- विकाश कल्याण
यो शिर्षक हेर्दा कुनै अतभूत उपाय नै पत्ता लाग्या हो कि भन्ने पनि भान भइरहेको होला । हो यो त्यस्तो उपाय हो जुन सुन्दा आश्चर्य नै लाग्नेछ तर ढिलो चाँडो यही नै अन्तिम विकल्प भएर आउनेछ । लकडाउन गर्ने होइन पूर्ण रुपमा खोल्नु नै कोरोना विरुद्धको एक मात्र विकल्प हुनेछ ।
कोरोना रोगको हिसावले रुघाखोकिकै प्रजाति भएतापनि यसको अनुभव हाम्रा लागि नौलो अनुभव भने पक्कै हो । सर्वप्रथम त हामीले कोरोनाको रुप कस्तो हुनेहोला भन्ने नै अनुमान गर्न सकेनौ र दोस्रो कुरा विश्वले त्यसको नराम्रो नतिजा भोगिरहदा त्यसबाट पाठ पनि सिकेनौं । यसलाई एकातर्फ हलुकारुपमा लिइयो भने अर्कोतर्फ अरुलाई खाने बाघले आफुलाई पनि खान्छ भन्ने कुरा पनि बुझ्न सकेनौं । जे जे र जसो जसो सोचे गरेता पनि जेनतेन लकडाउनको सिको भने हामीले शुरुबाटै गर्यौ जसको कारण शुरुवाती दिनमा यसलाई नियन्त्रणमा लिन सकिन्छ कि भन्ने भ्रममा बस्यौ । हुन त धेरै विज्ञ र प्रत्रकार साथीहरुले सरकारलाई आवश्यक तयारी गर्न र कोरोनालाई सामान्य रुपमा नलिन बारम्बार झकझकाइ भने रहेका थिए । ति मध्य मेरो यस अघिका रिपोर्ट नेपाल अनलाइनमा प्रकाशित कोरोना सम्बन्धि लेखमा पनि उल्लेख गरेको थिए । अझ नेपालीहरु विदेशबाट आइरहने क्रम बढ्ने छ ।
कोरोनासम्बन्धि धेरै वयान नगरी म मेरो विषयवस्तुमा सिधासिधा कुरा गर्दछु । लकडाउन गर्ने होइन पूर्ण रुपमा खोल्नु नै कोरोना विरुद्धको एक मात्र विकल्प हुनेछ । कोरोना र त्यसको परिणाम स्वरुप भइरहेको पूर्ण वा आंशिक लकडाउनको समय लम्बिदैजादा धेरै जनताहरुलाई दुई छाक खान मुश्किल मात्र होइन डिप्रेशनको शिकार भई ज्यान सम्म त्यागिरहेका घटनाहरु बढिरहेका छन् । यसका पछाडि धेरै कारणहरु होलान् तर लकडाउन नै सबैभन्दा बढी जिम्मेवार छ भन्नेमा दुईमत नहोला । लकडाउनका कारण ऋण लाग्नु, ऋण र व्याज तिर्न नसक्नु, लगानी डुब्नु, घरभाडा लगायत स्कुलको शुल्क आदि तिर्न गाह्रो पर्दै जानु, जागिर जानु, कमाइ खान नपाउनु, ऋण गरी उत्पादन गरेको उत्पादनले बजार नपाउनु तथा घाटा व्यहोर्नु तथा मानवीय संवेदना हराउदै जानु आदि हुन । यसको मतलब नेपालमा हाल जनता तीन चिजले मरिरहेका छन् रोगले, भोकले र शोकले । यो कुरा बढो गम्भिर भएर बुझ्न जरुरी छ । जतिबेला हाम्रो देशमा कोरोनाको खासै प्रभाव थिएन त्यतिबेला अत्यन्त कडाइ गरी लकडाउन गर्यौ । अब जतिबेला कोरोना कडा भएर आयो तब के गर्दा ठिक र के गर्दा बेठिक भन्ने नै छुट्टाउन नसक्ने अवस्थामा आइपुगेका छौं । सरकार चारैतिरबाट दबाबमा परेर लकडाउनलाई केही खुकुलो गराउन खोजिरहेको छ तर उता कोरोना संक्रमण दिनदिनै उकालो
लाग्दै जादा पुनः कडा लकडाउन गर्न सक्ने संकेत पनि आइरहेको छ । यसको मतलब फेरि रोगले, भोकले र शोकले तीनै कुराले नेपाली जनताको ज्यान लिनेछ ।
हो सरकारले शुरुशुरुका दिनमा हल्का रुपमा लिनुको परिणमा नै अहिलेको स्थिति हो भने कोरोनाको विश्वव्यापी असर देख्दा यो रोकेर रोक्न सकिने चिज होइन र यसलाई खाली नियन्त्रणका उपायबाटै रोकथाम मात्र गर्न सकिने रोग रहेछ भन्ने पनि बुझ्नुपर्दछ । गल्तिलाई मात्र औल्याएर बस्नुभन्दा पनि अब आगामी दिनमा के कस्तो बाटो र विधि अपनाउने भन्नेले प्राथमिकता पाउनु पर्दछ । विश्वमा अधिकांश देशहरुले लकडाउनलाई प्राथमिकता दिइरहँदा विश्वको सबैभन्दा शक्तिशाली अर्थत्नत्र अमेरिकाले लकडाउनलाई वेवास्ता गर्दै अघिबढिनै रह्यो ताकी मानिस रोगले मरेपनि अरु दुई कारणले मर्न बाध्य नहोउन भनेर । लकडाउन गरेको भएपनि आखिरमा बाध्य भई खोल्न पर्ने स्थिति आउने थियो र जनता मर्ने नै थिए । मात्र कुरा रह्यो ढिलो र चाडोको । जुन अहिले वश्वमा देखिन थालेको छ । भोक, शोक र रोगले मर्ने कि रोगले मात्र भन्ने कुरा मात्र फरक हो । त्यसैले नेपालले आफ्ना जनतालाई भोक र शोकबाट मर्न नदिन लकडाउनलाई खोल्नुपर्दछ । मर्नुपरे पनि रोगले मात्र मर्न परोस । रोगले एउटा मात्र ज्यान लिन्छ भने भोक र शोकले त्यो ज्यानसँग जोडिएका अन्यको पनि । त्यसैले गरी खाने बाटो खुला गर्नु नै वुद्धिमत्ता हुनेछ । सुन्दा रिस उठन पनि सक्छ तर अन्ततोगोत्वा यसको विकल्प अरु केही नै हुनेछैन । खालि यो समयको कुरा मात्र हो । भनेपछि गर्न किन सबै वितिसकेपछि गर्ने त ? सरकारले त लकडाउन गरेपनि आलोचित हुने हो नगरेपनि आलोचित हुने हो । यसमा कुनै आश्चर्य मान्नु पर्दैन ।
लकडाउन खोलेर गर्ने के त ? हो मुख्य कुरा चाही यो हो । लकडाउन खोलिदिएपछि जनताले गरिखान शुरु गर्नेछन् । देशको अर्थत्नत्र चल्न शुरु हुनेछ । कमसेकम भोक र शोकले अकालमा ज्यान जनबाट त जोगियो । भोक र शोकले त कोरोनासँग लडनसक्ने शारीरिक क्षमता भएको ज्यान पनि गइरहेको हुनसक्छ । हामीले यो ध्यान दिन अत्यन्त जरुरी छ । अब भोक र शोकलाई सम्बोधन गरेपछि बाँकी रह्यो खाली एक चिज त्यो हो रोग । रोगसँग त विश्व नै लडन सकिरहेको छैन भनेपछी हाम्रो केही नलाग्नु नौलो कुरा भएन । अब हामीले वा सरकारले अपनाउनु पर्ने बाटो भनेको निम्न छः
व्यापक रुपमा जनचेतना फैलाउने । सामाजिक दुरी कायम गर्ने देखि रोगप्रतिरोधात्मक क्षमता बढाउने जस्ता विधिहरु निरन्तर जारी राख्ने । लकडाउन खोल्दा मर्नेको संख्या धेरै भन्दा पनि छिटो बढ्ने हुन्छ । आफ्नै सामु यो दृश्य देखेपछि जनता आफैं पनि सचेत हुन थाल्दछन् । लकडाउन गर्दा यो मर्ने क्रम ढिलो मात्र हुने हो तर व्यापकै रोक्न सकिने चाहि होइन । त्यो देखिइरहेको छ ।
दोस्रो कुरा संक्रमित संख्या त लकडाउन खोले पनि नखोले पनि बढिनै रहेको छ । यसमा पनि कुरा छिटो र ढिलोको मात्र हो । विदेशबाट आउने र फर्कन चाहनेको हकमा त देशमा ल्याउने वातावरण बनाउनु सिवाय सरकारसँग अर्को उपाय त छैन ।
त्यसैले अब सरकारको एउटै ध्यान ठूला ठूला व्यवस्थित क्वारेनटाइन स्थानहरु निर्माण गर्ने, क्षमतासहितका आइसोलेशन सेन्टरहरु बनाउने, आवश्यक र जगेडा स्वास्थ्य सामाग्रीको खरिद गरी बाड्ने र स्टक राख्ने, स्वास्थ्य कर्मी र कोरोना रोकथाममा खटिनेहरुको मनोबल उच्च राख्न हरसम्भव प्रयास गर्ने । कोरोना केही महिनामा जाला भनेर सरकार बस्न थाल्यो भने यसको परिणमा असोचनिय हुनेछ ।
त्यसैले भोक र शोकबाट हुने मरणलाई रोकी रोगबाट हुने मरणलाई एक्ल्याई योसँग आफ्नो सम्पूर्ण शक्ति खर्च गरौं । सरकार आर्थिक हिसाबले थला पर्दै गइरहेको तथ्यहरु बाहिर आइरहेका छन् । कर्मचारीलाई तलब खुवाउन हम्मे हम्मे पर्नसक्ने देखिनै सकिएको छ । त्यसैले लकडाउनलाई खुकुलो र व्यवस्थित गरी अर्थतन्त्रलाई चलायमान राख्दै भोक र शोकलाई हटाउँदै कोरोना विरुद्ध सम्पूर्ण शक्ति र श्रोत लगाऊ । यो उपाय नेपालजस्ता थोरै जनसंख्या र अर्थतन्त्र भएका देशहरुको हकमा पनि लागु हुनसक्छ । होइन भने लकडाउनकै भरमा कोरोनासँग लडने योजना बनाइयो भने यसले देश, सरकार र समग्र जनतालाई अन्तत थला पार्दै हरेक क्षेत्रलाई कोल्याप्स नपार्ला भन्न सकिने अवस्था छैन ।