कसले बनाउँदै छ प्रहरीलाई कमजोर ?

| 2018 Sep 26 | 04:45 pm 9605

– महेन्द्र पाण्डेय

लगातारका बलात्कार तथा हत्याका घटनाले मुलुक यतिखेर आतंकित र आक्रोशित बनेको छ । कञ्चनपुरमा १३ वर्षकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई महिना पुगिसक्दा पनि अपराधीको पत्ता नलागेपछि आपराधिक प्रवृत्तिका मानिस (बलात्कारी)हरू झन्–झन् हौसिएका अनुभूति हुन थालेको छ । अभिभावकहरू पढ्न गएकी छोरी सुरक्षित आउँछिन् कि आउँदिनन् भन्ने कुरामा आतंकित र चिन्तित बनिरहेका छन् । बलात्कारको घटना दिनदिनैजसो भइरहेका छन् ।

सत्य सेवा सुरक्षणमकाे मूलमन्त्र बोकेको प्रहरीमाथि आमजनताले अपराधी समाउन नसकेको आरोप लगाएर आलोचना गरिरहेका छन् भने दबाब र तनावका कारण हडबडाएको नेपाल प्रहरी स्वतन्त्र रूपले काम गर्न नसकेको अवस्थामा देखिँदै छ । नेपाल प्रहरी स्वतन्त्र हुने हो भने जस्तोसुकै आपराधिक कर्म या गैरकानुनी क्रियाकलाप गर्ने जो–कोहीलाई कानुनको दायरामा ल्याउन सक्छ भन्ने मान्यता हराउँदै छ भन्नेहरू पनि छन् ।

नेपाली जनताको जीउज्यानको सुरक्षार्थ बम र बारुदसँग लडेर शहादत प्राप्त गर्न पछि नपरेको प्रहरीलाई यतिखेर किन कमजोर बनाउन खोजिएको छ, वा प्रहरी आफै कमजोर भएको हो ? यसबारे विचार–विश्लेषण सम्बन्धित विज्ञजनहरूले गरिरहेकै होलान् । चौतर्फी प्रहरीलाई बदनाम गर्न एउटा तह र तप्काका मानिसहरू लागिरहेकै बेला सर्वसाधारण जनता भने आतंकको कालो बादलमा हडबडाउँदै शान्तिसुरक्षाको खोजीमा हार–गुहार गरिहेका छन् । यो अस्वाभाविक पनि होइन ।

एकातर्फ प्रहरीलाई दोष लगाउने क्रियाकलाप वृद्धि हुँदै गएको छ भने अर्कोतर्फ आमनागरिकले पनि हातखुट्टा बाँधेर लड्न पठाएको सिपाहीले विजयको माला पहिरिएर आउँछ भन्ने सोच हटाउनु जरुरी छ । प्रहरीलाई मात्र दोष दिएर समाज उम्किन सक्दैन । हामी पनि विनाबर्दीका प्रहरी हौँ भन्ने कुरालाई विर्सनु हुँदैन ।

यसो भन्दैमा प्रहरी सयमा सय ठिक र हामी (समाज) नै बेठिक भन्ने अर्थ नलागोस् । कञ्चनपुरको त्यो दर्दनाक तथा हृदयविदारक घटनामा नागरिकले विनाबर्दीको प्रहरी बनेर हरेक सूचना दिँदा पनि त्यहाँको नेतृत्व गैरजिम्मेवार मात्र नभएर सिङ्गो संगठनलाई बदनाम गराउने ऐंजेरु बनेको कुरा घामजत्तिकै छर्लङ्ग छ । कञ्चनपुर घटनामा तत्कालिन प्रहरी प्रमुखले पीडित पक्षको आवाजलाई सम्बोधन गरिदिएको भए आज प्रहरी संगठनले यत्रो बदनामी कमाउन पर्ने थिएन भने स्वयम् पनि आरोपित हुन सायद पर्दैन थियो होला ।

राज्यका जिम्मेवार ओहदामा बसेका हरेकले के बुझ्न जरुरी छ भने जनता सुरक्षित भए भने फेरि पनि त्यो कुर्सी आफ्ना लागि सुरक्षित रहन्छ । जनता सुरक्षित हुनका लागि प्रहरीको हात बाँधिदिने, मस्तिष्क खलबलाइदिने र निर्देशनरुपी आँखाको पट्टी हटाइदिनुपर्छ । कुनै समय एसियामा अनुसन्धान गर्न अब्बल मानिने नेपाल प्रहरी यतिखेर किन कमजोर देखियो यसको खोजिनीति सिंहदरबारभित्रै गरिनुपर्छ भन्ने नागरिक पनि नभएका होइनन् । बुढी मरी भन्ने चिन्ता भन्दा पनि काल पल्कियो भन्ने चिन्ताले सबै ‘बादशाह’लाई सताउनुपर्छ भन्ने पङ्क्तिकारको भनाई हो ।

प्रहरीलाई कमजोर बनाउनका लागि स्वयम् प्रहरीभित्रकै एकथरी विगत केही समयदेखि सकृय हुँदै आएका चर्चा सम्बन्धित क्षेत्रमा गाइँगुइँ सुनिन्छ । संगठन जहाँसुकै जाओस् तर आफू पद, प्रतिष्ठाले भरिपूर्ण हुनुपर्छ भन्ने गलत सोच राख्ने प्रहरीका अधिकृत पनि संगठनलाई कमजोर पार्ने प्रमुख पात्र हुन् भन्न सकिन्छ । आफू बन्नका लागि अर्काको उछित्तो काढ्दै राजनीतिक नेताको घर चहार्ने प्रहरीका अधिकृतहरू पनि प्रहरी संगठन कमजोर हुनुको मुख्य कारण हो ।

वनको बाख्रो खाने बाघले घरको सुरक्षित राख्छ भन्ने भ्रम त्याग्न पनि पङ्क्तिकार सम्बन्धित पक्षलाई आग्रह गर्छ । आज कञ्चनपुरकी मात्र नभएर यो लेख तयार गर्ने दिनसम्म कास्कीकी अर्की छोरी बलात्कृत भई अकालमा ज्यान गुमाउनु पर्दा भोली हाम्रा छोरी पनि सुरक्षित नहुन सक्छन् भन्ने बुझ्न जरुरी छ । प्रहरीलाई बदनाम र कमजोर बनाएर हामी स्वाभिमानी र बलियो हुँदैनौँ भन्ने कुरा पनि यहाँनेर हेक्का राख्न जरुरी छ ।

प्रहरीलाई कमजोर बनाउनका लागि स्वयम् प्रहरीभित्रकै एकथरी विगत केही समयदेखि सकृय हुँदै आएकाे चर्चा सम्बन्धित क्षेत्रमा गाइँगुइँ सुनिन्छ । संगठन जहाँसुकै जाओस् तर आफू पद, प्रतिष्ठाले भरिपूर्ण हुनुपर्छ भन्ने गलत सोच राख्ने प्रहरीका अधिकृत पनि संगठनलाई कमजोर पार्ने प्रमुख पात्र हुन् भन्न सकिन्छ । ‘आफू मात्रै पानीमाथिको ओभानो हुँ अरु सबै बदनाम हुन्’ भन्दै राजनीतिक नेताको घर चहार्ने प्रहरीका अधिकृतहरू आफू बन्नका लागि अर्काको उछित्तो काढ्दै गाली–बेइज्जतीमा उत्रिनु पनि प्रहरी संगठन कमजोर हुनुको मुख्य कारण हो ।

फौजी शासनमा ‘चेन अफ कमाण्ड’को महत्व ज्यादै प्रभावकारी रहन्छ । जसका कारण बन्दुक बोकेका बन्दुकेहरूलाई अनुशासन र जिम्मेवारीको बोझ हुन्छ । आफू भन्दा तल्लो दर्जामा ‘चेन अफ कमाण्ड’ खोज्ने आफू भन्दा माथि ‘चेन अफ कमाण्ड’ लत्याएर आफ्नो प्रमुखलाई भन्दा राजनीतिककर्मीलाई महत्व दिने अधिकृत पनि प्रहरी कमजोर बनाउने खेलका नायक हुन् । प्रहरीको काम–कारबाहीको विषयमा आवाज उठ्नु भनेको संगठन प्रमुखसँग पनि प्रश्न तेर्सिएको भन्ने सायद महानिरीक्षक सर्वेन्द्र खनालले बुझेकै हुनुपर्छ ।

अन्त्यमा, सिसाको घरमा ढुङ्गा हान्नेलाई बेवास्ता गर्दै आइजीपी खनालले अब नेपालको सुरक्षा मामिलाका विज्ञलगायत संगठनका पूर्व अधिकृत अग्रजहरूसँग अन्तरक्रिया, छलफल र सुझाव आदानप्रदान गरेर अघि बढ्नुपर्ने देखिन्छ । एउटा जिल्लामा सुरक्षाको जिम्मेवारी दिएर पठाएको सुरक्षा कमाण्डर वा अनुसन्धान अधिकृतको अदक्षताले सिङ्गो संगठनलाई आरोपित गर्दा भोली त्यो संगठनका दक्ष जनप्रेमी र देशप्रेमी सिपाहीको मनोबल खस्किएर अपराधकर्म गर्ने र अपराधिको मनोबल बढ्ने भएकोले हामी पनि जिम्मेवार हुनु जरुरी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.