पार्टी-सिद्धान्त र आदर्शबाट च्युत हुँदा काङ्ग्रेस कमजोर भयो : तारानाथ रानाभाट

| 2018 Jun 06 | 12:11 am 3587

नेपाली काङ्ग्रेसका पूर्व महामन्त्री एवम् प्रतिनिधिसभाका सभामुख तारानाथ रानाभाट प्रष्ट वक्ताका रूपमा परिचित नेता हुन् । नेपालको प्रजातान्त्रिक आन्दोलनमा निष्ठापूर्वक समर्पित भई परिवारका सबै सदस्यले जेल जीवन बिताएका नेता रानाभाट दायाँबायाँ दाउपेच गर्न नजानेकै कारण पार्टीभित्र पछि पारिएका हुन् भन्ने पुराना काङ्ग्रेसजन सबैले बुझेका छन् । हरदम पार्टीको उन्नति र भलो चिताएर राष्ट्रचिन्तनमा दिन बिताइरहेका नेता रानाभाटसँग रिपोर्ट नेपालले गरेको कुराकानीको प्रमुख अंश प्रस्तुत गरिएको छ ।

० हिजो गणेशमान सिंहको नेतृत्वमा सफल भएको जनआन्दोलनबाट बहुदलीय व्यवस्थामा पहिलो पार्टी बनेको काङ्ग्रेस अहिले कमजोर प्रतिपक्षीको रूपमा खुम्चिएर बस्नुपरेको छ नि, किन होला ?
– पहिलो प्रश्न नै जवाफमा आफ्नाहरू माथि प्रहार गर्नुपर्ने गरी आयो । वास्तवमा त्यसबेलाको नेपाली काङ्ग्रेसको गतिविधि र योगदान कोट्याइरहनु पर्दैन । त्यो इतिहास अत्यन्त गौरवमय छ । नेपाली काङ्ग्रेस विख्यात नेताहरूले नेतृत्व गरेको पार्टी भएको मैले ब्याख्या गरिरहनु पर्दैन । बीपी कोइराला राजनीतिज्ञ मात्र हुनुहुन्थेन । लौहपुरुष गणेशमान सिंह, सन्तनेता कृष्णप्रसाद भट्टराई जस्ता नेताहरूले परिवर्तनको लागि नेतृत्वदायी भूमिका निर्वाह गरेर बहुदलीय व्यवस्था स्थापना भएको कुरा पनि मैले स्मरण गराइरहनु नपर्ला । तर दुर्भाग्यको कुरा के छ भने आज राज्यसत्तामा मात्रै होइन कि राज्यमै काङ्ग्रेसको स्थिति ‘शुन्य’ भएको अनुभूति गरिँदैछ । वडादेखि गाउँ, नगर, प्रदेश हुँदै केन्द्रसम्मको उपस्थिति जे–जस्तो देखिएको छ, यो विडम्बनापूर्ण छ । तर पनि निराश भइहाल्नु पर्दैन । काङ्ग्रेसको खस्किएको अवस्था देखेर कुनै विपक्षीले मात्तिने, घमण्ड गर्ने र काङ्ग्रेसजनले चाहिँ आत्तिने गर्नु हुँदैन । अहिले विजयको उन्मादमा नेपाली काङ्ग्रेसको भूमिका नै समाप्त भयो, उसको अब संगठन नै रहँदैन भनेर कोही हौसिएको छ भने त्यो गलत हो, त्यही घमण्डले उसलाई सखाप पार्न सक्छ । तर, काङ्ग्रेसको नेतृत्वले पनि सच्चिनैपर्छ । यही तरिकाले अघि बढ्ने प्रयत्न गरियो भने विपक्षीले सोचेजस्तै अस्तव्यस्त र कमजोर अवस्था नहोला भन्न सकिन्न ।

० तपाईं महामन्त्री हुँदाको नेपाली काङ्ग्रेस र अहिले शेरबहादुर देउवाले नेतृत्व गरेको काङ्ग्रेसमा कस्तो फरकपन छ ?
– पार्टी त उही नै हो, तर त्यो बेलाको काङ्ग्रेस र अहिलेको काङ्ग्रेसले काम गर्ने या संगठन गर्ने तौरतरिकामै आकाश–जमिनको फरक छ । हामीहरू यस्तो अनुशासनमा रहन्थ्यौँ कि के बोल्दा या के गर्दा संगठनलाई कस्तो असर पर्छ भनेर सोचविचार गरेर मात्र व्यवहार गर्दथ्यौँ । अग्रज नेता गणेशमान सिंह, किसुनजी, महेन्द्रनारायण निधिहरूको स्कुलिङ प्राप्त भएको थियो हामीलाई । बीपी कोइरालको त कुरै गर्नुपरेन । उहाँ स्वयम् कति अत्यन्त अनुशासित हुनुहुन्थ्यो र कार्यकर्तालाई पनि माया–स्नेहका साथ सोही संस्कार सिकाउन खोज्नुहुन्थ्यो । त्यसबेलाको पार्टी र पार्टी–सदस्य हुनुको गरिमा नै अर्कै थियो । आज त्यस्तो ओज रहेन ।

० यतिबेला तपाई स्वयमको चाहिँ काङ्ग्रेस पार्टीभित्र कस्तो भूमिका या सक्रियता रहेको छ नि ?
– पदीय जिम्मेवारी भए मात्र सक्रिय या भूमिकावाल भन्ने कुरा हुँदैन । पदीय भूमिकामा मात्रै भूमिका देख्न खोज्ने हो भने मेरो यतिबेला केही भूमिका छैन । तर साथीहरूसँग भेटघाट, चिन्तन–मन्थन गर्ने कुरामा सबैभन्दा अगाडी मै छु जस्तो लाग्छ । यस्तो कुराको बेग्लै महत्व हुन्छ ।

० हिजो अप्ठ्यारा दिनमा सम्पूर्ण परिवार प्रजातन्त्रको लागि जेल बसेको तारानाथ रानाभाटलाई यसरी जिम्मेवारमुक्त बनाएर काङ्ग्रेसलाई फाइदा पुग्ला, के भन्नुहुन्छ ?
– संगठन गर्ने क्षमता, कार्यकर्तासँग भिज्न सक्ने कुशलता भएको र बीपी कोइरालाको सिद्धान्तलाई छाड्नु हुँदैन भन्ने अडान लिँदा म पछाडि परेँ । पार्टीलाई दुहुनो गाई बनाएर खान पल्केका नवप्रवेशी काङ्ग्रेसले जस्तो छलछाम गर्न नजानेकै कारण म जस्ता पुराना त्यागी धेरै साथीहरूलाई पछि पारिएको छ । तर, म निरास छैन । आफ्नो स्थानबाट पार्टीका लाग् िसक्दो योगदान पुर्याउन म कदापि पछि हट्ने छैन ।

० पछिल्लो समयमा काङ्ग्रेस नेतृत्वको गतिविधि तथा कार्यशैलीप्रति तपाईं कति सन्तुष्ट या आलोचक हुनुहुन्छ ?
– यथार्थ बताउनै पर्दा म एकरत्ति पनि सन्तुष्ट छैन । काङ्ग्रेस पार्टी यसरी खुम्चिनुमा कसैको दोष नभएर आफ्नै कारणले हो । आफ्नै अपरिपक्व निर्णय, आफ्नै अव्यवहारिक विश्लेषण र एकोहोरो कार्यशैलीले काङ्ग्रेस बिग्रिएको हो । त्यसमा मेरो पनि दोष होला । नेतृत्वले आफ्नो असक्षमता या कमजोरीलाई कार्यकर्तासामु भन्न नसक्नु पनि अझ बढी ठूलो कमजोरी हो भन्ने मेरो बुझाई छ । ‘बिग्रँदै छ है’ भनी अग्रिम सचेतना दिलाउन खोज्ने साथीहरूलाई बेवास्ता गर्दै अघि बढ्ने अनि अहिले आएर नानाथरीको आरोप लगाउँदै फलानाले गर्दा बिग्रियो, कम्युनिष्ट एक भएर लडेकाले हारियो भनी सुख पाइन्छ ? ०४८ सालमा काङ्ग्रेस एक्लै लडेको होइन र ? ०५१ को गल्ती सुधार गरेपछि ०५६ मा फेरि काङ्ग्रेस बलियो भएको होइन र ? म तपाईंलाई एउटा स्मरण गराउन चाहान्छु । राजनीतिको एउटा उद्देश्य सत्ता हो । त्यसका निम्ति सिद्धान्त र आदर्श चाहिन्छ नै । पार्टीको सिद्धान्त र आदर्श बोकेर हिँडियो भने सफल भइन्छ । काङ्ग्रेसको नेतृत्वले त्यो बिर्सिएका कारण पार्टी यो अवस्थामा आएको हो । गाउँ–गाउँका कार्यकर्तालाई प्रशिक्षण दिने, सूचना प्रदान गर्ने काम त पार्टीले गर्नुपर्छ नि, त्यो खै ? अर्को कुरा मजस्तै पाखा पारिएका साथीहरूबाहेक अन्य जुन पदमा रहेर पार्टी जतासुकै जाओस् भन्ने जुन झुण्डको हालीमुहाली या चलखेल छ, त्यस्तो समूहप्रति हामी चित्त बुझाउन सक्दैनौँ । नैतिक जिम्मेवारी लिनेहरूलाई पाखा पारिएकै कारण काङ्ग्रेस पछि परेको हो भन्ने आजको नेतृत्वले महसुस गर्न सक्नुपर्छ ।

० थोरै प्रसङ्ग बदलौँ, यतिखेर नेकपा र मधेसी फोरमको संयुक्त सरकार छ, नेपाली काङ्ग्रेस जस्तो पुरानो पार्टी प्रतिपक्षमा खुम्चेर बस्नुपरेको बेला सरकार र प्रतिपक्षबीच कस्तो सम्बन्ध होला जस्तो लाग्छ ?
– नेपालको इतिहासमा नेपाल कम्युनिष्ट पार्टीले जुन दुई तिहाइ मत बटुल्ने अवसर प्राप्त गरेको छ, त्यसलाई सदुपयोग गरेर अघि बढ्न सकेन भने यो दुई तिहाई उनीहरूका लागि काउसो सावित हुनेछ । दुई तिहाईको घमण्डमा सवार भई सरकार सञ्चालन गर्न थालियो र समाजमा विकृति–विसंगति पैदा गरियो भने त्यसको परिणाम भोग्न तयार हुनुपर्छ । सरकारले जनमुखी काम गर्दै गयो भने सकारात्मक सहयोग जो–कोहीले गर्नैपर्ने हुन्छ । प्रतिपक्षको काम सजग तुल्याउने, सरकारका कमजोरी औंल्याएर ठिक बाटोमा हिँड्न निर्देश गर्ने भएकोले नेपाली काङ्ग्रेसले गुण–दोषको आधारमा सरकारलाई कतिबेला कस्तो व्यवहार गर्ने, समयसापेक्ष भई सोच्नुपर्छ ।

० सरकारका गतिविधि या रवैयाप्रति तपाईं सन्तुष्ट हुनुहुन्न भन्ने महसुस गर्न सकिन्छ, के सुझाव दिनुहुन्छ सरकारलाई ?
– बडामहाराजधिराज पृथ्वीनारायण शाहले भने झैँ दुई ढुङ्गाबीचको तरुल हो नेपाल । दुवै छिमेकीले गरेको आर्थिक र सामाजिक प्रगतिबाट पाठ सिकेर हामी अघि बढ्नु पर्छ । बीचमा बसेर स्पष्ट धारणा नबनाई दुईतिर खुट्टा राख्ने र एकातिर जाँदा त्यतैको अर्कोतिर जाँदा उसैको भए जस्तो देखाउनु नेपालको ठूलो कुटनीतिक कमजोरी हो । दुवै छिमेकी मुलुकलाई समान दूरीमा राख्नुपर्छ । राष्ट्रवादको ज्यादै चर्को कुरा गर्ने प्रधानमन्त्री ओलीको राष्ट्रवाद पनि भरतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका बेला प्रष्ट देखियो । आफ्नो देशको सुरक्षा संयन्त्र चुस्तदुरुस्त र सक्षम छ भन्ने सन्देश दिन नसकेर सबैभन्दा अग्र मोर्चामा भारतीय सुरक्षा रहनु कति राष्ट्रवाद हो, त्यो भने मैले बुझ्न सकेको छैन ।

० एकथरी विश्लेषकहरू वर्तमान सरकार दुई तिहाइको दम्भमा अधिनायकवादतिर अघि बढ्दैछ भन्छन्, सत्य हो ?
– कता–कता हेर्दा, प्रधानमन्त्री केपी ओलीका अभिव्यक्ति सुन्दा त्यस्तो देखिन्छ । कस्ता–कस्ता तानाशाह त जनताका अगाडि नमस्तक हुन्छन् भने यो सरकारले त्यस्तो चेष्टा गर्ने हिम्मत राख्यो भने जनताको असन्तुष्टिबाट पैदा हुने आक्रोशको आँधिबेहरीले उनीहरूको सपना उडाएर लैजान्छ ।

० नेपाली काङ्ग्रेस प्रतिपक्षमा छ, सरकारले गरेको गल्तीलाई झक्झकाउनु पर्नेमा यसले त्यो गरेको देखिँदैन, सरकारले गल्ती नगरेकै कारण मुद्दा नपाएर चुप बसेको हो ?
– यो विषयमा जवाफ दिनुअघि म तपाईंलाई ०४८ सालतिर फर्काउन चाहन्छु । त्यो बेला नेपाली काङ्ग्रेसको बहुमतको सरकार थियो र प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला हुनुहुन्थ्यो । अहिले माओवादीलाई भित्राएर नेपाल कम्युनिष्ट पार्टी बनेका ओलीजीहरूको ‘एमाले’ पार्टीले झण्डै दुई महिना सदन चल्न दिएन । प्रतिपक्ष भनेको हरेक कुराको विरोध नै गर्नुपर्छ भन्ने चिन्तन उनीहरूमा थियो, जुन गलत हो । अब काङ्ग्रेस पनि त्यही बाटो अवलम्बन गर्नुपर्छ भन्ने ठान्नु हुँदैन । विरोधको शैली अनेक हुन्छ । सांकेतिक रूपले पनि विरोध गर्न सकिन्छ । नेपाली काङ्ग्रेस भनेको प्रजातन्त्रिक स्कुलिङबाट आएको पार्टी भएकोले उसले लोकतान्त्रिक पद्दतिबाट प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्छ । यतिबेला मुलुक आर्थिक समृद्धिमा लम्कनुपर्छ भन्ने धारणा देशब्यापी रूपमा पैदा भएको छ र सरकारले पनि त्यो पूरा गरि देखाउँछौँ भनी दाबी गरिरहेको छ । वाम सरकारले साँच्चै गरेर देखाउन सक्छ या गफ मात्रै दिएको हो भनी प्रष्ट हुन अब धेरै समय कुर्नु पर्दैन । त्यसैले केही समय काङ्ग्रेसले धैर्यताका साथ प्रतीक्षा गर्दा केही बिग्रँदैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.