लोकसेवा परीक्षा बिथाल्ने चार जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Jul 20 | 11:09 am 1623

खोटाङ, असार ४ : लोकसेवा आयोगको परीषामा अवरोध सिर्जना गर्ने चार जना पक्राउ परेका छन्।

शनिबार दिक्तेलका विभिन्न परीक्षा केन्द्रमा आयोगको पाँचौं तहको परीक्षा सञ्चालन भइरहेको समयमा अवरोध पुर्‍याएको भन्दै प्रहरीले नेपाल आदिवासी जनजाति महासंघका खोटाङ सचिव रबिन खम्बु, महासंघका सहसचिव एलबी मगर, खोटाङ दलित विकास मञ्चका अध्यक्ष मिलन चाहार र सविना अछामेलाई पक्राउ गरेको हो।

दिक्तेल बहुमुखी क्याम्पस केन्द्रको परीक्षा बिथोल्ने प्रयास गरेकाले पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी बिष्णुहरि उपाध्ययले बताए। प्रजिअ उपाध्यायका अनुसार हो–हल्ला गर्ने, प्रश्नपत्र र उत्तरपुस्तिका खोस्ने काम भएकाले नियन्त्रणमा लिइएको हो।

परीक्षा केन्द्रमा पुगेका चार जनालाई प्रहरीले धरपकड गरेको नेपाल आदिबासी जनजाति महासंघका अध्यक्ष हात्तीराम राईले बताए। उनीहरुलाई हतकडी लगाएर जिल्ला प्रहरी कार्यालय लगिएको जनाइएको छ।

संविधानमा व्यवस्था गरिएको लोकसेवा आयोगको आरक्षण कोटा कटौती गरेको विरोधमा आदिबासी जनजाति महासंघ एवं आदिवासी जनजाति संघसंगठन आवद्ध संयुक्त संघर्ष आन्दोलन परिचालन समितिले प्रदेश १ बन्द गरेको जनाएको छ। वन्दका कारण खोटाङका वजार तथा यातायात सेवा प्रभावित भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.