बुटवल , चैत ४। गुल्मीको इस्मा गाउँपालिका–६ अमरपुरका २७ वर्षीय कृष्ण सुनार (बेले) ले गुल्मी–बुटवल खण्डमा दिनहुँ जिप चलाउँछन्। सिद्धबाबा राजमार्गअन्तर्गत पर्ने यही खण्डमा उनले नियमित यात्रुबाहक जिप चलाउन थालेको करिब एक दशक भयो। यात्रुको चाप हुँदा कहिलेकाहीँ दिनमै दुईपटक ओहोरदोहोर गर्छन्। दसंै, तिहारमा त तीन पटकसमेत ओहोरदोहोर गरेको अनुभव उनको छ। पहाडी जिल्लाबाट बुटवलमा बसोवास गर्नेहरूमध्ये सबैभन्दा धेरै गुल्मीका नागरिक छन्।
लामो यात्राका क्रममा चालकलाई मात्र होइन्, यात्रुलाई पनि गन्तव्यमा पुग्नै लाग्दा मनमा उत्साह र उमंग हुनेगर्छ। तर, १० वर्षदेखि नियमित जिप चलाइरहेका सुनारलाई पाल्पाको तिनाउ गाउँपालिकास्थित सिद्धबाबा सडक खण्डमा आइपुग्दा कहिल्यै मनमा शान्ति भएन। सिद्धबाबादेखि बुटवल बजार पुग्न करिब ५ किलोमिटर मात्र छ।
गुल्मीको अमरपुरदेखि १ सय ३० किलोमिटर यात्रा गर्दा ढुक्कसँग जिप चलाउने उनलाई ५ किलोमिटरको यही सडकले सदैव त्रास दिन्छ। बर्सेनि पहिरो र ढुंगा खसेर सिद्धबाबा सडकले सताइरहन्छ। ‘सिद्धबाबा सडक पार गरेपछि यात्रुले पनि घरमा फोन गरेर सिद्धबाबा कट्यौं भनेर खबर सुनाउँछन्’, सुनारले भने, ‘दिनहुँ मनमा त्रास हुने यो सडकमा कहिले ढुक्कसँग हिँड्न पाइएलाजस्तो हुन्छ।’
बर्खाको समयमा यात्रुहरू त्रासैत्रासमा यात्रा गर्न बाध्य छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार पछिल्लो तीन आर्थिक वर्षमा यस सडक खण्डमा २९ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा परी १० जनाको ज्यान गएको छ।
७ अर्ब ३४ करोड लागत
दैनिक हजारौं गुड्छन् सवारी
दर्जनौं जिल्लाका लाखौं नागरिक लाभान्वित
५० जना घाइते भएका छन्। सुरुङ मार्ग निर्माण भएकै क्षेत्रमा पछिल्लो तीन वर्षको अवधिमा आठवटा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु र १४ जना घाइते भएका छन्। लुम्बिनी प्रदेशका पहाडी जिल्लाहरूमा पर्ने पाल्पा, गुल्मी, अर्घाखाँची, केही भाग प्यूठानसहित गण्डकी प्रदेशका स्याङ्जा, बागलुङ, कास्की, पर्वत र म्याग्दीका नागरिकहरूको व्यापार व्यवसाय गर्ने थलो बुटवल हो। भैरहवास्थित भारतीय सिमानाका नजिक भएकाले पनि यस क्षेत्र अन्य जिल्लाका नागरिकहरूको व्यापारिक थलो बनेको छ। यस सडक भएर दैनिक दुई हजारभन्दा बढी सवारीसाधन ओहोरदोहोर गर्छन्।
सुरुङमार्गले नागरिकमा पलाएको आशा
नागरिकलाई सताइरहेको सिद्धबाबा सडक खण्डमा निर्माण भइरहेको सुरुङ मार्गले सर्वसाधारण नागरिक उत्साहित भएका छन्। सबैभन्दा जोखिम क्षेत्रमै सुरुङ मार्ग निर्माण भएपछि चालक र यात्रुहरू उत्साहित भएका हुन्। ‘सुरुङमार्ग निर्माणको काम समयमै पूरा हुनुपर्छ’, पश्चिम नेपाल बस व्यवसायी संघ बुटवलका अध्यक्ष दधिराम खरेलले भने, ‘डराएर यात्रा गर्ने यात्रुलाई बन्दै गरेको सुरुङ मार्गले आत्मबल बढाएको छ। यो चालकलाई मात्र नभएर पैदल यात्रीका लागि पनि त्रासको सडक हो।’
उनले सिद्धबाबा सडक क्षेत्रमा माथिबाट ढुंगा खस्ने र पहिरोको धेरै जोखिम खेप्नुपरेको बताए। पश्चिम नेपालअन्तर्गतका सवारीसाधन पाँच/पाँच मिनेटको अन्तरमा यसै सडक भएर विभिन्न जिल्लामा छुट्ने गरेको उनले जानकारी दिए।
एक हजार १ सय २६ मिटर लम्बाइको सुरुङमार्ग निर्माणको ठेक्का ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन’ ले लिएको छ। हालसम्म १० प्रतिशत निर्माणको काम पूरा भइसकेको सिद्धबाबा सुरुङमार्ग परियोजनाकी इन्जिनियर सविता ज्ञवालीले जानकारी दिइन्। उनका अनुसार परियोजनाको कुल लागत ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ छ। पाँच वर्षभित्र निर्माणको सबै काम पूरा गर्नेगरी २०७८ साल फागुनमा परियोजनाको सम्झौता भएको थियो। सुरुङ मार्ग निर्माणका लागि स्विस सरकारले सहयोग गरेको छ।
सुरुङमार्गका साइट इन्जिनियर श्रृजेश पौडेलका अनुसार सुरुमार्ग क्षेत्र बाहेक माथिल्लो र तल्लो सिद्धबाबा क्षेत्रको बुटवलतर्फ ९ सय ४ र पाल्पातर्फ १ हजार ४ सय ९४ मिटर सडकको समेत स्तरोन्नति गर्ने योजना छ। ‘पहिरो खस्ने क्षेत्रमा सडकमाथि छत (रक सेड) लगाउँदै छांै’, पौडेलले भने, ‘त्यसपछि माथिको पहिरो सडकमा खस्दैन् र दुर्घटना नियन्त्रण गर्छ।’ निर्माण स्थलमा एक सय ५० जना मजदुरले २४सैं घण्टा काम गरिरहेका छन्। तत्कालीन अर्थमन्त्री एवं रुपन्देही–२ का प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले निरन्तर जोडबलका कारण सुरुङ मार्ग निर्माणको थालनी भएको बुटवलका नागरिकहरू बताउँछन्।
सुरुङ मार्ग निर्माण भएपछि सडक दुर्घटनालाई कमी गर्ने नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले आशा व्यक्त गरे। ‘गाडीकै लाइटको प्रकाशले चालकले सवारी चलाउनुपर्ने बाध्यता छ’, खत्रीले भने, ‘सुरुङ मार्गमा सडक बत्ती हुन्छ। व्यवस्थित हुने भएकाले ट्राफिक परिचालन पनि गर्नुपर्दैन।’ उनले विकसित देशहरूमा सयौं किलोमिटर सुरुङ मार्ग निर्माण गर्ने भएकाले सडक सुरक्षा धेरै बलियो हुने देखिएको बताए। बुटवल–पाल्पा सडक खण्डमा बुटवल, भैरहवा क्षेत्रका सिमेन्ट उद्योगहरूमा जाने टिपरहरूको बाक्लो ओहोरदोहोर हुने भएकाले सडकबत्ती जडानका लागि पहल गर्न सम्बन्धित निकायलाई उनले आग्रहसमेत गरे।
(अन्नपुर्णबाट)