- नवीन राई
रोजगारीको सिलसिलामा नेपालीहरू दिन–प्रतिदिन विदेश जाने क्रम बढ्दो छ । वैदेशिक रोजगारीमा जाने प्रायः पुरुष नै छन् । महिलाहरू पनि वैदेशिक रोजगारीमा जान्छन् तर पुरुषको तुलनामा निकै कम ।
वैदेशिक रोजगारीले नेपालमा दैनिक एक अर्बभन्दा माथि रेमिटेन्स भित्रिन्छ । भनिन्छ– नेपाल रेमिटेन्सले नै धानेको छ । विदेश गएर नेपालमा रेमिटेन्स त भित्रिन्छ । तर त्यो सगँसँगै विकृति पनि फैलिँदै गएको छ ।
लामो समय होस् या छोटो समय वैदेशिक रोजगारीमा बसेका केही विवाहित महिला, पुरुषले स्वदेशमा रहेको आफ्नो परिवार बिर्सिएर पुनः विवाह गर्ने गरेको यथार्थ हाम्रै समाजमा छ । आफ्नो घर–परिवारलाई सुखमय बनाउनका लागि विदेशिएका कैयौँको घरबार नै उठिबास लागेको छ । परिवारको लालन–पालनका लागि विदेशिएकाले आफ्नो यथार्थ बिर्सिएका कारण आश्रित परिवारको बिचल्ली भइरहेको छ ।
पछिलो समय वैदेशिक रोजगारीले पारिवारिक विचलन तीव्र रूपमा ल्याएको पाइन्छ । बालबालिका आफ्ना अभिभावकको माया, स्याहार, संरक्षण, हेरचाहबाट वञ्चित भइरहेका छन् । जसले बालबालिकालाई भविष्यमा एक असल र सिर्जनशील वयस्कका रूपमा समाजमा स्थापित हुनेगरी हुर्किने वातावरणबाट अलग गराइरहेको हुन्छ । कैयौँ अभिभावकहरू सन्तानको मायाबाट वञ्चित हुनुपरेको छ । यसरी वैदेशिक रोजगारीको कारण सामाजिक विचलन पैदा हुँदै गएको छ ।
नेपालमा काम नै पाउन मुस्किल छ । पाइए पनि त्यसका लागि आवश्यक योग्यता, पहुँचको अभावमा धेरै युवा काम गर्नबाट वञ्चित हुन्छन् । जेनतेन पाइएको कामले पनि न्युन ज्याला, तलबका कारण दैनिक भातभान्साको आवश्यकता पूरा गर्न नै कठिन छ । एक्लो भएसम्म त युवाहरू जसोतसो नेपालमै बसेका हुन्छन् । जब विवाह बन्धनमा बधिन्छन्, उनीहरूका काँधमा थप जिम्मेवारी थपिन्छ । नेपालको जागिरले परिवार धान्न नसकेपछि युवाहरू वैदेशिक रोजगारीमा विदेशिन बाध्य हुन्छन् ।
सुखी परिवारको सपना देख्दै विदेशिएका युवाहरूका श्रीमती परपुरुषसँग लागेर धोका दिई जीवनभर पछताउनुपरेका उदाहरण हाम्रो समाजमा धेरै भेटिन्छन् । उता घरपरिवारकै सुखका लागि विदेशमा बसेर पसिना चुहाउँन्, यता आफ्नै घरबारको सत्यानाश भइरहेको हुन्छ । विवाह गरेर विदेशिने पुरुषहरू घर फर्किंदा घरमा स–साना छोराछोरीलाई छाडेर श्रीमती परपुरुषसँग गइसकेको देख्दा ती पुरुषको मनमा कति पीडा होला ? यसतर्फ कसैले सोचका छैनन् ।
श्रीमती मात्रै होइन, कैयौँका श्रीमान् पनि उस्तै हुन्छन् । आफ्नो घर–परिवारको खुसीका लागि विदेशिएका महिलाहरूको श्रीमान पनि परस्त्रीसँग लागेका र श्रीमतीलाई दिएका उदाहरणहरू पनि प्रशस्तै छन् । दुःखले कमाएर श्रीमतीले पठाएको पैसाले रातदिन भट्टी धाएका पनि हुन्छन् । मादक पदार्थ खाने, जुवातास खेल्ने र अनावश्यक ठाउँमा खर्च गर्ने, परस्त्रीसँग लागेर घरमा भएको स–साना बच्चाहरूको हेरचाह गर्दैनन् । श्रीमती विदेशबाट फर्कंदा श्रीमानले अर्कीसँगै बिहे गरिसकेका पनि देखिन्छन् ।
किन छुटिन्छन् नवविवाहित जोडी ?
नवविवाहित जोडी एकआपसमा नजिक हुन नपाउँदै छुट्टिएका उदाहरणहरू धेरै छन् । केही समयसम्म सामाजिक सञ्जालमार्फत सम्पर्कमा रहे पनि बिस्तारै विविध कारणले गर्दा टाढिन पुग्छन् । वैदेशिक रोजगारीमा गएका कुनै सहकर्मीहरूको श्रीमतीले नराम्रो कार्यव्यवहार गरेको थाहा पाउँदा अन्यले समेत सोही कुरालाई अनुमान गर्दै आफ्ना श्रीमतीलाई शङ्काको दृष्टिले हेर्ने गर्छन् ।
परिवारमा साझा सरोकारका विषय थुप्रै हुन्छन् जसमा श्रीमान–श्रीमतीको समझदारी आवश्यक हुन्छ । परिवारका अन्य सदस्यसँगको मेलमिलापलाई कायम राख्ने, छोराछोरीको स्याहार सुसार, शिक्षा दीक्षा, लेनदेन कारोबार, सामाजिक व्यवहार लगायत दैनिकीसँग जोडिएका कुरामा आपसी सरसल्लाह हुनुपर्छ । सरसल्लाह र एकले अर्कोलाई जानकारी गराउने परिपाटीले श्रीमान–श्रीमतीको सम्बन्धमा गाढापन ल्याउन मद्दत गर्छ । कतिपय दम्पती एकले अर्कोलाई वास्ता नै नगरी एकल निर्णय गर्ने गर्छन् । कुनै कार्ययोजना बनाउँदा एक अर्कोसँग सल्लाह नगरी निर्णय लिने परिपाटीले गर्दा सम्बन्ध चिसिँदै गएको र चिसो सम्बन्धकै कारण विच्छेदको रूप लिएका घटना पनि बढिरहेको पाइन्छ ।
बढ्दो हिंसा र विकृति

अत्यन्तै मेलमिलाप भएको परिवारको नै किन नहोस्, श्रीमान् रोजगारीको सिलसिलामा विदेश गएको छ भने उनको श्रीमतीलाई परिवारको कुनै सदस्य वा छिमेकीले अनावश्यक लाञ्छना लगाउँदै विदेशिएको पुरुषलाई सुनाउन पुग्छन् । आफ्नो कान नछामी कागको पछाडि लाग्ने भनेझैँ श्रीमानले श्रीमतीप्रति कुदृष्टिको भावले हेर्न पुग्छन् । एकअर्काको भावना टाढिदै जान्छ, पारस्परिकता हराउँदै जाने हुँदा त्यसले हिंसाको रूप लिन पुग्छ ।
वैदेशिक होस् वा स्वदेशको रोजगारीबाट गरिएको आम्दानी सबैलाई प्यारो लाग्नु स्वाभाविक हो । हिजोआज श्रीमान–श्रीमतीको एक अर्काबीच आर्थिक पारदर्शिता नभएको कारणले पनि सम्बन्ध बिग्रने गरेको पाइन्छ । श्रीमानले कमाएको सम्पत्ति श्रीमतीले सदुपयोग नगरी फजुल खर्च गर्ने, सल्लाह नगरी लगानी लगाउने अथवा श्रीमतीले कमाएको सम्पत्तिले श्रीमानले मादक पदार्थ खाने, जुवातास खेल्ने र अनावश्यक ठाउँमा खर्च गर्ने नराम्रा व्यवहारहरूले गर्दा एक अर्काप्रतिको विश्वासलाई घटाउँदै लगेको पाइन्छ ।
महिला वैदेशिक रोजगारमा जाँदा उनीहरूलाई समाजमा हेर्ने दृष्टिकोण पुरुषको भन्दा फरक छ । उनीहरू विदेशमा सुरक्षित रहन सकेका छैनन् । एकातर्फ महिला विदेशमा बलात्कार, शारीरिक एवम् मानसिक शोषण र दुव्र्यवहारको सिकार हुन्छन् । वैवाहिक प्रलोभनमा पार्ने, गर्भवती बनाउने र छोडिदिने, पारिश्रमिक नदिने आदि लगायतका शोषण र हिंसा खप्न बाध्य छन् । अर्कोतर्फ स्वदेशमा फर्केर आएपश्चात् उनीहरूलाई परिवार र समाजले राम्रो व्यवहार गर्दैन । यसले गर्दा महिला दोहोरो हिंसाको मार खेप्न बाध्य भइरहेका छन् ।
व्यवस्थापन नगरे रहन्नन् परिवार
विदेश गएर दःखजिलो गरी कमाएर पठाएको पैसाले बाबुआमा, श्रीमती, छोराछोरीको मुखमा माडदेखि शिक्षा र स्वास्थ्य तथा भावी सुरक्षाको जोहो गरेका छन् । एकातिर देशमा पर्याप्त रोजगारीका अवसर उपलब्ध नहुँदा युवाहरू वैदेशिक रोजगारीमा आकर्षित छन् भने अर्कोतिर राष्ट्रिय आम्दानीका अन्य स्रोत सिथिल भएको अवस्थामा देशको अर्थतन्त्रमा भरथेग पनि यही क्षेत्रले गरेको छ ।
के यसो भन्दैमा वैदेशिक रोजगारीप्रतिको निर्भरता यसैगरी बढाउँदै लैजाने त ? वैदेशिक रोजगारीको प्रवद्र्धन नै गरिरहने ? अनि देश विकासमा प्रयोग गर्नुपर्ने युवाहरूको जोश, श्रम र पसिनालाई विदेशी भूमि सिँगार्न मात्रै कतिञ्जेल निर्यात गरिरहने ? कहिलेसम्म उनीहरूलाई ४० डिग्रीको घाममा पिल्साउने ?
यस क्षेत्रमा थुप्रै बेथिति कायम छन् । वैदेशिक रोजगार विभागमा आउने उजुरी, उद्धार, राहत र क्षतिपूर्तिका निवेदन, मिडियामा आउने वैदेशिक रोजगारीका बेथिति, ठगिएका र अलपत्र परेका तथा वैदेशिक रोजगारका अनियमितताका समाचारले यो क्षेत्रमा टड्कारो सुधारको माग देखिन्छ ।
हाम्रो जस्तो गरिब मुलुकमा आर्थिक उपार्जनलाई नै पहिलो प्राथमिकतामा राख्दा यसले भविष्यमा कस्तो अवस्था निम्त्याउँछ भन्ने विषयमा बहस हुने गरेको पाइँदैन । हो आर्थिक अवस्था हामीले सुधार्नु पर्दछ । हामी सबै सम्पन्न शक्तिशाली हुनु पर्दछ । यसमा दुइमत छैन । तर आर्थिक उपार्जन कसरी, केबाट गरिरहेका छौँ ? माध्यम सही भए पनि यसको प्रभाव के कस्तो छ ? यस विषयमा हामीले एकपटक घोत्लिएरै सोच्नु जरुरी भइसकेको छ ।
वैदेशिक रोजगारीमा गएपछि परिवारका सदस्यबीचको सम्वन्ध कस्तो भएको छ ? यस विषयमा हामीले सोचेका छौँ ? विदेशबाट फर्केका श्रीमान र श्रीमतीको सम्बन्ध कस्तो भएको छ ? यस विषयमा हामीले बहस गर्न भ्याएका छौँ ?
परिवारका सदस्यहरू नै आफूदेखि टाढा हुने अवस्था आउनुपूर्व नै वैदेशिक रोजगारका विषयमा सोच्नुपर्ने हुन्छ । सबैभन्दा पहिला आफू, परिवार, समाज अनि रुपैयाँ–पैसा यसमा हामीले सोच्नु पर्दछ ।
हामीसँग रुपैयाँ सबै भए पनि परिवार छैन, समाज छैन, पिरमर्का सुन्ने–देख्ने कोही छैन भने रुपैयाँको महत्व रहँदैन । वैदेशिक रोजगारमा गएकालाई सम्मान गर्ने, परिवारमा कुनै समस्या आए छिमेकी सबै मिलेर समाधान गर्न सकेमा घटना प्रहरी र अदालतसम्म आउने थिएनन् । यसरी देशमा रोजगारीका अवसर बढाएर तथा आपसी सद्भाव र पारिपारिक भावनालाई समेत कायम राखेर वैदेशिक रोजगारीका कारण हुने पारिवारिक विचलनलाई रोक्न सकिन्छ ।