– कृष्णप्रसाद सापकोटा
महत्वपूर्ण गोष्ठीमा सहभागी हुने उद्देश्यले पूर्वनिर्धारित कार्यक्रमअनुसार विदेश उड्न लागेका एक विश्वविद्यालयका उपकुलपतिलाई एयरपोर्टबाट फर्काएर प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा अपमान गरी घर पठाएको चर्चा उत्कर्षमा रहेकै बेला कुनै निकायलाई पनि जानकारी नगराई काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सुटुक्क जापान भ्रमणमा निस्किए । प्रधानमन्त्रीका सालो नाता पर्ने भनी चर्चामा आएका मेयर शाक्यको विदेशयात्रा सम्बन्धमा बालुवाटारको टाउको किन दुखेन भनी जिज्ञासायुक्त चासो शुरु भयो । तर, आमनागरिकको यस्तो चासोप्रति प्रधानमन्त्री ओलीले सरोकार राखेनन् । उनको विदेश भ्रमणबारे महानगर र संघीय मामिला मन्त्रालयले समेत अनभिज्ञता प्रकट गरेर मिडियाजगतलाई नै रनभुल्ल पारिदियो ।
‘उपकुलपति त काङ्ग्रेसनिकटका व्यक्ति थिए र पो उड्नका निम्ति बोर्डिङ पास लिएर पनि घरतिरै घोक्र्याइएका थिए, मेयर शाक्य त नेकपाका हुन्, त्यसमाथि केपीका नाताभित्रैका, अनि किन रोकटोक हुन्थ्यो त ?’– यस्तै–यस्तै टीका–टिप्पणी गरेर सर्वसाधारणले चित्त बुझाए ।
मुलुककै राजधानी काठमाडौं शहरका मेयर शाक्यले सय दिनमा एक सय एक काम गरी देखाउने भनी आम मतदातासामु बाचा गर्दा तमाम राजधानीवासी मात्र नभई सिङ्गै मुलुका जनताले ठानेका थिए– ‘अबचाहिँ केही हुने नै भयो ! हिलो, धुलो, धुवाँ हटेर काठमाडौं टल्किने भयो, सडक चिल्लिने भए, सुन्दर राजधानी देख्न पाएपछि मानिस जिल्लिने भए !’
उत्साहजनक मतले शाक्य मेयरमा विजयी हुँदा जनतामा जुन आशा र भरोसा जागेको थियो, आज त्यो सब पानीका फोकाझैँ फुटेका छन् । ठूलो सपना देखाउँदै आश्वासन बाँडेका मेयर शाक्यका बाचा पूरा नभएका मात्र होइनन्, उल्टै आफ्नै पार्टीको इज्जतसमेत उनले फालिदिएका छन् ।
तर, यसरी मिठो–मिठो कल्पना गर्दै सुखद परिणामको प्रतीक्षामा बसेका मतदाताले उल्टै यस्तो खबर सुन्नुपर्यो– ‘महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफ्ना लागि बिलासी गाडी किनेका छन् । मेयर शाक्यका लागि झण्डै १ करोड २० लाख मूल्यको टोयोटाको ‘फर्च्युनर’ गाडी काठमाडौं आइपुगेको छ ।’
यसरी उनले शानदार बिलासी गाडी खरिद गरेको प्रसङ्गभन्दा अगाडि नै महँगो मोबाइल खरिदको कुराले मिडिया तताइसकेको थियो ।
शाक्य काठमाडौं महानगरपालिकाको मेयरमा विजयी भएको मिति ०७४ जेठ १४ गतेबाट हिसाब गर्दा ठ्याम्मै सवा एक वर्ष पूरा हुँदैछ । विजयी बनेको तीन दिनपछि पदभार ग्रहण गर्ने क्रममा उनले छाती ठोक्दै सय दिनको कार्यकालमा एकसय एक काम गर्ने दोहोर्याएका थिए । किनकि, चुनावमा जाँदा नै उनले आफ्ना महत्वाकांक्षी एकसय एक बुँदा सार्वजनिक गरेका थिए । जसरी उत्साहजनक मतले शाक्य विजयी भएका थिए, उनी जित्दा जनतामा जुन आशा र भरोसा जागेको थियो, त्यो सब आज पानीका फोकाझैँ फुटेका छन् ।
ठूलो सपना देखाउँदै आश्वासन बाँडेका मेयर शाक्यका बाचा कुनै पूरा नभएका मात्र होइनन्, उल्टै उनले आफ्नै पार्टीको इज्जतसमेत फालिदिएका छन् । यतिबेला सर्वसाधारण जनता मात्र नभई नेकपाका नेता–कार्यकर्ता नै शाक्यको निकम्मापनका कारण आफूहरू लज्जित हुनुपरेको भन्दै गुनासो गरिरहेका भेटिन्छन् ।
मर्निङवाकमा जाँदा अब राजधानीवासीले नाक–मुख छोपेर जानुपर्ने छैन भन्ने मेयरको दाबीले यतिबेला उनैलाई गिज्याइरहेको छ । वर्ष दिन नाघिसक्दा धुलो, हिलो र सडकका खाल्डाखुल्डी पुर्नसम्म नसकेका मेयरबाट मोनो र मेट्रो रेलको अपेक्षा कसरी गर्ने ? मतदाता आफैं रनभुल्ल परेका छन् ।
शाक्यले मेयरमा उठ्नुअघि र निर्वाचित भएपछि सय दिनमै काठमाडौंलाई विश्वकै सुन्दर सहर बनाउने प्रतिबद्धता जनाएका थिए । चुनावी घोषणापत्रमा सुन्दर, सफा र समुन्नत काठमाडौं बनाउने आफ्नो योजना उनले मनमोहक ढंगमा पेस गरेका थिए । काठमाडौं महानगरलाई स्मार्ट सिटी बनाउँछु भन्दै ट्वीटरमा समेत लेखेका थिए । मोनो र मेट्रो रेलसम्मको काम गर्ने मेयर शाक्यका मूख्य प्रतिबद्धताहरूमा काठमाडौ स्मार्ट सिटिजन कार्ड’ कार्यक्रम लागू गर्न कार्यदल गठन गरी शीघ्र काम सुरु गर्ने, चौबिसघन्टे ‘जीवन्त सहर’को योजना बनाउने, महानगर मातहतका हरेक कार्यालयलाई आधुनिक, चुस्त, जनमैत्रीका साथै प्रविधिमैत्री तुल्याउने र महानगरपालिका भित्रका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रहरूमा द्रूतगतिको निःशुल्क वाइफाइ क्षेत्र बनाउने भन्ने थियो ।
यस्तै, महानगरपालिकाका सम्पूर्ण कार्यलाई भ्रष्टाचारमुक्त र पारदर्शी बनाउन इ–गभर्नेन्स प्रणाली सुरु गर्ने र सम्पूर्ण कार्यकक्षमा सिसिटिभी जडान गर्ने, ‘साइकल सिटी महानगर’को कार्ययोजना प्रारम्भ गर्ने, भित्री सहरको हरेक ५०० मिटरमा र बाहिरी शहरमा आवश्यकता अनुसार सार्वजनिक–निजी साझेदारीकोे ढाँचामा महिला, अपाङ्गता भएका व्यक्ति, वृद्ध, बालबालिकामैत्री, पब्लिक सर्भिस सेन्टर बनाउने प्रक्रिया अगाडि बढाउने अनि ‘सही समय सही ठाम, नो ट्राफिक जाम’को अभियान सुरु गर्ने मेयर शाक्यले उदघोष गरेका थिए ।
‘काठमाडौँ महानगर झिलिक्क : घरघर टिलिक्क’ अभियान थाल्ने, सरकारी सार्वजनिक भवनमा रंगरोगन गर्ने, ‘क्लिन द सिटी’ अभियानको प्रारम्भ धुँवाधूलो न्यून गरेर ‘नो माक्स सिटी’को अभियान सञ्चालन गर्ने, ज्येष्ठ नागरिकको सम्मान र संरक्षण गर्दै उनीहरूको ज्ञान, सीप एवं अनुभवलाई जीवन्त राख्न दिवा मनोरञ्जन केन्द्र, स्वास्थ्य क्लब, स्वास्थ्य केन्द्र, पुस्तकालय सहितको सुविधासम्पन्न भौतिक पूर्वाधारको व्यवस्था मिलाउने जस्ता प्रतिबद्धता अघिसार्दा आमतप्कामा खुशीको तरङ्ग पैदा भएको थियो ।
तर, आजका दिनसम्म आइपुग्दा उनका यस्ता घोषणा केवल घोषणामै सीमित बन्न पुगेका छन् । मेयर शाक्यले आफ्ना प्रतिबद्धतालाई चटक्कै भुलेका छन् । विना योजना गरिएको नमुना सहर बनाउने घोषणाले मेयर शाक्यलाई नै जिस्काउन थालेको छ भने चुनावी मैदानमा होमिदा काठमाडौंको धुलो नियन्त्रणलाई प्रमुख एजेन्डा बनाएका शाक्यका लागि घाम लाग्दा धुलो र पानी पर्दा हिलो राम्रै मजाकको माध्यम बनिरहेको हरेकले अनुभूति गरिरहेकै छन् । धुलो नियन्त्रणका लागि केही गर्न नसकेका मेयर शाक्य यतिबेला राजधानीको सडकका खाल्डाखुल्डीमा पोखरी जमेको, खाल्डोका कारण सवारी साधन दुर्घटनामा परेको, पैदल यात्रुले समेत सास्ती खेप्नुपरेको, विदेशी पर्यटकले गिज्याएको टुलुटुलु हेरेर ङिस्स हाँसिरहेका हुन्छन् । राजधानीवासीले अब मर्निङवाकमा जाँदा नाक–मुख छोपेर जानुपर्ने छैन भन्ने उनको दाबीले यतिबेला उनैलाई गिज्याइरहेको छ । वर्ष दिन नाघिसक्दा धुलो, हिलो र सडकका खाल्डाखुल्डी पुर्नसम्म नसकेका मेयरबाट मोनो र मेट्रो रेलको अपेक्षा गर्ने कि नगर्ने, अब उनका मतदाता आफैं रनभुल्ल र जिल्ल परेका छन् ।
यस्तो मेयर आजसम्म सम्भवतः काठमाडौंले पाएकै थिएन भनियो भने अतिरञ्जना ठहरिने छैन । कस्ता व्यक्तिलाई मेयर बनाइएछ भनी आज काठमाडौंका तमाम मतदाता आफैं लज्जाबोध गरिरहेका छन् भन्दा अत्युक्ति नहोला ।
मेयर शाक्य आफ्नो असक्षमताको दोष कहिले मिडियामाथि थोपर्छन् त कहिले आफ्नै उपमेयरले दुःख दिएको भन्दै दुनियाँ हँसाउँछन् । कहिले कर्मचारीले असयोग गरेको भन्दै चोखिन खोज्छन् भने कहिले विपक्षीमाथि खनिन खोज्छन् । अदालत र मन्त्रालयले ब्यवधान खडा गरिदिएको भन्न पनि भ्याउँछन् उनी बेला–बेलामा । मिडिया र जनताबाट टाढिएर रहन खोज्नु उनको चरित्र बन्न पुगेको छ । बल्ल–बल्ल मिडियासामु आइपुगे भने उनी अत्यन्तै लज्जास्पद रूपमा प्रस्तुत हुन्छन् । खुल्लमखुल्ला रूपमा उनी आफू कुनै सामाजिक सञ्जालसँग नजोडिएको बताउँछन् भने कुनै पत्रपत्रिका पनि नपढ्ने, पुस्तक अध्ययन नगर्ने जस्ता कुरा गर्वका साथ सुनाउँछन् । जतिबेला पनि मुसुमुसु हाँसिरहेका झैँ देखिने मेयरको अनुहार देख्दा पहिले–पहिले नागरिक रमाउँथे भने अब त्यही अनुहार हेर्दा झर्को मान्न थालेका छन् । मतदाता एवम् राजधानीवासीमा उत्पन्न भएको असन्तुष्टि र वितृष्णाको प्रमाण हो यो ।
आफू मेयर भएको शहरमा कति घर होलान्, जनसङ्ख्या कति छन् भन्ने जस्ता सवालको जवाफमा उनी केही थाहा नभएको भनी ङिच्च परेर टार्दछन् । आम मतदाताले निकै दुःख पाइरहेका छन् नि, के गर्दै हुनुहुन्छ ? भनी जिज्ञासा राख्दा मातहतका सहयोगीहरूले गर्दै होलान् भनेर पन्छिन्छन् । यस्तो मेयर आजसम्म सम्भवतः काठमाडौंले पाएकै थिएन भनियो भने अतिरञ्जना ठहरिने छैन । कस्ता व्यक्तिलाई मेयर बनाइएछ भनी आज काठमाडौंका तमाम मतदाता आफैं लज्जाबोध गरिरहेका छन् भन्दा अत्युक्ति नहोला ।
अब फेरि प्रश्न उठ्छ– ‘के यस्तै मेयरको भरमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देश नेपालको केन्द्रिय राजधानीले समयसुहाउँदो ढङ्गमा आफ्नो मुहार फेर्न सक्ला त ?’ यो प्रश्नको सकारात्मक जवाफ सुन्न पाइने दिन कहिले आउला ?