नेयमारले विश्वकपको आगामी खेल खेल्ने पक्का

रिपोर्ट नेपाल | 2018 Jun 21 | 05:11 pm 2476

काठमाडौं, ७ असार : स्विट्जरल्याण्डसँगको निराशाजनक प्रदर्शनपछि आफ्नो दोस्रो खेलमा सुधारिएको प्रदर्शन गर्ने ब्राजिलियन स्ट्राइकर नेयमारले बताएका छन् । शुक्रबारको खेलमा आफ्नो प्रदर्शनमा सुधार गर्ने योजनामा आफूहरु रहेको नेयमारले बताएका हुन् ।

स्विट्जरल्याण्डको खेलमा केही चोटहरुको सामना गरेसँगै मंगलबार भएको प्रशिक्षणमा सहभागी नभएका नेयमार बुधबारको प्रशिक्षणमा भने सहभागी भएका थिए । स्विट्जरल्याण्डको खेलमा नेयमारमाथि १० फाउलहरु भएका थिए । यो समस्याको कारण उनले मंगलबारको अभ्यास गुमाएका थिए ।

२६ वर्षीय खेलाडीले बुधबारको अभ्यासपछि कोस्टारिकासँगको खेलमा आफूहरुले धेरै आश राखेको बताए । नेयमारले आफूहरुले स्विट्जरल्याण्डको भन्दा राम्रो प्रदर्शन गर्ने बताए । उनले कोस्टारिकाको खेल्ने शैली पनि आफूहरुले हेरेको तर आफहरु आफ्नै खेलमा केन्द्रित रहेको बताए ।

समुह ई मा कोस्टारिका पछि ब्राजिलको सामना सर्वियासँग हुनेछ । सर्वियाले कोस्टारिकासँग जित हासिल गरेको थियो । यसअघि नेयमारले स्विट्जरल्याण्डसँगको खेलमा खुट्टामा चोट बेहोरेको कारण उनले आगामी खेलहरु गुमाउने आशंका गरिएको भए पनि उनले आफूहरु कोस्टारिकासँगको खेलको लागि तयार रहेको बताएका हुन् । (एजेन्सी)

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.