चौथो झापा गोल्डकपको उपाधि आर्मीलाई

रिपोर्ट नेपाल | 2019 Mar 11 | 06:29 pm 1601

विर्तामोड,  फागुन  २७ :  चौथो झापा गोल्डकपको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लले  हात पारेको छ । आज सोमबार भएको फाइनल खेलमा आयोजक मगमग झापा- ११ लाई ५-३ ले पराजित गर्दै झापा गोल्डकपको उपाधि आर्मीले हात पारेको हो ।

आर्मीलाई उपाधि दिलाउनका लागि फरवार्ड सन्तोष तामाङको दुई, भरत खवास, नवयुग श्रेष्ठले र टेकबहादुर बुढाथोकी एक-एक गोल गरे । खेल शुरु भएको २३ औं मिनेटमा सन्तोष तामाङको गोल गर्दै आर्मीलाई अग्रता दिलाएको थियो । उनले फ्रिकिक प्रहारबाट सिधै गोल गरेका थिए ।

त्यसको १० मिनेटमा नै कप्तान भरत खवासले गोल गर्दै आर्मीले अग्रता दोब्बर बनायाे। भरतले नवयुगको पासलाई सदुपयोग गर्दै गोल गरे । ४३ औँ मिनेटमा झापाका लागि विदेशी फरवार्ड फ्रान्ससले एक गोल फर्काए ।

पहिलो हाफमा एक गोलले पछि परेको झापाले दोस्रो हाफको शुरुवातीमै गाेल गर्दै खेल बराबरीमा ल्यायाे ।  झापालाई बराबरीमा ल्याउनका  लागि योगेश गुरुङले गोल गरे ।

नवयुग श्रेष्ठले ७५ औं मिनेटमा गोल गर्दा आर्मीले पुन: एक गोलको अग्रता बनायाे ।  त्यसको केहिबेरमा नै सन्तोषले व्यक्तिगत दोस्रो र टिमकाे लागि तेस्रो गोल गरे ।

इन्ज्युरी समयमा टेकबहादुर बुढाथोकीले गोल गर्दै आर्मीले जित पक्का गरे । अन्तिम समयमा झापाका भिक्टरले गोल फर्काएपनि खेलको नतिजा बदल्न त्यो गोल पर्याप्त रहेन ।

उपाधिसँगै आर्मीले १२ लाख ५५ हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता झापाले ६ लाख रुपैयाँमा चित्त बुझाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.