कविता- रजश्‍वला

भानुभक्त आचार्य | 2018 Nov 02 | 09:07 am 7135

आमा भन्छिन्
“हरेक मान्छे
रज र बीजको संयोग हो ।
बाबाको बीज र मेरोको रजबाट
तिम्रो शरीर बनेको छ ।
अर्थात् हरेक मान्छेको शरीर,
यौवन, अंग, प्रत्यंग रज हुन् ।
तिमीलाई थाहा छ ?
मेरा रजश्वला रोकिएर
बनेको छ तिम्रो जीवन”
———————-
“तिमीलाई यस धर्तीमा
वास दिने पहिलो व्यक्ति म हुँ ।
मेरो गर्भमा नौ महिना
लजिङ, फुडिङ र अट्याच
बाथरुमको सुविधा सहित
फाइभ स्टार होटलमा नपाइने
२४ घन्टे स्याहर-सुसार
तिमीले पायौं निःशुल्क,
तिमी गर्भमा रहुञ्जेल
मेरो रजश्वलाका हरेक थोपा
तिमीले लिएका छौं ।”
————————
“तिमीलाई दुनियाँको
सबैभन्दा पौष्टिक आहार
खुवाउने मै हुँ ।
मैले खाएर वा नखाएर
मेरो खुशीमा या दुःखमा
रजस्वला भएको बेला
रजश्वला नभएको बेला
दश धारा दुध चौविसै घन्टा
तिमीले खाएका छौं, बेहिसाब ।”
————————
“आज तिमीलाई
अलिकति संकोच छैन,
लाज छैन, अप्ठेरो भएको छैन
मेरो लागि छाउ गोठ बनाउन ?
मलाई रजश्वला भएको भन्दै
घरबाट खेदाउन ?
फेरि भन्छु, तिम्रो जीवन
त्यही “अपवित्र” रगतको थोपा हो,
म छाउँगोठ जाँदा
त्यो अपवित्र शरीर बोकेर
तिमी कता जान्छौं ?”
—————————
“आज मेरो प्रतिज्ञा सुन,
तिमीले छाउगोठका हरेक पर्खाल
नभत्काउञ्जेल सम्म
मेरो रजश्वला बन्द गर्नेछु,
धर्तीको हरेक श्रृष्टि ठप्प पार्नेछु ।
अनि तिमी त्यही छाउगोठमा
चिच्याउने छौ प्रेत बनेर
जीवनको भीख माग्न, अर्थात्,
एक थोपा रजश्वला माग्न ।
तर त्यसबेला
तिमीलाई गर्भावस्थादेखि
अहिलेसम्म खर्च गरेको
मेरो रगत–पसिनाको
एक–एक हिसाब माग्नेछु ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.