भूगोलमात्र राष्ट्रियताको आधार होइन

रिपोर्ट नेपाल | 2019 Jan 01 | 03:19 pm 2050

लोकतन्त्रमा राष्ट्रियता निश्चित सीमाभित्रका जनताको ऐक्यभावना र सामूहिक भावनामा निहित हुन्छ । भौगोलिक सीमाको महत्व छदैछ तर भूगोलमात्र राष्ट्रियताको आधार होइन भन्ने नेपाली काँग्रेसको मान्यता हो ।

जनताको ऐक्यभाव महत्वपूर्ण कुरो हो । मेची महाकाली, हिमाल, तराई, मधेस सीमाभित्र राजनीतिक रुपले संगेटिएका सबैथरीका जनताका आ–आफ्ना भाष संस्कृतिर भेषभूषा सबै मिलाएर नेपाली राष्ट्रियता बनेको छ ।

जसरी यूरोपमा असलीरुपमा राष्ट्रियताको प्रादुर्भाव तव भयो जब फ्रान्सेली राज्यक्रान्ति भयो, अमेरिकी स्वतन्त्रता संग्राम र हामी जनता भन्ने सामूहिक चेतनाको प्रादुर्भावले लोकतन्त्र र राष्ट्रियताको भावनाको उदयसँगसँगै भयो त्यसरी नै नेपालमा पनि लोकतन्त्रको लहरसँगै नेपाली राष्ट्रियताको सच्चा स्वरुप सामुन्यमा आएको कुरामा नेपाली काँग्रेस विश्वास गर्दछ ।

नेपालमा २००७ साल नआएको भए छिमेकीहरुले क्षेत्रीय एकीकरणको अभियान क्रममा सायदै नेपाल कुन अवस्थामा पुग्थ्यो ?
जनताको अधिकारको लडाइले राष्ट्रको स्वतन्त्रताको उचाइ बढाएको छ । लोकतन्त्रले नै प्रत्येक व्यक्तिको सार्वभौम सत्तालाई सम्मन प्रदान गर्छ भने यहाँका जनजाति, मधेसी, थारु, मुसलमान निहित राष्ट्रियतालाई र स्वाभिमानलाई पनि सम्मनित दर्जा दिलाउछ ।

सबैको सम्मनको सम्मिलित रुपनै राष्ट्रियता हो भन्ने कुरामा नेपाली काँग्रेस अटल विश्वास राख्दछ । त्यसैले नेपाली काँग्रेसले राष्ट्रियता सबल बनाउन विभेद भयो भनेर असन्तुष्टि जनाइरहेका समुदाय हरुलाई हरु उत्तेजित गरी टाढा धकेल्ने होइन सहानुभूतिपूर्ण व्यवहार गरेर मूलधारमा ल्याउने काम गर्दै आएको छ । हिमाली, पहाडी, मधेसी सबै समुदायका जनतालाई राष्ट्रको उन्नतिका समान हकदार बनाएर नेपाललाई एकताको सुत्रमा बाध्ने काम गर्दै आएको छ ।

पुरानो जमनामा जस्तो छिमेकीप्रति आशंका मात्र गर्ने नकारात्मक राष्ट्रियता होइन आफ्नो राष्ट्रको हित संरक्षणको पहिचान तदनुकूलको अडानको निरन्तरताका साथै कुटनीतिक सुझबुझ काँग्रेसको राष्ट्रियता हो ।

अबको बाटो

आजको घडिमा काँग्रेसको दायित्व र भूमिका के कसरी अघि बढ्छ ? आफूभित्रै र आफू बाहिरका दायित्व र प्राथमिकता के हुन् ? त्यता पट्टिको विवेचनामा जाउँ ।

प्रतिपक्षको भूमिकामा

– सर्वप्रथम सदनको नेतृत्वबाटै र पार्टी नेताबाटै सत्तापक्षका कमजोरी औल्याउने र आम जनतालाई जगाउने ।

-काँग्रेसले दुईवटा कुरा मुख्य रुपमा सँगसँगै गर्नुपर्नेछ । एउटा हो, कम्युनिस्ट सत्तालाई संविधानको मर्म र भावअनुरुप चल्न दबाब दिन ।

– संवैधानिकरुपमा राजनीतिक व्यवस्थाको टुङ्गो लागिसकेको र देश संघीयतामा गइसकेको सन्दर्भमा नेपाली जनताको चाहना समृद्धिको यात्रामा अगाडि बढ्ने छ । त्यसका लागि पार्टीले दबाबकारी भूमिका खेल्ने ।

– कम्युनिस्ट एकताको परिणाम नेपाल एकात्मकतावाद र सर्वसत्तावादतिर उन्मुख हुँदैछ । यो प्रवृत्तिको सामना गर्नु नेपाली काँग्रेसको मुख्य जिम्मेवारी ठान्ने ।

– काँग्रेसले जितेका वा नजितेका स्थानीय तहमा राज्यको स्रोत परिचालन कसरी भएको छ ? लक्षित वर्ग कति लाभान्वित भए, योजनाहरुबाट खुद कति भौतिक लक्ष्य पूरा भयो ? किन काम हुन सकेनन् ? जस्ता विषयमा जनतासँग नजिकको अन्तरक्रियात्मक सम्बन्ध राख्ने र तिनलाई सचेत गराउने ।

– नेपाल राष्ट्र र नेपाली समाजको लोकतान्त्रिकरण गर्न प्रयत्नशील रहने ।

– हिंसा र हतियारले होइन विचारले देश चलाउने दर्शनको पक्षमा जनमत निर्माण गर्न प्रयत्नशील रहने । तर्क विवेकको आधारमा समाज संचालन हुने संस्कृतिको विकास गर्ने ।

– लोकतान्त्रिक समाजवादीको उद्देश्य सत्ताप्राप्ति र सत्ता परिवर्तन मात्र होइन । समाज बदल्ने र युग अनुसारको समाज निर्माण गर्ने पनि हो । राज्य पुनःसंरचना भनेको राज्यको संरचनात्मक स्वरुपमात्र बदल्ने होइन, राज्यको चरित्र पनि बदल्ने हो । राज्यको पुनः संरचना भनेको भौगोलिक, प्रशासनिक स्वरुपको पुनःसंरचना मात्र होइन राज्यको चरित्रको पुनःसंरचनाको अर्थमा हामीले लिनुपर्छ ।

– राज्यको केन्द्रीकृत चरित्र, शासनक चरित्र, दमनकारी चरित्र, पक्षपाती चरित्र, एकात्मक चरित्रका सट्टा विकेन्द्रीत चरित्र, सेवक चरित्र, न्यायिक चरित्र, निष्पक्ष र सादर्शीक चरित्र तथा बहुलवादी चरित्र निर्माण गराउन हामीले प्रयत्न गर्नुपर्छ । एकाधिकारवादी चरित्रको सट्टा लोकतान्त्रिक चरित्र निर्माण गराउन काँग्रेसले सम्पूर्ण शक्ति लगाउनु पर्छ ।

– कम्युनिस्ट एकताले निर्माण गरेको परिस्थितिमा काँग्रेसलाई वैचारिक र सांगठनिकरुपले सक्षम र क्रियाशील बनाउने अभियानबाट कार्यकर्ताहरु परिचालन गर्ने । साथै तल्लो इकाईबाटै काँग्रेसले समान विचार बोक्ने सबै व्यक्ति र पक्षहरुलाई आफूमा गोलबद्ध गराउने अभियान गर्ने ।

– काँग्रेसले भ्रष्टाचारको कडा विरोध गर्ने सामथ्र्य राख्नु पर्दछ । सुशासनको खोजीमा जनताको साथ लिएर अघि बढ्नुपर्छ ।

– काँग्रेसले केन्द्रीकरणको विरोध र स्थानीय तह तथा प्रदेश तहमा संविधानले दिएका अधिकार सहिसलामत पुर्याउन निरन्तर आवाज उठाउने ।

– राजनैतिक र संवैधानिक नियुक्तिमा कम्युनिस्ट पार्टीकरणको विरोध गर्ने ।

– पार्टीले गत निर्वाचनहरु र पार्टी अधिवेशनहरुमा जारी गरेका घोषणा अनुरुप कार्यक्रम लागू गर्दै जाने । लागू गर्न सरकारलाई दबाब दिने र जनतालाई भन्ने– यो हाम्रो धारण हो ।

– स्थानीय तह र प्रदेश तहका काम कारबाही, बजेट परिचालन, विकास निर्माण संचालनका हरपहलुमा स्थानीय पार्टी कार्यकर्ता सचेत र सजग रहने तथा खबरदारी गर्ने । जनतालाई सचेत गराउने र आवश्यकता अनुसार राजनीतिक संघर्ष गर्ने ।

– संविधानले प्रदान गरेका मौलिक अधिकार तथा अन्य अधिकारहरु जनताले उपयोग गर्न पाए पाएनन् निरन्तर लेखाजोखा गर्ने ।

– संविधानमा प्राप्त उपलब्धीको रक्षा भए वा नभएको सजगतापूर्वक निरिक्षण गर्ने । (रामचन्द्र पौडेलद्वारा लिखित)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.