धनकुटा, साउन ८ : धनकुटामा तमोरनदीले बगाउँदा एकै घरका तीन जना बालबालिका बेपत्ता भएका छन । धनकुटा नगरपालिका ८ डाँडाटोलका शंखबहादुर राईका ९ वर्षीय छोरा सदिप राई ७ वर्षीया छोरी सलिना र ६ वर्षीया संजिला राई तमोर नदीले बगाउँदा बेपत्ता भएका हुन् ।
गत आइतबार दिउँसो ३ बजे बाबु शंखबहादुरसँगै खेतमा काम गरिरहेको समयमा तमोर नदीमा बगेर उनीहरु बेपत्ता भएका थिए । धनकुटा प्रहरी प्रबक्त्ता इन्स्पेक्टर बिजयराज पण्डितका अनुसार आमाबुवासँगै खेतमा काम गरिहरका उनीहरु मध्ये एक जनालाई तामोर नदीले बगाएको थियो । बगेकालाई बचाउने क्रममा अन्य दुुई जना पनि बगेर बेपत्ता भएको हुनसक्ने आमाबाबु र गाउँलेहरुले बताए ।
नदीले तीन जना बालबालिकाहरुलाई बगाएपछि गाउँलेहरु मिलेर दुई दिनसम्म खोजी गरेका थिए । तर फेला नपरेपछि बुधबार बिहान उनीहरुले खोजी कार्यकालागि जिल्ला प्रहरी कार्यालय धनकुटामा खबर गरेका थिए । बुधबार दिउँसोसम्म प्रहरीको उद्धार टोलीले बेपत्ता बालबालिका फेला पार्न सकेको छैन ।