काठमाडौँ, असर ३ — विश्वकप लिग २ र त्यसमा पनि विशेष गरी घरेलु मैदानमा देखाएको उत्कृष्ट प्रदर्शनलाई विश्वकप छनोट क्रिकेटमा उतार्न नेपाल आतुर रहेको छ । नेपालले जिम्बावेमा आइतबार सुरु हुने विश्वकप छनोटको पहिलो खेलमै घरेलु टोलीको सामना गर्ने छ ।
यसै वर्ष अक्टोबर–नोभेम्बरमा भारतमा हुने विश्वकपका लागि छनोट आधार रहेको प्रतियोगितामा नेपाल समावेश समूह ‘ए’ मा टेस्ट राष्ट्रद्वय वेस्ट इन्डिज र जिम्बावेसहित नेदरल्यान्ड्स र अमेरिका छन् । त्यस्तै श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र यूएई समूह ‘बी’ मा छन् । समूहका शीर्ष ३ टोली सुपर लिगमा पुग्नेछन् । त्यसबाट शीर्ष दुई टोली फाइनल पुग्दै भारतमा हुने विश्वकपलाई छानिने छन् ।
‘मैले अरू टिमलाई सम्मान गर्न नखोजेको होइन तर हामी अमेरिका, नेपाल, स्कटल्यान्डसहितका राष्ट्रसँग खेल्न गइरहेका छौं,’ हुपरले क्रिकइन्फोमा भनेका छन् । नेपालले वेस्ट इन्डिजसँग बिहीबार खेल्ने छ । नेपालले पहिलो पटक वेष्ट इन्डिजसँग खेल्न लागेको हो ।
तर, नेपालको ध्यान अहिले आइतबार हुने जिम्बावेसँगको खेलमै छ । नेपालले पहिलोपल्ट एकदिवसीय अन्तर्राष्ट्रियमा टेस्ट राष्ट्रसँग खेल्न लागेको हो । नेपालले चार वर्षअघि जिम्बावेमै भएको विश्वकप छनोटमा पनि घरेलु टोलीसँग खेलेको थियो । तर, नेपालसँग त्यतिखेर एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता थिएन । १० राष्ट्र सहभागी जिम्बावेको त्यही प्रतियोगितामा आठौं हुँदै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त गरेको थियो ।
चार वर्षअघि नेपालबारे जिम्बावे अपरिचितजस्तै थियो । अहिले स्थिति फरक छ । दुवै टोली एकअर्काका बारेमा जानकार छन् । टोलीका प्रमुख खेलाडी सिकन्दर राजा र रायन बर्लले नेपाल आएर विभिन्न फ्रेन्चाइज लिग खेलिसकेका छन् । पछिल्लो पटक राजाले निकै विवादास्पद नेपाल टी–२० लिगमा रोहित पौडेलसँगै विराटनगर सुपर किंग्स र बर्लले ज्ञानेन्द्र मल्लको कप्तानीमा काठमाडौं किंग्सबाट खेलेका थिए ।
जिम्बावे टोलीमा राजाको प्रभुत्व छ । उनले पछिल्ला १४ खेलमा जिम्बावेबाट ४८.४५ को औसतमा सर्वाधिक ५ सय ३३ रन बनाउनुका साथै सर्वाधिक १३ विकेट लिएका छन् । त्यस्तै इन्नोसेन्ट काइआले १२ एकदिवसीय अन्तर्राष्ट्रियमा २ सय ७८ रन र सिन विलियम्सले ७ खेलमा २ सय ३७ रन बनाएका छन् । वेस्ली माधेभेरे जिम्बावेका अर्का प्रमुख खेलाडी हुन् । तीन वर्षअगाडि सेतो बलको क्रिकेटमा ‘डेब्यु’ गरेयता उनले १२ अर्धशतक बनाइसकेका छन् । एकदिवसीय अन्तर्राष्ट्रियमा उनले २९ खेलमा ५ सय ९७ रन जोडिसकेका छन् । अलराउन्डर उनले यसै वर्ष नेदरल्यान्ड्सविरुद्धह्याट्रिक विकेट लिएका थिए ।
‘प्रतियोगिताका लागि हाम्रो तयारी राम्रो भएको छ । केही उत्कृष्ट क्रिकेट अब आउने दिनमा देखिने छ । सिकन्दर राजा, ब्लेसिङ मुजाराबानी, सिन विलियम्सजस्ता खेलाडी उत्कृष्ट लयमा छन् । यो उत्कृष्ट प्रतियोगिता हुनेछ,’ जिम्बावेका कप्तान इर्भिनले आईसीसीसँग भनेका छन् । सन् २०१० मा भारतविरुद्ध बुलावायोमा एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो ‘डेब्यु’ गरेका ३७ वर्षे उनले १ सय १० एकदिवसीय र २० टेस्ट खेलिसकेका छन् ।
भीम सार्कीको आगमनपछि नेपालको मध्यपंक्ति मजबुत हुँदै आएको छ । उनले पछिल्ला ८ खेलमा ४७.८३ को औसतमा २ सय ८७ रन बनाइसकेका छन् । त्यस्तै आसिफ शेखले १० खेलमा ४० माथिको औसतमा ३ सय २४ रन बनाइसकेका छन् । कुशल भुर्तेलले ओमानविरुद्धको पछिल्लो अभ्यास खेलमा शतक नै बनाएका थिए । नेपालले ओमानसँगको अभ्यास खेलमा २ विकेटको विजय हात पारे पनि त्यसअघि दक्षिण अफ्रिकामा खेलिएको दुई अभ्यास खेलमा क्रमशः स्कटल्यान्डसँग ७ र नेदरल्यान्ड्ससँग ५ विकेटको हार बेहोरेको थियो । जिम्बावे आएर ओमानसँग खेल्नुअघि नेपाललाई मंगलबार आधकारिक पहिलो अभ्यास खेलमा यूएईले ३ विकेटले स्तब्ध पारेको थियो ।
नेपालका कप्तान रोहित पौडेलले भने, ‘दुई वर्षदेखि हामीले यो प्रतियोगिताका लागि निकै मिहिनेत गरिरहेका छौं र अन्ततः हामीले यो अवसर पाएका छौं । हामी यस अवसरप्रति सम्मान गर्छौं र यसको अधिकतम प्रयोग गर्न चाहन्छौं । केही राम्रा क्रिकेट राष्ट्रविरुद्ध खेल्नलाई लिएर हामी निकै उत्साही छौं र यसको पर्खाइमा छौं ।’
भारतका मोन्टी देसाई प्रशिक्षक भएर आएयता नेपालले अविश्वसनीय प्रदर्शन गर्दै आएको छ । लिग २ मा नेपालले १२ मध्ये ११ खेल जितेर लिग २ को शीर्ष ३ टोली बन्दै जिम्बावेको यात्रा गर्न सफल भएको थियो । त्यसमध्ये कीर्तिपुरमा भएका सबै ८ खेल नेपालले जितेको थियो । त्यसपछि नेपालले एसीसी प्रिमियर कप अपराजित रही एसिया कपका लागि छनोट भएको थियो ।
देसाईको ‘वान बल ब्याटल’ र ‘ह्याप्पी ड्रेसिङ रुम’ सिद्धान्तले नेपाली क्रिकेटमा सकारात्मक परिवर्तन ल्याएको छ । टेस्ट राष्ट्रसँग एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो पटक खेल्न पाइरहेको पृष्ठभूमि र एसोसिएट राष्ट्रको पनि सबैभन्दा ठूलो प्रतियोगितामा देसाई र नेपाली टोलीको पनि असली परीक्षा हुनेछ । ‘हामी सबैसँग एक आदर्श क्रिकेट जीवनको चित्रण गर्ने छवि छ, म पनि त्यसमा फरक छैन । हाल नेपालमा यस्तो सिर्जनाको हिस्सा हुन लगानी गरिएको छ । हामीसँग एउटा सपना छ, दर्शन छ, ठूलो कुराको चाहना छ,’ युवा सपना ह्यासट्यागसहित प्रशिक्षक देसाईले दुई दिनअघि ट्वीट गरेका थिए ।
जिम्बावेबाट वेस्ट इन्डिज र श्रीलंकाले विश्वकपको टिकट काट्ने धेरैको अनुमान छ । त्यसपछिको दाबेदारमा जिम्बावे र अर्को टेस्ट राष्ट्र आयरल्यान्डको नाम आउँछ । त्यसको अलिक मुनि स्कटल्यान्ड र नेदरल्यान्ड्स अनि मात्र नेपालसहितका अन्य एसोसिएट राष्ट्रको सम्भावनाबारेमा चर्चा गरिएको छ । असम्भव केही छैन, नेपालीटोलीले पछिल्लो ५ महिनामा असम्भव केही नरहेको देखाइसकेको छ । (कान्तिपुरबाट)