सरकारले गत मंगलबार ल्याएको बजेटको तीव्र आलोचना भइरहेकै परिस्थितिबीच बजेटका लक्ष्य तथा कार्यक्रम कार्यान्वयन हुने दाबी अर्थमन्त्री डा. युवराज खतिवडाले गरेका छन् । अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी अर्थमन्त्री खतिवडाले यस्तो दाबी गरेका हुन् ।
पाँच वर्षमा कृषि उत्पादनलाई दोब्बर गर्ने र निर्माण सामग्रीमा आत्मनिर्भर बनाउँदै लगिने उल्लेख गर्दै अर्थमन्त्री खतिवडाले अन्तर्राष्ट्रिय सीमानाकाका सडक विस्तार, सुरुङ मार्गको प्रविधि र रेल्वेको विकासमा बजेटले जोड दिएको जनाए ।
कृषि तथा सेवा क्षेत्रमा हुने विस्तार एवं वृद्धिले आगामी अर्थिक वर्षका लागि लिइएको आठ प्रतिशतको आर्थिक वृद्धिदरसहितका अन्य लक्ष्य पूरा हुने उनले बताए । कृषि क्षेत्रको औसत वृद्धिदर ४.५ प्रतिशत रहेको, १२ प्रतिशतको औद्योगिक क्षेत्रको वृद्धि अपेक्षा गरिएको भन्दै उनले मेलम्ची र तामाकोशी आयोजना आगामी आवमा सम्पन्न हुने भएकाले त्यसको सकारात्मक असर पर्ने बताए ।
औद्योगिक क्षेत्रको वृद्धिदरमा शंका नगर्न आग्रह गर्दै अर्थमनत्रीले सेवा क्षेत्रमा १२ प्रतिशतले विस्तार हुने र बजेटको लक्ष्य पूरा हुने दाबी गरे । औद्योगिक र सेवा क्षेत्रमा आएको विस्तार तथा सरकारले अगाडि बढाएका रोजगारीसम्बन्धी कार्यक्रमले आगामी आर्थिक वर्षमा थप पाँच लाख व्यक्तिले रोजगार पाउने उनको जिकीर छ ।
सरकारले नियमन गर्ने कार्यमा कडाइ गर्ने जानकारी दिँदै अर्थमन्त्री खतिवडाले भने, ‘राज्यको मार्गदर्शनभन्दा बाहिर कोही पनि जान पाउँदैन । राज्यले व्यवसाय गर्ने अवसर सबैलाई दिन्छ तर उनीहरूले पालना गर्नुपर्ने दायित्व पूरा गराइन्छ । राज्यले जनताका पक्षमा गर्न खोजेका कुरालाई अनादर गर्ने छुट कसैलाई हुँदैन ।’