युवालाई राजनीतिमा आरक्षण दिइनुपर्छ : महामन्त्री कोइराला

| 2018 Nov 19 | 06:30 pm 1646

काठमाडौं, मंसिर ३ :  नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले जातजातिलाई भन्दा युवा पुस्तालाई राजनीतिमा आरक्षण दिइनुपर्नेमा जोड दिएका छन् ।

सुशील कोइराला मेमोरियल फाउन्डेसनले आज यहाँ आयोजना गरेको ‘म र साहित्य’ विषयक छलफल कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले ६० प्रतिशतभन्दा बढी ४० वर्षमुनिका युवा भए पनि राजनीतिमा उपयुक्त अवसर पाउन नसकेको बताए ।

‘पार्टीमा रक्तसञ्चार गराउन युवालाई अघि सार्नुपर्छ, पुराना नेतासँग अनुभव हुन्छ, अनुभव ग्रहण गर्दै युवा राजनीतिमा सक्रिय हुनुपर्छ,’ उनले भने, ‘पार्टीको केन्द्रीय समिति, विभाग र अन्य तहमा युवालाई अघि बढाउनुपर्छ ।’

दुई तिहाइ बहुमतको सरकारले ठोस योजना ल्याउन नसकेको उनको आरोप छ । उनले सामाजिक सञ्जालमा भन्दा साहित्यिक कृति पढ्नमा समय दिन युवा, विद्यार्थीलाई आग्रह गरे ।

महामन्त्री कोइरालाले आदेश आचार्यले लेख्नुभएको ‘पारानोइया’ पुस्तकको विमोचन गरेका थिए । कार्यक्रममा साहित्यकारहरु भुवन ढुङ्गाना, तोया गुरुङ, रामकुमार पाँडे, धीरेन्द्र प्रेमर्षि, नायिका मनीषा कोइराला, फाउन्डेसनका सचिव अतुल कोइराला लगायतले सामाजिक सञ्जाललाई किताबको विकल्पका रुपमा प्रयोग गर्न नहुनेमा जोड दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.