इटालीमा लगनगाँठो कस्‍ने तयारीमा दीपिका-रणवीर

रिपोर्ट नेपाल | 2018 Aug 16 | 12:35 pm 3396

मुम्बई, साउन ३१: बलिउडका हिट जोडीहरू धमाधम वैवाहिक जीवनमा बाँधिइरहेका छन्। अनुष्का शर्मा-विराट कोहली, सोनम कपुर–आनन्द अहुजापछि यो सूचीमा प्रियंका चोपडा र निक जोन्स तथा दीपिका पादुकोण र रणवीर सिंहको नाम पनि दर्ता हुँदैछ। दीपिका-रणवीर र प्रियंका-निकको विवाह हालका दिनमा चर्चाको विषय बनेको छ।

दीपिका र रणवीरले आफ्नो विवाहको मिति पनि करिब निश्चित गरिसकेका छन् । वर्षको सुरुवातदेखि नै दीपिका र रणवीरको विवाहको विषयले बलिउड तातेको थियो । समाचार अनुसार यो जोडी आगामी नोभेम्बर २० मा वैवाहिक जीवनमा बाँधिदैछ।

बलिउड अभिनेता कबीर वेदीले आफ्नो ट्विटर एकाउन्टबाट दीपिका र रणवीरलाई विवाहको बधाई दिँदै एउटा सन्देश पोस्ट गरेका छन् जसले दुवैको विवाह र विवाह हुने स्थानको बारेमा जानकारी दिएको छ। ‘सुन्दर जोडी र इटलीमा सुन्दर लोकेशन । सानदार इभेन्ट हुनेछ । रणवीर र दीपिकालाई धेरै बधाई । यी दुईलाई जिन्दगीभर खुशियाली मिलोस्,’कबीरले ट्विटेका छन्।

कबीरको ट्विट पछि नै रणवीर र दीपिकाको चाँडै नै विवाह हुन लागेको खबर सार्वजनिक भएको हो । कबीरले उनीहरूको विवाह हुँदै गरेको खबर सार्वजनिक गरे पनि दीपिका–रणवीर वा उनीहरुको परिवारको तर्फबाट कुनै पनि आधिकारिक धारणा आइसकेको छैन।

समाचार अनुसार विवाहको विषयलाई लिएर रणवीर र दीपिका उत्साहित छन् । श्रीलंका घुम्न गएको समयमा यो जोडीले इन्गेजमेन्ट गरेका थिए । उनीहरूको विवाह समारोहमा विशेष मित्र तथा परिवारजन मात्र सहभागी हुनेछन् । उनीहरुको विवाह इटलीको लेक कोमोमा हुनेछ । विवाहलाई गोप्य राख्न ३० जना मात्र विवाह समारोहमा सहभागिता गराउने योजना दीपिका र रणवीरको छ।

अनुष्का र विराटको जस्तै रणवीर र दीपिका भारत आएपछि दुई रिसेप्सन राख्नेछन् । एउटा रिसेप्सन दीपिकाको गृहनगर बेंगलुरु र अर्को रिसेप्सन बलिउड सेलिब्रेटीका लागि मुम्बईमा हुनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.