—मित्र गौतम
हरेक वार्षिक परीक्षा पछि तिमी
निधारमा रातो टिका लगाई
पुरस्कारका चाङ लिएर आउँथ्यौ
हामी दङ्ग पर्थ्यौं
टोल,छिमेकले इर्ष्या गर्थे
र गर्थे प्रशंसा पनि
पढ्यौ , राम्रो गर्यौ
उच्चाकांक्षाले विदेश झर्यौ
हामी मख्ख पर्यौं ।
वर्षौं पछि तिमी आउँदा,
गाउँ जान टाढा भयो
उकाली,ओराली बाधा भयो
गाउँ बसाई साह्रो भयो
नेट,टि.भि. विना गाह्रो भयो ।
त्यसैले,
हामीलाई शहर झार्यौ
ठूलो घरमा बसायौ
र फेरी आफ्नै गन्तव्यमा लाग्यौ ।
बुढ्यौली बढ्दै गयो
तनमा व्याधी चढ्दै गयो
आँखा धमिलींदै छ
मन अमिलींदै छ
सहश्र चन्द्र दर्शन होस्
गरौंला चौरासी भन्थ्यौ
प्रतिक्षामा हामी औंला भाँची गन्थ्यौं ।
परार साल किनेको चश्मा
अस्ती सिंढीमा चिप्लींदा सीसा फुट्यो
सीसा सँगै मेरो मन पनि टुट्यो
दम फुलेर सिंढी पहाड चढे सरी छ
तिम्री आमाको दवाई सकियो
विपी वा सुगर बढेर हो
टाउको उठाउनै नसक्ने गरी
ओछ्यान परेकी छ ।
सहारा थियो
पैंयुपाटे साँईलाको नाती
कलेज विदाले गाउँ गयो
छिमेकी मास्टर्नी नानी पनि
कोरोना आउँछ गाउँ जान्छु भन्थीन्
आफ्नो भने न जाने गाउँ छ
न बुढेश बिसाउने ठाउँ छ
छिमेकका ढोका बन्द छन्
आवाजहरु मन्द छन्
बाहिर मूर्दा शान्ति छाएको छ
किनकी देशमा कोरोना आएको छ ।
गाउँ छोडेर शहर पस्ने
देश बिर्सेर विदेश बस्ने
तिम्रो किताबमा लेखेको
उति बेला थाहा हुँदो हो त
तिम्रो किताब च्यात्ने थिएँ उहि बेला
किन पर्थ्यो अहिले यस्तो झमेला ?
तिमी उतै छौ हामी यता छौं
चाहिंदैन मलाई चौरासी पूजा
सपना सारा भए धुजा धुजा
कसरी बनाउँ म बिग्रेको चश्मा
कसरी ल्याउँ म उनको दवाई
को सँग बताऊँ म यो दुःखको सवाई ?
को सँग बताऊँ म यो दुःखको सवाई ? ?
……अस्तु …….