिला अधिकारवादीहरु कुर्लन्थे , नाराबाजी हुन्थ्यो तर महिलाले महिलामाथि यस्तो व्यवहार गर्दा यो विषय कुन कित्तामा पर्छ ? के यस्ता घटना हुँदा महिला अधिकारवादीहरु जाग्नु पर्दैन ? महिला जागरणका विषयमा कुरा उठाउनु पर्दैन ? महिलाले महिलामाथि गर्ने हिंसालाइ कुन नजरले हेर्ने ? कि यो पनि पितृसत्ताकै दोष ठान्ने त ?

पात्र ३ काठमाण्डौकै स्थायी बासिन्दा जो डिग्री पढेकी शिक्षित बुहारी हुन । ठुलो घरानाकी बुहारी जसले छोरा जन्माउनको लागि सासु र आमाजुको दबाब थेग्न नसकेर तिन पटक गर्भ पतन गराउन बाध्य भइन । श्रीमान पनि जागिेरे छन उनले छोरा र छोरी जे भएपनि फरक पर्दैन भन्छन तर आमाको सामु यस्तो कुरा भन्न पाउने अनुमति छैन ।

श्रीमतीसँग एउटा छोरी भए पुग्छ भन्ने श्रीमान, आमा र दिदीको अगाडी लाचार बन्नुपर्छ । पोहोरसाल पनि तिनमहिनाको गर्भ पतन गराएँ, अघिल्लो साल ६-६ महिनाको अन्तरमा दुइपटक गर्भ पतन गराएँ, एक पटक गएको अस्पतालमा फेरीजान लाज लाग्छ उनले गुनासो गरिन । बरु गाऊँघरका सासुहरुको मन फेरिए होला तर यो शहरमा बस्ने सासुु आमाजुहरुको दिमागमा गोबर भरिएको छ जस्तै लाग्छ उनले थप पिडा ओकलिन ।

उमेर गएको छैन केही भा छैन एउटा नाती नदेखी मरेभने त नर्कमा पनि मेरो बास हुँदैन भन्ने सासु, माइतीको जिलो छैन के आशले माइतीमा आउनु खै ? दुइवटा भान्जाको हात समाउँदै आउने आमाजुको यस्तै बचन सुन्नुपर्छ पटक पटक उनले । ससुरालाइ केही मतलव छैन, आफ्नै श्रीमानले छोरी भए पुग्छ भन्छन तर आमाजु र सासुको करकरले छोरा नपाउने महिला मान्छे नै होइनन कि भन्ने जस्तै लाग्छ । अब कतिवटा भू्रण छोरीको हत्यारा बनूँ म ? मेरी सासु र आमाजुलाइ खुसी तुल्याउनकै लागि मन नलागी नलागीपनि हत्यारा बन्नु परिरहेको छ ।

उनिहरुले आफु छोरी भएर नै सृष्टि चलाउन सकेको कुरा बुझ्दैनन । तिनपटकको गर्भपतनले ज्यान नै कमजोर भइसक्यो तैपनि सासु र आमाजुलाइ चित्त बुझ्दैन । उनी सम्झिन्छिन कुनैपनि घरमा महिलाको इज्जत हुनको लागि महिला नै सच्चिनु जरुरी छ , मेरो श्रीमानलाइ उचाल्ने काम दिदी र आमाले गरिरहेका छन दाइले, बुवाले वा अन्य पुरुषले उचाल्दैनन ।

महिलाले महिलाको मर्म नबुझेपछि राष्ट्रपति, प्रधानमन्त्री जे–जे महिला भएपनि केही हुँदैन घरमा शान्ति ल्याउनको लागि महिलाले महिलाको मर्म बुझ्न सक्नुपर्छ नि उनले वास्तविकता बताइन् ।

पात्र ४ एक छिमेकी आमा कहिले कहाँ दुख्ने कहिले कहाँ दुख्ने समस्याले बिरामी परिरहन्थिन । उनले कुनै पुरुषको नजर आफुमा लागेको ठान्दैन्थिन , एकजना गरिब परिवारकी महिला थिइन जसका श्रीमान बितिसकेका थिए , सातजना लालाबाला के खाउ र के लाउँको अवस्थामा थिए । ति महिला खासै नुवाइधुवाइँ गर्दैन थिइन । निकै दुख थियो साँझ बिहानको छाक टार्न । तर ति छिमकी आमाले सधैँ त्यही महिलालाई बोक्सी लागाएको भन्ने आरोप लगाइयो । ती आमाले श्रीमान भएका, घरमा अलि खान पुग्ने हैसियत भएका कुनैपनि महिलालाइ बोक्सी हो भन्न सकिनन तर जसका श्रीमान छैनन, बालबच्चा धेरै छन, लाउन खानको दुख छ तिनै महिलालाइ बोक्सी देख्न थालिन । पछि छोराहरुले गाली गरेर अस्पतालमा चेक गराउँदा पेटमा पत्थरी भएको पत्ता लाग्यो ।

एउटी महिलाले अर्की निमुखा महिलालाइ यसैगरी पोल लगाउने, हिंसा गर्ने ,नभएका आरोप लगाउने प्रवृतिले मेरो छिमेकमा मात्रै होइन देशैभरीका टोलहरुमा देख्न सकिन्छ । किन महिलाले महिलालाई यस्तो व्यवहार गर्छन ? यो व्यवहार नसच्चिएसम्म पुरुषलाइ विरोध गरेर, पितृसत्ताको विरोध गरेर आलोचना गरेर महिला अधिकार प्राप्ती हुँदैन , सबैभन्दा पहिले महिला स्वयम् सच्चिनु जरुरी छ ।

एउटा कार्यालयमा कार्यालय प्रमुख रहेकी एउटी महिलाले सोही कार्यालयमा काम गर्ने अन्य महिला कर्मचारीको मर्म नबुझ्ने, एउटी सासुले बुहारीको मर्म नबुझ्ने, बुहारीले सासुको, नन्द आमाजुले भाउजु बुहारीको, भाउजु बुहारीले नन्द आमाजुको, छिमेकी महिलाले आफुजस्तै अन्य महिलाको मर्म नबुझ्ने , एकले अर्काको कुरा काट्ने, होच्याउने, अनावश्यक लान्छना लगाउने व्यवहार बढाउँदै जाने अनि पुरुषले काम गर्न दिएनन, सबै पुरुष हिंस्रक हुन, सबै पापी, अपराधी हुन, महिलालाइ शोषण गर्न भन्दा अरु जानेका छैनन भन्ने किसिमले मात्रै प्रस्तुुत हुने हो भने महिला हिंसा कागजमा न्यून होला व्यवहारमा न्युन हुन सक्दैन ।

त्यसैले पिृतसत्ताको आलोचना होइन आफु सच्चिएर समाज परिवर्तनमा महत्वपुर्ण भूमिका निर्वाह गरौँ । अरुलाइ आलोचना गरेर एकैछिनको लोकप्रियताको पछि लागेर आफुभित्रका कमजोरी लुकाउने काम नगरौँ । सबैभन्दा शत्रु हामीभित्रै लुकेको छ चाहे शहरी भेगमा बस्ने महिला हुन या ग्रामिण भेगमा बस्ने नै किन नहुन ।

नेपाल पितृसत्तात्मक मुलुक हो यसको अर्थ महिलाले महिलालाइ हिंसा गर्दैनन, महिला सधैभरी निरीह पात्र मात्रै बस्छन भन्ने होइन । हिंसामा लिंग नहेरौँ पहिले आफु सच्चिने कोशिष गरौँ, आफ्नो शरिरको भैँसी देखौँ र पुरुषको शरिरका जुम्रा केलाउने कोशिष्स गरौँ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.