काठमाडौं- एक वर्षअघि प्रियंका सिंह ठकुरीलाई दर्शकले टिक टक (म्युजिकल्ली) को नायिका भनेर चिन्थे । कलाकारले कुनै पनि गीत रिलिज गर्दा आफ्नो गीत हिट बनाउन प्रियंकालाई टिक टकमा भिडियो बनाएर सेयर गर्न अनुरोध गर्थे । यसो गर्दागर्दै उनी टिक टकबाट हिट भइन् । हरेकजसो फिल्मका गीतमा पनि उनलाई टिक टकमा भिडियो बनाउन निर्माता निर्देशकले अनुरोध गरे ।
यसरी निर्माता निर्देशकको अनुरोध आउने क्रममा उनलाई निर्देशक सुवास कोइरालाले फिल्मको गीतमा टिक टक बनाउन होइन, अब फिल्ममै नायिका बन्नुपर्छ भन्ने प्रस्ताव लगे । त्यो प्रस्तावलाई सहजै स्विकारेकी प्रियंका चलचित्र ‘गरुड पुराण’मा नायिका भइन् ।
४ माघबाट रिलिज हुने चलचित्र ‘गरुड पुराण’की नवोदित अभिनेत्री प्रियंकालाई टिक टकले आफूलाई नायिका बनाउने भन्ने कहिल्यै लागेको थिएन । सौखले गर्दा भिडियो बनाउँदै गएकी उनलाई त्यही टिक टकले ठूलो पर्दासम्म पु¥याएको छ । प्रियंकाका भनाइमा टिक टकमा अभिनय गरेको जस्तो सजिलो फिल्ममा नहँुदो रहेछ, ‘टिक टक त एक्लै बसेर बनाउँदा अभिनय गर्न सजिलो हुन्थ्यो तर फिल्ममा क्यामेरासँगै लाइट र विभिन्न कलाकारसँग समूहमा काम गर्दा निकै गाह्रो पर्दोरहेछ ।’ उनले अनुभव सुनाइन् ।
काठमाडौं नयाँबानेश्वरकी प्रियंकालाई यसअघि उनले अभिनय गरेको बफिन्स ९८ को म्युजिक भिडियो अन्जानैमा…ले पनि हिट बनाएको छ । अभिनेता गौरव पहाडीको जोडी भएर उनलाई भिडियोमा काम गर्दा पनि नायिका भन्ने धेरै दर्शक थिए । ती दर्शकका सपना चलचित्र गरुण पुराणबाट पूरा गर्न पाउँदा खुसी लागेको यी अभिनेत्रीले बताएकी छन् ।
प्रियंकाले टिक टक (म्युजिकल्ली) भिडियो बनाउन छाडेकी छैनन् । उनका सयौं भिडियो टिक टकमा छन् ।
प्रियंकाका अनुसार यो फिल्मको कथामा पात्र सबैले उनलाई मन पराउँछन् । मुख्यतया फिल्मका अभिनेता कर्मा, प्रवीण खतिवडा र कामेश्वर चौरसियाले मनपराउँछन् । पहिलो फिल्ममै आफूले तीनवटा नायकको प्रेमिका बन्न पाउँदा रमाइलो लागेको उनले खुलासा गरिन् ।
पहिलो चलचित्रबाट निकै आशावादी प्रियंकालाई सबै नाटकका होनाहार कलाकारसँग सुरुमा काम गर्दा गाह्रो हुन्छ होला जस्तो लागेको थियो तर उनीहरूसँग करिब डेढ महिना अभिनय कार्यशालामा बसेपछि यो फिल्ममा अभिनय गर्न सहज भयो ।
कम बोल्ने स्वभावकी प्रियंकालाई यही स्वभावले धेरै गाह्रो परेको थियो, ‘तर फिल्ममा मैले सबैसँग धेरै बोल्ने र निडर युवतीको भूमिकामा पाएँ र आजकाल बोल्ने केटी भएकी छु ।’ उनले हाँस्दै भनिन्, ‘गरुड पुराणमा ज्योतिको भूमिका निर्वाह गरेपछि मैले आफू पनि ज्योतिको रूपमा वास्तविक जीवनमै परिवर्तन गरेकी छु । आजकाल मैले खुलेर अन्तरवार्ता दिन सक्नुको कारण पनि यही फिल्मको कमाल हो ।’