बजेट भाषण हुँदा पनि छुटेनन् नयाँ सवारी

रिपोर्ट नेपाल | 2023 May 30 | 07:35 am 1341

वीरगन्ज, जेठ १६ः बजेट भाषणको पूर्व सन्ध्यामा भन्सार यार्डसम्म आइपुगेका धेरै नयाँ सवारी छुट्ने र भन्सारको राजस्वसमेत बढ्ने अपेक्षा यसपटक पूरा हुन सकेन । मुलुकको प्रमुख भन्सार नाका वीरगन्ज आईसीपी यार्डमा थुप्रिएका धेरै नयाँ सवारी भन्सार जाँच पास भई छुट्न नसक्दा भन्सारको त्यो अपेक्षा पूरा हुन नसकेको हो ।

सोमबार बजेट भाषण भए पनि आइतबारसम्म पनि अपेक्षाकृत रूपमा नयाँ सवारी नछुटेको वीरगन्ज भन्सार कार्यालयका प्रमुख प्रशासक डिलाराम पन्थीले जनाएका हुन् । देशको आर्थिक अवस्था ओरालोतर्फ लागिरहेको समयमा नयाँ सवारीसाधन भन्सार जाँचपास हुन नसक्दा त्यसको चाप थेग्न वीरगन्ज भन्सार कार्यालय मातहत आईसीपी यार्डलाई हम्मेहम्मे परेको खुलेको छ ।

छिमेकी तथा तेस्रो मुलुकबाट आयात गरिएका मालवस्तु लिएर आउने मालवाहक सवारीसहित आइतबार मात्र वीरगन्ज भन्सार यार्डमा नयाँ सवारीसाधनको संख्या २ हजार ३ सय पुगिसकेको पाइएको छ । अहिले यो यार्डले ती सवारी संख्याको भार थेगिरहेको छ । मालवाहक र नयाँ सवारीसाधनको चापले वीरगन्ज भन्सार कार्यालय मातहतको संयुक्त भन्सार जाँच चौकी (आईसीपी) यार्ड अहिले खचाखच भरिएको आईसीपीको व्यवस्थापन हेरिरहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । उच्च तथा मध्यम घरानाले अत्यधिक प्रयोग गर्ने निजी प्रयोजनका सवारीसाधन आयात भए पनि भन्सारबाट छुट्न भने नसकेको वीरगन्जको आईसीपीमा खटेका कर्मचारीले पनि बताए ।

मुलुकमा आर्थिक मन्दीसँगै जाँचपास भई भन्सारबाट छुट्न नसकेका नयाँ सवारीसाधन वीरगन्ज भन्सारको आईसीपी यार्डभित्र खुला आकाशमुनि मधेसको घामपानीका रमिते जस्ता भएका छन् । यो भन्सारको आईसीपी यार्ड नै हाउसफुल हुनेगरी भरिएका नयाँ सवारीसाधन १ हजार ७ सय रहेको आईसीपीको व्यवस्थापन हेरिरहेको टीआरएस हिमालयन लोजिपार्ड प्रालिले तथ्यांक उपलब्ध गराएको छ ।

आईसीपी र नजिकै रहेको सुख्खा बन्दरगाहको पनि व्यवस्थापन हेरिरहेको नेपाल सरकार मातहतको इन्टरमोडल यातायात विकास समितिले पनि नयाँ सवारी चाप खासै नघटेको जनाएको छ । पछिल्ला पाँच महिनाको तुलनामा अहिले पनि उस्तै तथ्यांक रहेको इन्टरमोडल यातायात विकास समिति वीरगन्जका प्रमुख कमल ज्ञवालीले राजधानी दैनिकसँग बताए ।

गएको पुस अन्तिम साता पनि नयाँ सवारीको संख्या २ हजारकै हाराहारीमा थियो अहिले पनि त्यो संख्या खासै ओरालो लाग्न नसकेको उनको भनाइ छ । नयाँ सवारी आउने र भन्सार जाँचपास भई समयमा नै नछुट्ने कारण यसको प्रत्यक्ष असर वीरगन्ज भन्सारको राजस्व संकलनमा पनि परेको वीरगन्ज भन्सारका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले बताए ।

बैंकले निजी प्रयोगकर्तालाई लगानी नगरेको र सोरुमले पनि पनि आफूसँग राख्ने ठाउँ नभएको भनी भन्सारबाट नयाँ सवारी नछुटाउँदा भन्सार यार्ड बजेट भाषणको समयमा पनि खाली नभएको उनको तर्क छ । मुख्य गरी बजारमा डिमान्ड नै नभएकाले सोरुमहरूले पनि आफ्नो पैसा फसाएर नयाँ सवारी भन्सारबाट नछुटाएको वीरगन्ज भन्सारका प्रमुख भन्सार प्रशासक पन्थीले बताए ।

फलतः अन्यत्रका सरकारी कार्यालयले झैं समयमा नै चुस्त सेवा प्रदान गरेनन् भनी सेवाग्राहीको गुनासो वीरगन्ज भन्सारले सुन्न परेको छैन । बरु अन्यत्रका सेवा प्रदायक कार्यालयसँग सेवा लिन कुरेर बसेका सेवाग्राहीझैं यहाँ भने उल्टो सेवा प्रदायक कार्यालय ‘वीरगन्ज भन्सार’ नै सेवाग्राही कुरेर बसेको छ । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.