साफ च्याम्पियनसिपकाे उपाधि पाँचौ पटक भारतलाई, नेपाल ३-१ गोलले स्तब्ध

रिपोर्ट नेपाल | 2019 Mar 22 | 05:05 pm 1599

विराटनगर, चैत्र ६ :  साफ च्याम्पियनसिपकाे उपाधि भारतले हात पारेकाे छ । शुक्रबार राटनगरस्थित शहिद रंगशालामा भएकाे खेलमा नेपाललाई  ३-१ गोल हराउँदै भारतले उपाधि हात पारेकाे हाे ।

यससँगै भारत लगातार पाँचौ पटक च्याम्पियन बन्यो भने नेपल लगातार पाँचौ पटक  भारतसँग पराजित  हुँदै पाँचौ साफ महिला च्याम्पियनसिपको उपविजेतामा सिमित भएको छ ।

नेपाल सबै संस्करणमा भारतसँग पराजित हुन पुग्यो । अघिल्लो संस्करणको सेमिफाइनलमा हार भोगेको नेपालले सुरुवाती ३ संस्करणमा भारतसँग नै हार बेहोरेको थियो ।

भारतलाई जिताउन डालिमा छिब्बर, ग्रेस दाङमेइ र अन्जु तामाङले गोल गरिन् । नेपालकी सावित्रा भण्डारीले एक गोल फर्काइन् ।

खेलको २६औं मिनेटमा डालिमा छिब्बरले करिव ३५ यार्डबाट फ्रिकिकमा सुन्दर गोल गरेपछि नेपाल खेलमा पछि परेको थियो । हीरा कुमारी भुजेले विपक्षी खेलाडीलाई लडाएपछि प्राप्त फ्रिकिकलाई डालिमाले सोझै गोलमा परिणत गरेकी हुन् ।

३३औं मिनेटमा डिफेन्डर पुनम जर्घा मगरको लामो पासमा सावित्रा भण्डारीले बराबरी गोल फर्काइन् । उनले फ्लिक हेडर गर्दै गोलरक्षक अदिति चौहानले रोक्न सकिनन् । पहिलो हाफको अन्तिम मिनेटमा सावित्राले अग्रता दिलाउने सुन्दर अवसर खेर फालिन् । उनलको सुरुवाती प्रहार अदितिले रोकेपनि दोस्रो प्रहारले भने पोस्टको दिशा लिन सकेन ।

दोस्रो हाफमा नेपालले पहिलो हाफमा जस्तो दोस्रो हाफमा खेल्न नसक्दा पराजित हुन पुग्यो । ६३औं मिनेटमा सन्धियाको पासमा ग्रेस दाङमेईले गोल गरेपछि नेपाल खेलमा २–१ ले पछि परेको थियो । उनले एकल प्रयासमा गोल गर्दै भारतलाई अग्रता दिलाइन् ।

७८औं मिनेटमा वैकल्पिक खेलाडी अन्जु तामाङले गोल गरेपछि नेपालको आशा समाप्त भएको थियो । नेपाल चौथोपटक फाइनलमा पराजित भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.