विराटनगर : मोरङको सुन्दरहरैंचा नगरपालिका-१२ मा रहेको सुकुना बहुमुखी क्याम्पसमा बुधबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र नेपाल विद्यार्थी संघ (नेविसंघ)बीच झडप हँदा चार जना घाइते भएका छन् । दोहोरो ढुंगामुडा हुँदा नेविसंघका चार जना नेता घाइते भएका हुन् ।
झडपमा नेविसंघ ३ नम्बर क्षेत्रीय सभापति होमनाथ पोखरेल, नेविसंघ क्याम्पस इकाई सभापति विजय तोलाङ्गी, सचिव समीर सम्राट र सदस्य जीवन बस्नेत घाइते भएका छन्।
घाइतेलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा ल्याइएको छ। घाइतेमध्ये तोलाङ्गीको टाउकोमा ६ वटा टाका लगाएको छ।

क्याम्पसका प्राध्यापकले अन्यत्र पनि पठनपाठन गराएर दोहोरो सुविधा लिने गरेको भन्दै त्यसको विरोधमा नेविसंघको अगुवाईमा गत फागुन २० गतेदेखि सुकुना क्याम्पसमा आन्दोलन जारी छ।
त्यही आन्दोलन विवादमा परिणत भएपछि अखिल र नेविसंघबीच झडप भएको क्याम्पस प्रशासनले जनाएको छ। बिहान ८ बजेटबाट सुरु भएको झडपका कारण झन्डै दुई घण्टा क्याम्पस परिसर रणमैदान बनेको थियो।
डीएसपी नवराज ढुंगानाको नेत्रृत्वमा परिचालित प्रहरी टोलीले क्याम्पस प्रवेश गरेर स्थितिलाई नियन्त्रणमा लिएको थियो।