- बसन्त भुजेल
नेपालीहरुको महान चाड दशैं सुरु भएको छ । आजदेखि आधिकारीक रूपमा दशैंले छोई नै सक्यो । आज जमरा छर्ने दिन अर्थात् घटस्थापना । जमरा अर्थात् जौको जीवन, जसलाई थोरै बालुवा मिसिएको माटोमा छरिन्छ अनि नवरात्रीभरिनै हरेक दिन पूजाअर्चना गरिन्छ । जमरा वास्तवमा जौको अंकुरण भएतापनि दशैंको जमरामा जौ लगायत धान, मकै र गहुँका पहेला, हरिया अकुुंरित वालाहरू समावेश हुन्छ । माटो, पानी, हावा, फूल, आँकुरासंग जुटेको यो संस्कारले वनस्पतीसँग हामी अत्यन्तै नजिक छौं भन्ने स्पष्ट पार्छ । हिन्दूहरुको महान पर्व दशैंमा जमरा संस्कृती एउटा मौलिक धरोहरको रुपमा रहिआएको छ भने यस दशमीको दिन लाइने जमरा उमार्नकालागि आजको दिन अर्थात् घटस्थापना महत्वपूर्ण दिन हो ।
यो वर्ष यस्तो शुभसाइतमा दशैं सुरु भएको छ कि, यस्ता सुभसाइत सय वर्षमा एक वा दुई पटक मात्रै जुर्छन् । यो वर्ष जुन दिन घटस्थापना परेको छ त्यो दिन सूर्य कन्या राशीबाट तुला राशीमा प्रवेश गर्दैछ ।
घटस्थापनाको दिन पर्ने संक्रान्ति यस हिसाबले पनि महत्वपूर्ण छ । किनकी यस दिनमा दिन र रातको समय ठ्याक्कै समान हुन्छ । यस संक्रान्तिलाई मत्स्यपूराणमा अत्यन्त महत्वपूर्ण संक्रान्तिकारुपमा ब्याख्या गरिएको पाईन्छ, एक दिन अगाडिबाटै एक छाकमात्र खाएर तुला संक्रान्तिको व्रत बस्ने चलन पनि छ ।
नेपाल पंचाङ्ग निर्णायक समितिका अनुसार घटस्थापनाको साइत कात्तिक १ गते शनिबार बिहान ११ः४६ बजे शुभ रहेको छ । यस वर्ष घटस्थापनाका दिन तुला सक्रान्ति मात्रै होइन की अत्यन्त शुभ मानिने चित्रा नक्षत्र समेत परेको छ । कात्तिक २ गते आइतबार बिहान १०ः५३ बजे पश्चिम फर्केर झण्डा फेर्ने साइत दिइएको छ । विशेषगरी नेपाली सेनाले झण्डा फेर्ने गरेको जनाइएको छ । कात्तिक ५ गते बुधबार पचली भैरव यात्राको साइत जुरेको छ । कात्तिक ७ गते शुक्रबार फूलपाती छ । फूलपाती भित्र्याउन साइत आवश्यक पर्दैन ।
कात्तिक ८ गते शनिबार महाअष्टमी पर्व परेकोछ । यस दिन बलि दिनेले बलिसहित देवीको पूजा आराधना गर्छन् । बेलुकी कालरात्रि मनाइन्छ । कात्तिक ९ गते आइतबार महानवमी पर्व पनि शक्तिपीठमा पूजा आराधना गरी मनाइन्छ ।
दशैँको मुख्य दिन कात्तिक १० गते सोमबार विजयादशमी पर्व परेको छ । यस दिन बिहान नौ रात १० दिन पूजा गरिएको स्थलमा देवी विसर्जनका लागि बिहान १०ः११ बजेको साइत शुभ रहेको समितिले जनाएको छ । साइत नै खोजेर टीका लगाउनेका लागि भने बिहान १०ः१९ बजेको साइत उत्तम छ ।
घटस्थापनाको महत्व
दशैंको पहिलो दिन आज घटस्थापना हो । पौराणिक र तान्त्रिक महत्वलाई दृष्टिगोचर गरी दूर्गा भवानीको कृपा तथा आशिर्वाद प्राप्त गर्नका लागि विजयादशमी मनाउने शास्त्रीय विधान छ । शुद्ध माटो तथा गोबरले घर शुद्ध बनाएर शास्त्रीय विधि अनुसार शुभ मुहूर्तमा घडा स्थापना गरी घडाको नजिक सप्तधान्य (जमरा) बीजारोपण गरी नौ दिनसम्म विभिन्न नामले शक्तिको पूजा आराधना गरिन्छ । त्यस पश्चात् प्रसाद स्वरूप दशमीको दिन लगाउने टीकाबाट धर्म, अर्थ, काम र मोक्ष प्रदायक हुने कुरा देवी भागवतमा बताइएको छ ।
आषाढ शुक्ल, आश्विन शुक्ल, माघशुक्ल र चैत्र शुक्ल गरी वर्षमा चारवटा नवरात्रहरू पर्ने गर्दछन् । यी चार नवरात्रहरूमा आषाढ शुक्ल र माघ शुक्लपक्षका तिथिहरुलाई ‘गुप्त नवरात्र’ भनिन्छ । यी नवरात्र साधकहरूका लागि उपयोगी मानिन्छन् । चैत्र शुक्ल र आश्विन शुक्लपक्षमा आम मानिसहरूले शक्तिको आराधना गर्ने गर्दछन् ।
नौ दिनसम्म मनाउने नवरात्रमा कुन दिन, कुन रूपको पूजा गर्ने र कस्तो प्रसाद चढाउने अनि कुन कामनाको पूर्तिका लागि पूजा गर्ने भन्नेबारे मार्कण्डेय पुराणमा उल्लेख गरिएको छ । सावधानीपूर्वक विधि अनुरूप विभिन्न रूपको पूजा गरेमा विभिन्न मनोभिलाषा पूरा हुने बताइएको छ । यं यं चिन्तयते कामं तं तं प्राप्नोति निश्चितम् । अर्थात् जुन–जुन कामनाले भगवतीको आराधना गरिन्छ ती सबै कामना सिद्ध हुने कुरा दुर्गासप्तशतीको देव्या कवचमा बताइएको छ ।
दशैं आश्विन शुक्ल प्रतिपदादेखि दशमीका दिनसम्म मनाइन्छ । शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, शिद्धिदात्री गरेर नवदुर्गाको क्रमशः पूजा गर्ने गरिन्छ । विशेष गरेर महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना यस पर्वमा गरिन्छ ।
पूजा गर्दा नौ दिनसम्म कुन–कुन दिन कसको र के–के सामग्री अर्पण गरी पूजा आराधना गर्ने भन्ने कुराको विशेष ख्याल राख्नुपर्दछ । वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैं घरमा विधिपूर्वक दीप, कलश स्थापना गरी षोडशोपचारले पूजा हुने गर्दछ । सोही कलशमा महाकाली, महालक्ष्मी, महासरस्वती दुर्गा भगवतीको षोडशोपचारले आह्वान पूजन हुने गर्दछ । यसरी पूजन पश्चात् सप्तधान्य छर्नु पर्दछ । भगवती दूर्गा देवीका विभिन्न उपासना मन्त्रले आह्वान पूजन गरी दुर्गा सप्तशतीको पाठ पारायण नित्य गर्नु पर्दछ ।
१. पहिलो दिन
घटस्थापना नवरात्रको पहिलो दिन हो । यस दिन शैलपुत्री देवीको पूजा आराधना गरिन्छ । दशैं घर वा पूजा कोठामा मकै, गहुँ, जौं आदि अन्नको बीज छरेर घटस्थापना गरिन्छ । यसलाई सप्तधान्य पनि भनिन्छ । गाईको घ्यूबाट बनाइएका परिकार चढाएर शैलपुत्रीको पूजा आराधना गरेमा लामो आयु हुने, दीर्घ रोगबाट बच्न सकिने र आरोग्य प्राप्त हुने धर्म शास्त्रमा उल्लेख छ ।
नवरात्रीको शुरुवात आजबाट भयो, अब हरेक विहान देशका सम्पूर्ण नव दुर्गा भगवतिका शक्तिपिठहरुमा श्रद्धालुहरुको भिड हुन्छ । विहान विहान जमराको पुजापाठ गर्ने गर्नुपर्दछ अनि दशमीको दिन चामल, रातो अविर, दहि अथवा केरा मिश्रीत अक्षता टीकाले निधार भरेर जमरा ग्रहण गरी आफ्ना मान्यजनहरूबाट प्राप्त आशिषले जीवनमा खुशीयालि प्राप्त गरिन्छ ।
जमराको मात्रा अर्थात् कति जमरा छर्ने भन्ने कुराचाँही परिवारको संख्या अनुसार निर्धारण गरिन्छ, संयुक्त परिवारहरुले निकै ठुलो ठाँउमा जमरा छर्ने गर्दछन् भने परिवारको सदस्य संख्या कम भएको परिवारहरूले सानो ठाउँमा जमरा छर्ने कार्य गर्दछन् । यसरी छरिने जमरालाई माटोको चर्तुभूज आकारको बिच भागमा भने माटो या तामाको कलश स्थापना गरेर राखिन्छ । दशमीको दिन भने आवश्यकता अनुसार जमरालाई उखेलेर टिका लगाउन चाहिए जति झिक्ने गरिन्छ । यहि जमरा, टिका अनि सद्भावले दशैंको रौनकता बढाउँदछ, प्रत्येक मुहारमा दशैंको आकर्षणको वास्तविक चित्र कोर्ने गर्दछ ।
दशैंको जमरा राख्ने चलन भने ठाउँ अनुसारको फरक फरक छ । कतै सामूहिक रुपमा दशैंघर स्थापना गरेर, गुठीमा या शक्तिपिठ अनि मठमन्दिरमा जमरा राखिन्छ अथवा व्यक्तिगत रूपमा आफ्नै घरको पूजाकक्षमा या घरको अन्य कुनै सफा ठाउँमा जमरा राख्ने गरिन्छ । जमरा राख्दा त्यस्तो कोठा छनौट गरिन्छ जसमा प्रकाश राम्ररी छिर्न नपाओस्, यसरी प्रकाश नपरेका जमराका वालाहरू पहेँला हुन्छन । घटस्थापनाबाट प्रारम्भ हुने दशैंको नवरात्र भनेको जमराको ९ दिने जीवन र दैनिक अङ्कुरणको प्रक्रिया पनि हो । जौको दाना भित्र रहेको जीवनशक्तिलाई जमराले उजागर गर्दछ र माटोले पोषण गर्दछ ।
१६ औ शताब्दिका राजा महेन्द्र मल्लले निर्माण गरेको बसन्तपुर दरबार क्षेत्रमा अवस्थित तलेजु भवानीको मन्दिरमा रहेको दशैंघरमा गोर्खाबाट ल्याइएको फूलपातीहरु फूलपातीकै दिन भित्राइन्छ । यसरी भित्र्याइँदै आएको फूलपातीको जमरा पनि आजैका दिन विधिपूर्वक गोर्खामा छरिने चलन रहिआएको छ । उहिले धेरै अघि अहिले जस्तो यातायातको सहज सुबिधा नभएको बेला भने गोर्खाबाट आबुखैरेनीसम्म हरेक एक एक किलोमिटरमा सरकारी कर्मचारीहरु उभ्याउन लगाई एउटा कर्मचारीले एक किलोमिटर पार गरी अर्कोलाई हस्तान्तरण गर्ने र अर्को सोही अनुरूप अर्को एक किलोमिटरको दुरीमा भएकोलाई हस्तान्तरण गरेर रितपूर्वक फूलपातीलाई रिले दौडजस्तै गरि मानव साङ्गलो निर्माण गरेर आबुखैरैनीसम्म फूलपातीलाई ल्याइन्थ्यो । आबुखैरेनीदेखि भने गाडीमा राखेर काठमाण्डौसम्म ल्याइन्थ्यो । यसरी ल्याइएको जमरालाई काठमाण्डौको जमलसम्म गाडीमा ल्याएर त्यसपश्चात् तलेजु भवानीको मन्दिरमा अवस्थित दशैंघरसम्म पारम्परीक बाजागाजा सहित भित्र्याउने गरिन्छ । गोर्खाबाट ल्याइएको फूलपाती कुनैपनि अवस्थामा चौबिस घण्टा नबित्दै काठमाडौ ल्याइपुर्याउनुपर्ने मान्यता समेत रहेको छ ।
लमजुङ्गको मोरियाकोटमा स्थानियवासीहरुले राइनासकोटको तल्लो भेगलाई (धमलिकुवा र गरमवेशीका केही स्थानिय भेगहरु) परिक्रमा गर्दै तल रहेको दूधपोखरी खोला र मस्र्याङ्गदीको दोभानमा गई नुहाई–धुवाई गरी चोखो कुबिण्डो तथा अन्य मौसमी फलफूलहरु लगायत फूलपाती बोकेर राइनासकोट स्थित राष्ट्रिय विभूति वीर सिपाही भक्तिथापाको मन्दिरमा फूलपाती ल्याएर पूजाआजा गर्ने गरिन्छ । स्मरणीय रहोस् उक्त मन्दिर कुनैपनि देशभक्त सीपाहीको नाममा स्थापित देशकै एक्लो मन्दिर हो । राइनासकोट एउटा अत्यन्त सुन्दर र मनमोहक दृश्यहरु भएको लमजुङ जिल्लाको पर्यटकिय स्थल हो जहाँबाट १५ वटा जिल्ला देखिन्छ । यस ठाउँमा दशैं लगायत शिवरात्रीमा पनि दर्शनार्थीहरुको विशेष भिड रहन्छ । यस बाहेक मेची देखि महाकालीसम्मका सम्पूर्ण शक्तिपिठहरु र कालीमाताको मन्दिरमा प्रातः कालदेखिनै मेला लाग्ने गर्दछ ।
सभ्यताको प्रक्रियालाई अनि इतिहासलाई हेर्दा मानवले जंगली यूगको समाप्तीसंगै ब्यवस्थितरुपमा कृषि गर्न थालेको पहिलो अन्न नै जौ हो । ठूूलाठूला नदिको किनारामा भएको यो मानव सभ्यता प्रक्रियाको उत्खनन् र अन्वेषण गर्दा मिश्रदेशहरु अनि चिनमा पनि हजारौं वर्ष पुराना जौको अवशेष भेटिएका छन् । संसारभरिनै जौलाई धेरै पुरानो अन्नका रुपमा विशेष महत्वका रूपमा हेरिन्छ । हाम्रा सनातन संस्कारहरु जौ, तुलसी, कुश र तिलबिना संकल्पित र पूर्ण हुन सक्दैनन् । नेवारी भाषामा भने जौ लाई तःछो भनिन्छ भने अंग्रेजीमा बार्ली भनिन्छ । जौको पौष्टिक्ता निर्विकल्प छ, टिभी रेडियोमा आउने विज्ञापनहरूमा धेरै पौष्टिक भनिएका आयातीत महँगा खानेकुराहरुमा पनि जौको मात्रा देखाएर नै प्रचार प्रसार हुने गर्दछ । यसमा ऐण्टिअक्सिडेन्ट र विटाक्यारोटीन लगायतका तत्वहरु पाइन्छ ।
यहि जौको अंकुरणलाई शिरमा राखेर टिका थाप्ने संस्कारले हरेक नेपालीहरुलाई सद्भाव, सदाचार, समृद्धी सहितको दुर्गा भवानीको शक्ति प्राप्त होस् र जसरी छरिएको जमरा विस्तारै अंकुरण हुँदैजान्छ त्यो प्रक्रियामा पहिले जरा माटोतर्फ बढ्न थाल्दछ अनि जरा पलाएपछि विस्तारै जमराका पातहरु माथि माथि बढ्न थाल्छ । त्यसैगरि शायद प्रकृतिले पनि हामीले हाम्रो जरा अर्थात् संस्कार, परम्परा र मानवीय आधारहरुका बारेमा जानकारी दिएको पनि हुनसक्छ । बिरुवाहरु जतिसुकै ठूला, अग्ला र मोटा भएपनि, उनिहरुको हाँगाले आकाशै छुन खोजेतापनि जराभने माटोमै हुन्छ । अर्थात् हामीले जतिसुकै परिवर्तन या प्रगति गरेर आकाशै छोए पनि हाम्रो बहुमूल्य मौलिक संस्कार र परम्पराको जग भने बिर्सन हुँदेन भन्ने महत्व दर्शाउँदछ ।
२. दोस्रो दिन
दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा गरिन्छ । कुनै पनि प्रकारको बन्धनबाट मुक्ति पाउनका लागि सख्खर चढाई ब्रहृमचारिणी माताको पूजा आराधना तथा दान गरेमा हरेक प्रकारको अनिष्ट नाश हुने बताइएको छ ।
३. तेस्रो दिन
तेस्रो दिन चन्द्रघण्टाको पूजा आराधना गरिन्छ । दुःख कष्टबाट मुक्तिका लागि गाईको दूधबाट बनाइएका विभिन्न परिकारका प्रसाद भोग लगाउने तथा दान गरेर माता चन्द्रघण्टाको पूजा गरेमा माताको आशिर्वाद हामी माथि सधैंभरि रहन्छ ।
४. चौथो दिन
चतुर्थी तिथिका दिन माता कुष्माण्डाको पूजा आराधना गरेमा ज्ञान र बुद्धि प्राप्त हुन्छ । साथै कुनैपनि प्रकारका वाणीमा दोष छ भने उक्त तिथिमा मालपुवा अर्पण गरी पूजा गरेमा र मालपूवा दान गरेमा शुभ हुनेछ ।
५. पाँचौ दिन
पञ्चमी तिथिका दिन स्कन्धमाताको पूजा आराधना गरिन्छ । स्कन्धमाताको पूजा गरेमा व्यापार व्यवसायबाट सफलता तथा राज्यबाट पाउने सेवा तथा सुविधामा वृद्धिका साथै रोजगारीका लागि पनि राम्रो हुने छ । यस दिनमा केराको भोग लगाएर पूजा आराधना गरेमा सफलता मिल्ने बताइएको छ ।
६. छैटौँ दिन
आकर्षण सुन्दरताका साथै मनले चाहेको व्यक्ति प्राप्तिका लागि नवरात्रीको छैटौं दिन कात्यायनी माताको पूजा आराधना गर्नुपर्दछ । यदि घरमा कुनै अविवाहित व्यक्ति हुनुहुन्छ भने र विवाहमा बाधा अवरोध परेको छ भने मह चढाएर माता कात्यायनीको पूजा आराधना गरेमा कार्यसिद्धि हुने छ ।
७. सातौँ दिन
नवरात्रको सातौं दिन अर्थात् सप्तमीमा पूजा कोठा वा दशैं घरमा फूलपाती भित्र्याउने चलन छ । यस दिन कालरात्रि भगवतीको पूजा गरिन्छ । कुनै पनि प्रकारका मुद्दा मामिला तथा दुर्घटनाबाट छुटकारा पाउनका लागि सप्तमी तिथिका दिन कालरात्रि भगवतीको पूजाबाट सम्पूर्ण कष्ट नाश हुने छ । कुनै पनि प्रकारका आकस्मिक विपत्तिबाट रक्षाको लागि यदि सख्खर दान गरेमा बाधा अड्चन नआउने शास्त्रमा बताइएको छ ।
८. आठौँ दिन
महागौरी भगवतीको घटस्थापनाको आठौँ दिन पूजा तथा आराधना गर्नुपर्दछ । यस दिन महागौरीको पूजा आराधना गरेमा सन्तान सुख मिल्ने कुरा शास्त्रमा उल्लेख गरिएको छ । महागौरी भगवतीलाई नरिवल अर्पण गरेमा सम्पूर्ण सुख शान्ति प्राप्ति हुने कुरा पनि बताइएको छ ।
९. नवौं दिन
घटस्थापनाको नवौं दिन अर्थात् नवमी तिथिका दिन सिद्धिदात्री भगवतीको पूजा आराधना गर्नुपर्दछ । घ्यू चढाएर सिद्धिदात्रीको पूजा आराधना गरेमा अकाल मृत्युबाट बच्ने र कुनै पनि प्रकारका नराम्रा समाचार सुन्न नपर्ने शास्त्रमा उल्लेख छ ।
१० दशौं दिन
जमरालाई सप्तधान्य भनिन्छ । जमरा क्रमशः बढ्दै जति राम्रा हुन्छन् त्यति भगवती प्रशन्न हुनुहुन्छ भन्ने धार्मिक मान्यता रहेको छ । सप्तधान्य अंकुर दुर्गादेवीको प्रिय भएकाले सप्तधान्य रोपण गरी दूर्गा देवीलाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।
स्थानअनुसार टीका लगाइदिने व्यक्ति दक्षिणतर्फ फर्किने र टीका थाप्ने व्यक्ति पूर्वतर्फ फर्किने गर्नुपर्दछ । अथवा टीका थाप्ने व्यक्ति दाहिने चन्द्रमा पारी टीका थाप्न बस्नुपर्दछ । आमा–बुवा, गुरु तथा मान्यजनहरुबाट देवीको प्रसादस्वरुप रातो टीका र जमरा ग्रहण गर्ने तथा आशिर्वाद ग्रहण गर्ने चलन छ ।