यस्तो छ मगर समुदायको संस्कार र संस्कृति

| 2021 Mar 09 | 09:18 am 13529

वसन्त भुजेल
काठमाडौं उपत्यका बाहेक नेपालका अन्य क्षेत्रको सभ्यताका सन्दर्भमा अहिलेसम्म इतिहास लेखिएकै छैन । इतिहासका कालखण्ड केलाउने हो भने राणा शासनको अन्त्यका बेलासम्म राजधानी काठमाडौं उपत्यका पछिको नेपालको दोस्रो शहर पाल्पा (तानसेन) नै थियो । मानिसको बसोबासका हिसावले सबैभन्दा अब्बल ठाउँ पाल्पा नै थियो । जसरी काठमाडौं उपत्यका भन्ना साथ नेवार सभ्यताको कुरा आउँछ त्यसरी नै पाल्पा भन्नासाथ मगर सभ्यताको कुरा आउनु पर्ने हो ।

किनकी राजधानी काठमाडौं उपत्यकालाई गुल्जार बनाएको नेवारी सभ्यताले हो , त्यसरी नै पाल्पालाई गुल्जार बनाएको मगर सभ्यताले हो । तर मगर सभ्यताको इतिहास अनुसन्धानमा राज्यले खासै चासो देखाएको छैन । मगर सभ्यताको इतिहास राज्यले चासो नदेखाउनुमा विशेष कारणहरु छन् । मुख्य कारण हो –‘ शासन सत्तामा रहेका मगरहरुलाई बाहिरबाट आएका आर्यहरुले जनै दिएर ठकुरीमा रुपान्तरण गरिदिए । मगरबाट ठकुरी बनेकाहरुलाई आफू कथित उच्च जातको हुँ भन्ने भ्रम पैदा भयो ।’ मगरजातिको वास्तविक इतिहास बाहिर आयो भने आफू कथित उपल्लो जात भएको भ्रममा रैतीहरुलाई राख्न सकिन्न भन्ने निश्कर्षमा शासकहरु पुगे ।

इतिहासविद् बालकृष्ण पोखरेल र मानवशास्त्री डोरबहादुर विष्टले यो यर्थाथतालाई धेरै हदसम्म बाहिर ल्याइसकेका छन् । गण्डकी क्षेत्रको तल्लो भेकलाई आधार बनाएर करिव एक हजार वर्षसम्म यस भुखण्डको धेरै ठूलो क्षेत्रफलमा शासन चलाउने सेनहरु मगर नै थिए । अहिले सेनहरुले आफूलाई ठकुरीको दर्जामा राखेको पाइन्छ । यसैगरी नेपालको पछिल्लो एकीकरण गरेको र जनआन्दोलन २०६२–२०६३ पछि विदा भएको शाहबंशीय राजाहरु पनि मगर नै थिए । मगर भाषामा खिन्चा भनेको जेठो र मिन्चा भनेको कान्छो हो । कुलमण्डन शाह मिन्चा खानका छोरा थिए । यो यथार्थता बुझ्न स्याङ्जाको आलमदेवी साक्षी छ । आलमदेवी शाह बंशी राजाहरुको कुल मन्दीर हो । जहाँ अहिले पनि मगर पुजारी छन् , सुँगुर बली चढाइन्छ ।

ठकुरीहरुको पुख्यौली खोज्दै जाँदा मगरमा गएर ठोक्किने कुरा नौलो होइन । यसैगरी अहिलेका कतिपय बाहुनहरुको पुख्यौली पनि मगर जातिमा गएर ठोक्किने कुरा इतिहासविद् बालकृष्ण पोखरेलले आफ्नो खसजातिको इतिहास नामक पुस्तकमा सप्रमाण पेश गरेका छन् । खासगरी पोखरेल र कोइरालाहरुको पुख्यौली मगरजातिमा गएर ठोकिएको उदाहरणका रुपमा उनले बंशावली नै प्रस्तुत गरेका छन् । तर मगर र ठकुरीहरुको शारिरिक बनौट तथा संस्कृति मिल्दो जुल्दो भए पनि मगर र बाहुनहरुको शारिरिक बनौट धेरै भिन्न छ , संस्कृति पनि खासै मिल्दैन । त्यसैले यस पंक्तिकारको विचारमा नेपालमा बसोबास गर्ने सबैलाई नेपाली भनिए जस्तै मगरात क्षेत्रमा बसोबास गर्ने सबैलाई मगर भनिएको हुनसक्छ ।

जनगणना २०६८ अनुसार मगर जातिको जनसंख्या ८ प्रतिशत भन्दा केही बढी अर्थात २५ लाखको हाराहारीमा रहेको छ । यो धेरै ठूलो जनसंख्या हो । अर्थात क्षेत्री र बाहुन पछि नेपालमा सबै भन्दा ठूलो जनसंख्या मगरकै छ । तर अरु जनजातिको जस्तो निश्चित क्षेत्रमा सघन बसोबास मगर समुदायको छैन । पहलो कुरा त सेन राज्यको विस्तार जहाँ जहाँसम्म थियो, त्यहाँ त्यहाँसम्म मगर समुदाय पुग्यो । नेपाल एकीकरणका क्रममा पनि सक्रीयताका साथ भाग लिएका कारण मगर समुदाय एकिकृत नेपालको सबै भूभागमा फैलियो । त्यसैले देशका ७७ जिल्लामा मात्रै होइन, भारत , भुटान , बर्मा लगायतका देशहरुमा मगरजातिको जनसंख्या उल्लेख्य छ । नेपाललाई भौगोलिक रुपमा प्रशासनिक विभाजन गर्ने क्रममा मगर समुदायको सघन बसोबास भएको क्षेत्रलाई धेरै जिल्लामा बाँढियो ।

मगर समाुदायको सघन बसोबास भएको भेग भनेको कालीगण्डकी , बढीगाढ र सानी भेरी र राप्ति नदीको प्रसवण क्षेत्र हो । तर यो क्षेत्र तनहुँ , नवलपरासी , पाल्पा , स्याङ्जा , गुल्मी , बाग्लुङ, म्याग्दी , रुकु्म , रोल्पा र डोल्पा गरी १० वटा जिल्लामा विभाजित भयो । मुलुकभरिका कुल २५ लाख मगर मध्ये ८० प्रतिशत यिनै १० वटा जिल्लामा बस्छन् । यी दशमध्ये एक दुई वटा बाहेक अरु जिल्लामा मगर समुदायको जनसंख्या ५० प्रतिशत भन्दा बढि छैन । जसका कारण जनसंख्याको अनुपातमा मगर समूदायको राजनीतिक प्रतिनिधित्व हुन सकिरहेको छैन ।

कालीगण्डकी , बडिगाड र सानी भेरी र राप्ति नदीको प्रसवण क्षेत्र बाहेक अन्यत्र बसोबास गर्ने मगर समुदायको भाषा तथा संस्कृति करिव करिव खसकरण भइसकेको छ । उनीहरु क्षेत्री बाहुनकै भाषा संस्कृतिमा बिलिन भइसकेका छन् । थर पनि क्षेत्री, बाहुनहरु सँग नै मिल्दो जुल्दो भएका कारण कालीगण्डकी , बडिगाड र सानी भेरी नदीको प्रसवण क्षेत्र बाहेक अन्यत्र बस्ने मगरहरुको जातिय अस्तित्व संकटमा परिसकेको छ । जहाँ सम्म कालीगण्डकी , बडिगाड र सानी भेरी नदीको प्रसवण क्षेत्रको कुरा छ त्यो नै मगर जाती तथा भाषा– संस्कृतिको मेरुदण्ड हो । तर यस क्षेत्रका मगर समुदायको पनि स्पष्ट रुपमा तीन वटा भाषा, संस्कृति छन् । डोल्पामा बस्ने मगर समुदायको भाषा , धर्म संस्कृति तिब्बतसँग मिल्दो जुल्दो छ । डोल्पा भन्दा सिधै दक्षिण तर्फ अर्थात सानी भेरी र राप्ति प्रसवण क्षेत्रमा बस्ने मगरहरुको भाषा, धर्म संस्कृति मौलिक छ । कालिगण्डकी र बडिगाड क्षेत्रमा बस्ने मगर समुदायको भाषा, तथा धर्म संस्कृति खस समुदायसँग मिल्दो जुल्दो छ ।

केन्द्रविन्दु पाल्पा
मगर सभ्यताको अनुसन्धान गर्दा पाल्पा जिल्लालाई नै केन्द्रविन्दुमा राख्नु पर्ने हुन्छ । मगर भाषाको वाल्वा शब्दबाट पाल्पा बनेको ईटलीका प्रसिद्ध विद्धान तथा ईतिहासकार प्रो. जोशेफ टुचीको भनाई छ । उनको भनाई अनुसार मगर भाषाको शब्द ‘वाल्वा’ बाट पाल्पा बन्न गएको हो । यसको अर्थ सीप, कला र कालीगढ हुन्छ । यसैगरी मगर भाषामा वाल्पाको अर्थ बलियो किल्ला भन्ने बुझिन्छ । ‘वाल्पा बाट पाल्पा’ बनेको पनि हुनसक्छ । यसैगरी पाल्पाको सदरमुकाम तानसेन पनि मगर भाषाकै शब्द हो । इतिहास खोतल्दा मगर भाषामा ‘टाङसिङ’ ‘टाङ’ भन्नाले ‘कर्घा’ (लुम) र ‘सिङ’ भन्नाले ‘काठ’ (रूख) बुझिन्छ ।

मगर भाषामा एक प्रकारको सल्ला प्रजातिलाई ‘टाङसिङ’ भनिन्छ । टाङसिङ वरिपरि कर्घा बनाउने रूख पाइने र कर्घा बनाई घरबुना (कपडा) बनाउने चलन मगरात राज्यकालमै थियो । त्यसैले यसको नाम मगर भाषाको टाङसिङबाट अपभ्रंश भएर तानसिन हुँदै तानसेन भएको हो । यहाँ अहिलेसम्म घरेलु तान अस्तित्वमा छन् । मगर भाषामा तानको अर्थ ठूलो र सिङको अर्थ बस्ती हो भन्नेहरू पनि छन् । त्यसैको भावार्थमा तानसेनको नामकरण गरिएको भन्नेहरू पनि पाइन्छन् । २०६८ सालको जनगणना अनुसार जिल्लाको जनसंख्या २ लाख ६१ हजार १८० छ । जसमध्ये ५२ प्रतिशत मगर छन् । तर मगर भाषीको जनसंख्या भने ३३ प्रतिशत मात्रै छ । पश्चिम पाल्पाका मगरहरुले नेपाली भाषा नै प्रयोग गर्छन्, तर पूर्वी पाल्पाका कतिपय गाउँमा भने मगर भाषा नजान्नेहरुले बास पाउन समेत गारो छ ।

गण्डकी प्रसवण क्षेत्रका शक्तिपिठहरु मगर संस्कृतिबाटै अनुप्राणित रहेको देखिन्छ । जसलाई खस आर्यहरुले अपनत्व ग्रहण गरिसकेका छन् । मगराती वा मगरात धर्म दर्शन वा सैद्धांतिक आधारमा मगरात राज्यसत्ताले विभिन्न ठाउँहरूमा मगर शक्ति पीठ, कोत , देवल स्थापना गरेर मगर पुजारी हरूको व्यवस्था गरेका थिए । मगर पुजारीहरूले आफ्नै तन्त्र मन्त्र विकसित गरेका थिए । ती शक्ति पीठहरूमा मास्की राना, सारू, थापा, असलामी , पुलामी थरका मगर पुजारीहरू अझ पनि छन र बाहुन ,क्षेत्री नेवार सबै जातका भक्तहरूले मगर पुजारीहरूको हातबाट टिका प्रसाद ग्रहण गर्ने चलन अझै यथावत छदैछ ।

आलमदेवी, मनकामना, गोरखा दरबार कास्की कोट, बुडासुब्बा धरान ,लमजुङकोट ,मुसीकोट भीरकोट आदि बीस पचीस ठाउँहरूमा प्राचीनकाल देखी मगरहरूको प्राकृतिक धर्म दर्शनमा आधारित शक्तिपीठ ,कोत वा देवलहरु छन् । सबै जात जातीकास्थानीय भक्तजनहरूले प्राचीन काल देखी मगर पुजारी र उनीहरूको मन्त्र तन्त्र माथी गहिरो आस्था राखेका थिए । यो क्रम आज सम्म पनि यथावत छ । प्राचीन कालमा मगर समुदाय सभ्यताको शिखरमा पुगेका थिए भन्ने नजीर हो यो । कति आक्रमण ,अतिक्रमण ,दमन भयो , तर आदिवासी मगर जनजातिको धर्म , संस्कृति लाई पूर्णरूपमा कुनै शासन प्रणाली वा राज्यसत्ताले अझ सम्म मेटाउन सकेको छैन । निर्मूल पार्न सकेको छैन

संस्कृति विविधता
जातीय जनसंख्याको हिसाबमा मगर जाति नेपालको तेस्रो ठूलो जाति हो । नेपालको सतहत्तरै जिल्लाहरूका अतिरिक्त सीमापारि देहरादून, दार्जिलिङ, सिक्किम र भुटानसम्म फैलिएर बसोबास गरेको मगर जाति सांस्कृतिक रुपमा आन्तरिक विविधताले सजिएको पाइन्छ ।
विद्वानहरूले काठमाडौं उपत्यका जलमग्न भएको अवस्थामा जलासयको वरिपरि नागवंशी मानिसहरूले सिकार र सामान्य पशुपालन गरेको उल्लेख गर्नु तथा बालचन्द्र शर्मा (२०३३ः २०१), प्राध्यापक बालकृष्ण पोखरेल (२०५५), डा. केशवमान शाक्य (सन् २०११ः ९–१०) लगायतका विद्वानहरूले मगर जातिलाई नै नागवंशी भनी उल्लेख गर्नुले काठमाडौं उपत्यकाको सभ्यता विकाससँग मगर जातिको सम्बन्ध जोडिएको प्रष्ट हुन्छ ।

इतिहासकारहरूले गण्डकी प्रश्रवणक्षेत्रमा २२० मगर राज्य रहेको र कालान्तरमा १२ मगर राज्यमा सीमित भएको उल्लेख गरेको पाइन्छ । मानवशास्त्री डोरबहादुर विष्ट (सन् २००१), इतिहासकार सूर्यमणि अधिकारी (२०६१), इडेन भेन्सीटार्ट (सन् १९०६), बी. एच. हड्सन (सन् १८७४) लगायतका विद्वानहरूले चौवीसे राज्यका राजाहरू ठकुरीमा रुपान्तरित मगर भएको तर्क राखेको पाइन्छ । त्यसकारण नेपाली इतिहासको मध्यकालसम्म राप्ती–गण्डकी प्रश्रवणक्षेत्रमा मगरात सभ्यता उत्कर्षमा रहेको बुझिन्छ ।

मगर समाजमा जन्मदेखि मृत्यु पर्यन्तका संस्कारहरू कसले वा कोद्वारा कसरी सम्पन्न गराउने भन्ने कुराको निर्धारण विवाह प्रणालीबाट बन्ने सम्बन्धको आधारमा हुने गर्दछ । परम्परागत मामाचेली विवाह प्रणालीले स्थायी प्रकृतिको तीनघरे साइनो सञ्जाल (चेलीवेटी, माइती र भाइखलक समूह) स्थापना गर्दछ । आ–आफ्ना सञ्जाल भित्रका चेलीवेटी (भान्जा) समूहले नै जीवनचक्रीय संस्कार सम्पादनमा परम्परागत पुरेतको भूमिका निर्वाह गरेको हुन्छ । यसरी चेलीवेटी अर्थात भान्जा समूहले जीवनचक्रीय संस्कार पद्धतिलाई नियमन गरेको हुन्छ भने मामाचेली विवाहमा आधारित त्रिआयामिक सम्बन्ध चक्रले सिङ्गो समाजको संरचनात्मक प्रकार्यलाई अघि बढाएको हुन्छ । जीवात्मावाद वा प्रकृतिपूजक पुर्खापूजा, झांक्रीवाद र चेलीवेटीमा आधारित संस्कारले मगरातको मूल संस्कृतिलाई प्रतिनिधित्व गरेको हुन्छ ।

राप्ती प्रश्रवणक्षेत्र अर्थात रुकुम, रोल्पा, प्यूठानका साथै पश्चिम वागलुङ र म्याग्दी क्षेत्रमा मगरातको मूल संस्कृतिले निरन्तरता पाइरहेको देखिन्छ । तसर्थ भौगोलिक हिसाबले राप्तेली मगर संस्कृतिलाई ‘मूल संस्कृति’ वा ‘संस्कृति केन्द्र’ को रुपमा परिभाषित गर्न सकिन्छ ।

तिब्बतसँग उत्तरी सिमाना जोडिएको डोल्पाका मगर समाजमा बौद्ध धर्मको तिब्बती लामावाद सम्प्रदायको प्रभाव रहेको छ । जेम्स एफ. फिशर (सन् १९८७) का अनुसार डोल्पाली मगरहरूले भोटसँगको वस्तु विनिमय व्यापारका माध्यमबाट तिब्बती संस्कृतिका प्रभाव भित्राएका हुन् । सन् १९५०–५१ मा चीनद्वारा तिब्बतमा नियन्त्रण कायम हुनु अघिसम्म डोल्पाली मगरहरू परम्परागत वस्तु विनिमय व्यापारका लागि तिब्बत आउजाउ गरिरहन्थे । त्यसकारण डोल्पाली मगर समाजमा मगरात सभ्यताको परम्परागत संस्कृति र तिब्बती बौद्ध संस्कृतिको सम्मिश्रण हुन गयो ।

भौगोलिक हिसाबले वागलुङदेखि पूर्वतर्फको मगर समाजमा हिन्दू धर्म संस्कृतिको प्रभाव रहेको देखिन्छ । जनगणना २०५८ अनुसार ७४.६ प्रतिशत मगरहरूले हिन्दू धर्म मान्ने गरेको देखिन्छ । यद्यपि यो भेगका मगरहरूले हिन्दू संस्कृति र मगरात संस्कृतिलाई सम्मिश्रण गराएर अभ्यासमा ल्याएको पाइन्छ । हिन्दू परम्परानुसार एघार दिनमा जन्मको सुत्को तथा तेह्रौं दिनमा मृत्युको आशौच शुद्धिकरण गराउने भए पनि उनीहरूले मगरात संस्कृतिअनुसार संस्कार कर्ममा चेलीवेटी परम्परालाई कायमै राखेको पाइन्छ ।

यो सांस्कृतिक समूहमा जीवात्मावाद वा प्रकृतिपूजा, पितृपूजा, झांक्रीवाद र बलिपूजा परम्पराले पनि निरन्तरता पाइरहेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रसिद्ध देवस्थलहरू मनकामना, आलमदेवी, बूढासुब्बा, छाब्दीवाराही, गोरखकाली, हनुमानढोका दसैंघर, कास्कीकोट, लमजुङकोट , सल्याकोट, बल्ढेङगढी, भार्से–अर्कुलकोट, रौतामाई, सत्यवती, रैनादेवी आदिका मूल पुजारीहरू पनि गण्डकेली मगर सांस्कृतिक समूहका मगरहरू रहेका छन् । तान्त्रिक पितृपूजा परम्पराबाट थालनी भएका यी देवस्थलहरूमा सुँगुरको बलि समेत चढाइन्छ । त्यसकारण गण्डकेली मगर संस्कृतिमा सम्मिश्रित तथा समन्वयात्मक नेपाली राष्ट्रिय संस्कृतिका महत्वपूर्ण आधारहरू पाइन्छन् ।

मगर जातिमा स्पष्ट रुपमा तीन वटा सांस्कृतिक उपसमूहहरू (राप्तेली, डोल्पाली र गण्डकेली) अस्तित्वमा आएको हो । मगरात सभ्यताको मूल दर्शनलाई प्रतिनिधित्व गर्ने राप्तेली मगर संस्कृति, बौद्ध महायान सम्प्रदायको प्रतिनिधित्व गर्ने डोल्पाली मगर संस्कृति र हिन्दू तथा मगरात सभ्यताको सम्मिश्रित मान्यताहरूको प्रतिनिधित्व गर्ने गण्डकेली मगर संस्कृतिको समग्रता वा सामुहिकता नै वर्तमान मगर संस्कृतिको पहिचानको मूल आधार वा धरातल हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.