-
प्रकाश कुमार कार्की
काठमाडाै: देशकै पुरानो प्रजातान्त्रिक पार्टी जसका संस्थापक नेताहरुले बाँचुञ्जेल दिनुभएको मार्गदर्शक र दिशावोधलाई यदि साच्चिनै गम्भीरतापूर्वक अध्ययन गर्ने हो भने राजीनितक, सामाजिक, आर्थिक हरेक क्षेत्रको अपेक्षित उन्नती र सामाजिक न्यायको लागि उहाँहरुले लिनुभएको तत्कालिन समयका अडान र विचार अनि सिद्धान्तहरु साँच्चै नै अर्थपूर्ण र पर्याप्त वर्तमानमा देखिन्छन् ।
स्थापनाकाल देखि निरन्तर रुपमा बैचारिक एवं सांगठनिक धरातलको खानीको रुपमा आफ्नो जग बसाल्दै पटक–पटक सशस्त्र संघर्षको शंखनाद गरेर, राष्ट्रिय मेलमिलापको नीति लिएर, जनमत संग्रह गर्न वाध्य पारेर, सत्याग्रह भद्रअवज्ञा छेडेर भएपनि नेपाली कांग्रेसले पञ्चायती मसानलाई थर्कमान बनाएको इतिहास आज पनि आम नेपालीको मनमस्तिष्कमा ताजा नै रहेको पाइन्छ ।
आम नेपालीले साँच्चिनै आफ्नो देशको सच्चा अभिभावक र आफ्नो मनमस्तिष्कले रुचाएको पार्टीको रुपमा यसलाई चरितार्थ गरेका थिए । जसको गर्विलो इतिहासका कारण, अनि यसका तत्कालीन समयका त्यागि, निष्ठा र इमान्दार नेताहरु र तमाम कार्यकर्ताका कारण आज नेपाली कांग्रेस अनि लोकतन्त्र एक अर्काका परिपुरक सिद्ध हुनपुगेका छन् ।
नेपाली जनताले र मुलुकले यदि भर लाग्दो लोकतान्त्रिक शक्ति मुलुकमा छ भने नेपाली कांग्रेस नै हो भनेर आजका दिनसम्म विश्वास गर्ने गरेका छन् । यस्तो मुलुकको भर लाग्दो लोकतान्त्रिक शक्ति नेपाली कांग्रेसको गौरवशाली इतिहास भएता पनि वर्तमान समयमा यो पार्टीको आन्तरिक गृहकलहका कारण आज यसले न त आफ्नो पार्टी भित्रको आन्तरिक लोकतन्त्रलाई नै बचाउन सकेको छ न त पार्टीका क्रियाशील अनि सुभेच्छुक मित्रहरुको विश्वास नै जोगाउन सकिरहेको छ ।
कारण विभिन्न अवस्था अनि पटक पटकको राजनीतिक निर्णायक आयामहरुमा नराम्ररी चुकेका यसका नेतृत्व । वर्तमान नेतृत्वलाई पार्टी नेतृत्व जटिल समस्या भएको छ । वर्तमान नेतृत्व यस्तो कठिन अवस्थामा छन् कि, न त पार्टी नेतृत्व नै छाड्ने स्थितिमा छन् न त यसलाई धान्ने शक्ति नै वर्तमान नेतृत्वमा देखिन्छ ।
पार्टीको पटक पटकको जनविश्वास यति शानदारको थियो कि, शानदार विश्वाससँगै शानदार रुपमा अन्र्तघातीहरु पार्टी भित्र यति तीब्र गतिमा विकसित भयो की जसको भेललाई थाम्न सकेन र आज अधिकांस ठाउँहरुमा उही तीब्र गतिको भेल नै नेतृत्वका रुपमा रहेको पाउँछौं । जसका कारण आज देशकै भरलाग्दो, तमाम बेथितिबाट मुलुकलाई मुक्ति दिलाउने लोकतान्त्रिक शक्ति नेपाली कांग्रेस आज अस्तव्यस्त कांग्रेसको रुपमा स्थापित भइरहेको छ ।
हो जहाँ संगठन हुन्छ त्यहाँ गुट हुन्छ, जहाँ गुट हुन्छ त्यहाँ उपगुट हुन्छ र सामान्यतय गुट–उपगुट हुनुभनेको बैचारिक मन्थनको लागि प्रयाप्त थलो मानिन्छ तर यसरी गुटगत राजनीतिमा रुमलिएको कांग्रेसको वर्तमान बैचारिक एवं सांगठनिक धरातल अति नै कमजोर रहेको तितो सत्यबाट हामी भाग्न कदापी सक्दैनौं । गृटगत राजनीतिमा वर्तमानमा रमाएका नेतृत्वका कारण आज प्रमुख प्रतिपक्ष दलको भूमिका कांग्रेस सोचे जतिको क्रियाशील भेटिदैन ।
जुन के.पी. सरकारको लागि सुखद सिद्ध भएको छ । संविधानको धाराले अनि तमाम नेपाली जनबोलीले जहाँजहाँ प्रतिपक्षको उपस्थिति खोजेका छन् त्यहाँ खासै प्रतिपक्ष भेटिदैन । यदि कहिँ कतै प्रतिपक्ष भेटिएता पनि सिमित गुटको मात्र भेटिन्छन् । प्रतिपक्षलाई सरकारका नेताहरुले पेलेको प्रसस्त पाउँदा पनि कहिँ कतै प्रतिपक्षले विरोधसम्म पनि गरिएको पाइदैन । आन्तरिक गुटमा र झगडामा रुमलिएको कांग्रेसको यस्तो रवैयाका कारण तमाम लोकतान्त्रिक कार्यकर्ता अनि तमाम नेपाली जनताको मनमा कांग्रेसको भविष्यप्रति चिन्ता भने अवश्य जगाएको छ ।
देशकै पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेस भित्र स्वयं यति धेरै अलोकतान्त्रिक अभ्यास भइरहेका छन् की चुनावमा यस्तो दुर्गती र पराजय व्यहोर्दा र तमाम नेपाली जनताले यसको भविष्य बारे चिन्ता व्यक्त गरिराखेका बेलामा पनि अझै यसका नेतृत्वमा चेत आजका दिनसम्म पनि पटक्कै खुलेको देखिँदैन ।
कांग्रेसको स्थापनाको कालखण्डसँगै कयौं योद्धाको बलिदानी छ । यसको हिजोको अद्भूत लोकतान्त्रिक संस्कार, पद्धति, प्रणाली आजमात्र नाममा सिमित भएको छ । गौरवमय इतिहास बोकेको कांग्रेसले सधैं हिजोका दिनमा फरक पार्टीको विचार, अनि सिद्धान्तलाई संधै लोकतान्त्रिक तवरले स–सम्मान गर्ने गरेको इतिहासका कारण कांग्रेस कांग्रेस थियो ।
शत्रुलाई पनि मित्रताको पाठ सिकाउने कांग्रेस आज आफ्नै पार्टी भित्रका फरक धारलाई समेत स्वीकार्न सकिरहेको पाइदैन । बन्दुकको नाल, हत्याहिंसामा, अनि बाहुबललाई सघैं हतुसाहित गर्ने, सधैं लोकतान्त्रिक प्रणालीलाई सिरोपर गर्ने कांग्रेस आज विचार अनि सिद्धान्तमा भन्दा पनि मुडेबल÷बाहुबलकै माध्यमबाट नेतृत्वमा विराजमान गरी पेल्ने नीति अख्तियारीमा देखिन्छ । जुन नीतिका कारण आज कांग्रेसलाई इतिहासकै संकटग्रस्त अवस्थामा पुर्याइएको छ ।
विगत ३ बर्षको अन्तरकालमा यसको विचार, राजनीतिक एजेण्डा अनि समृद्धिको मार्गचित्र के हो आजका दिनसम्म पनि पार्टी भित्रैका कार्यकर्ताले बुझ्न सकेका छैनन् भने तमाम जनताको त कुरै नगरौं । लामो ३ बर्षको अवधिमा मुलुकको ज्वलन्त मुद्धा र आम नेपाली जनताको अपेक्षासँग पार्टी जोड्न नसक्दा बर्तमान नेतृत्व आलोचनात्मक पात्र भएका छन् ।
भरोसा योग्य नीति वर्तमान नेतृत्वले दिन नसक्दा आज यसको विकल्प भित्रबाटै खोजिन थालिसकिएको छ भने पार्टी भित्रैबाट यसको वहस पनि थालिसकिएको छ । मानुन् या न मानुन् कांग्रेसलाई एजेण्डा विहिन बनाएर पार्टी भित्रको उदयमान प्रगतिशील धारलाई समाप्त पार्दै पार्टीलाई बोस एण्ड प्रा.लि.मा पुर्याउन खोजिएको आरोप तमाम कार्यकर्ताको वर्तमान नेतृत्वसँग रहेको छ ।
१३ औं महाधिवेशनबाट एकीकृत कांग्रेसको सभापति बनेपछि पार्टीको विधि र पद्धतिमा निजी स्वार्थको सिण्डिकेट हावी भएको छ, जसको फलस्वरुप इतिहासको गर्विलो कांग्रेस आज अलमल सिद्ध भएको छ । वर्तमान नेतृत्वबाट भइरहेको कामकारवाहीलाई मात्र आज सुक्ष्म अध्ययन वा नजर अन्दाज गर्ने हो भने यिनले गरेको काम कारवाहीले नेपालको संविधान र लोकतान्त्रिक धर्म जोगिने त कुरा परै जाओस् स्वयं कांग्रेस नै नजोगिने अवस्थामा पुगेको छ ।
कांग्रेस महासमिति बैठकले सर्वसम्मत पास गरेको विधानलाई केन्द्रीय समितिको संस्थापन पक्षको बहुमतले उल्ट्याउनु भनेको वर्तमान नेतृत्व बाहुवलको आडमा लोकतन्त्र, समाजवाद अनि राष्ट्रियताको नारालाई सदाको लागि मात्र नारामा सिमित राख्न खोजिएको देखियो । यसरी वर्तमान नेतृत्वले गरेका काम कर्तव्य, अलोकतान्त्रिक, संस्कारविहीन हो भनेर जान्दा जान्दै सिमित स्वार्थका लागि सिमित व्यक्तिहरुको प्रोत्सानका कारण आज कांग्रेस वास्तवमै करुणा र दयाको पात्र हुन पुगेको छ ।
पार्टी नेतृत्वको विषयमा खुलेर बोल्न नसक्ने कांग्रेसका नेताहरुबाट कम्युनिष्ट अधिनायकवादको विषयमा हामीले खासै कल्पना गर्न सक्दैनौं । पार्टीलाई लोकतान्त्रिक पार्टी भन्ने अनि पार्टी भित्र पार्टीका नेतृत्वबाट चालिएका अलोकतान्त्रिक क्रियाकलापलाई गहन समर्थन जनाउने ती व्यक्तित्वलाई लोकतन्त्रको मित्र भन्ने वा शत्रु आज यो विषय पनि सोचनीय रहेको छ ।
कांग्रेसको दिनप्रतिदिनको नेतृत्वबाट गरिएको अलोकतान्त्रिक रवैयाको खुलेर बिरुद्धमा आइरहेको कांग्रेस भित्रकै प्रगतिशील गुट पनि भागवण्डामा आफूलाई केन्द्रकृत गरेर पटक पटकको नेतृत्वको अलोकतान्त्रिक बहसलाई वीचैमा तुहाइएको तितो सत्यका कारण आज झन् नेतृत्वलाई अलोकतान्त्रिक क्रियाकलाप गर्न प्रोत्सान भरपूर्ण मिलेको छ ।
नेतृत्वदेखि पार्टीको क्रियाशील सदस्यले मेरो दायित्व र हैसियत के हो भनेर कहिल्यै बुझेनन् । नेतृत्व पार्टीको गुटगत कार्यक्रममा एकले अर्कालाई आरोप प्रत्यारोप लगाउन सिमित देखियो भने अधिकांस क्रियाशील सदस्य वा कांग्रेसका शुभेच्छुक पात्रहरु चिया पसलमा बसेर एक पक्षले अर्का पक्षलाई गाली गलौजमा तीब्र देखियो ।
जसको फलस्वरुप आन्तरिक लोकतन्त्र मर्दै गयो र एक कांग्रेसीको अर्काे कांग्रेसीसँगको विश्वसिनीयता पनि गुम्दै गयो । पार्टी सञ्चालन र संगठन विस्तार बारे कहाँ कहाँ कमजोरी भयो भनेर कहिल्यै एकादुवा ठाउँमा वाहेक अधिकांस ठाउँमा न त समिक्षा गरियो न त विश्लेषण नै ।
जिल्ला, क्षेत्र, गाउँ र नगरको पार्टी संगठन कसरी चलेको छ र त्यहाँको तमाम कार्यकर्ताको अवस्था कस्तो छ भनेर एकदिन पनि चासो दिने काम भएन, सत्तामा बस्दासमेत दुरदराजका कार्यकर्ताको अवस्थाबारे नेतृत्व पार्टीबाट सोधी खोजी कहिल्यै भएन, अधिकांस समय गुट र भागवण्डाको खेती गर्ने र त्यसको चौधेरामा रमाउनेहरुले आज इतिहास बोकेको एक गर्विलो लोकतान्त्रिक शक्ति नेपाली कांग्रेसलाई सिमित चौघेरामा पुर्याएको तितो सत्य हो वर्तमान कांग्रेसको अवस्था ।
कार्यकर्तामा केही हदसम्म मरेको उत्साह, जाँगर र हौसलालाई पुनर्जागरण गराउनुपर्ने बर्तमान आवश्यकतालाई नजर अन्दाज नगरी खाली नेतृत्व, पार्टीमा आफ्नो पक्षका व्यक्तिलाई पदस्थापन गराउन ओहोरात खटिएको देख्दा आज कांग्रेस एकदम कष्टकार र पीडादायक अवस्थामा रहेको छ । कम्युनिष्ट सरकारको अगाडि वर्तमान नेतृत्वको कार्यशैलीका कारण कांग्रेस वास्तवमा नै लाचारी सावित भइरहेको छ ।
पार्टी भित्र केही नेताद्वयहरुबाट सत्तापक्षबाट गरिएको अधिनायकवाद बिरुद्धको संघर्षको कार्यक्रम तय गर्दा कांग्रेसभित्रबाट त्यसको आलोचना हुँदा चाहिँ साच्चिकै आश्चर्यचकित लाग्छ । सिमित मुद्दा बाहेक अधिकांस मुद्दालाई वेवास्ता गरी पार्टी नेतृत्वबाट सत्तापक्षको विरोधमा कार्यक्रम तय गर्दा कहिले काहीँ वर्तमान कांग्रेस नेतृत्व कुन धारमा उभिरहेको छ भन्ने शंकासम्म पैदा गरिरहेको छ ।
वर्तमान समय सबै गुटगत समस्यालाई सदाको लागि अन्त्य गरी एकजुट भएर सत्तापक्षको संविधान विपरित कार्यको विरुद्धमा उभिनुपर्नेमा आज आफै बैशाकीको भरमा उभिरहेको छ । कांग्रेस कांग्रेसभित्र बाटै एक गुटले अर्काे गुटको बैशाकी खोस्ने क्रममा तल्लिन देखिन्छ । आफ्नै साथीको अपमान गरेर अरुबाट सम्मानको अपेक्षामा रुमलिएको छ वर्तमान कांग्रेस ।
आफ्नो पार्टीलाई विधान अनुसार चलाउन नसक्ने वर्तमान कांग्रेस नेतृत्वबाट कम्युनिष्टसँग लड्ने सपना देख्नु भनेको ‘आकासको फल आँखा तरि मर’ बाहेक केही सिद्ध हुने जस्तो देखिँदैन । हालको अवस्थामा तत्काल सम्पूर्ण गुटगत समस्याको समाधान गरी वर्तमान कांग्रेस नेतृत्वको विकल्प खोजी कम्युनिष्ट अधिनायकवाद विरुद्धको विरोधमा मैदानमा नजाने हो भने कम्युनिष्ट भेल भविष्यमा रोक्ने सामथ्र्य बनाउनका लागि कांग्रेसलाई कयौं दशकको आवश्यकता पर्नेमा कुनै शंका रहेको छैन ।
पूर्वग्रहपूर्ण रवैयाको कारण पार्टीका सबै तहलाई व्यवस्थित गर्न कांग्रेसले नसक्दा, पार्टीका भातृ संगठनहरुलाई कामकाजी, क्रियाशील, गतिशील बनाउन सकिएन जसले गर्दा पार्टी कार्यकर्तामा आज राजनीतिक अनुशासनको चरम अभाव सिर्जना भएको छ । आम नेपालीले विश्वास गरेको पार्टी भनेर गत निर्वाचनको समानुपातिक मतपरिणामले संकेत पनि गरिसकेको छ ।
कांग्रेस भित्रकाले आम नेपालीको रहर लाग्दो र भर लाग्दो नेता बन्न विगतका इतिहासलाई संस्थागत गर्न र कार्यकर्तामा रुपान्तरणका लागि आधुनिक पार्टीका लागि अब ठूलै कसरत गर्नुपर्ने देखिन्छ । जुन कसरत वर्तमान नेतृत्वबाट सम्भव देखिन्न । नयाँ नेतृत्वको आवश्यकतालाई यदि कांग्रेसजनले तत्काल परिपूर्ण गरेमा भोलिका दिनमा कांग्रेसको इतिहास यथावत रहनेमा कुनै दुईमत छैन ।