भीड बढ्दै जाँदा एक्लो हुँदैछ मानिस

| 2023 Dec 13 | 08:48 am 729

काठमाण्डौ, मंसिर २७ । भगवान गौतम बुद्धलाई कसैले सोध्यो, ‘मानिसलाई अरुको साथ नभइनहुने कुरा हो कि उ एक्लै पनि अघि बढ्न सक्छ ?’ बुद्धले भन्नुभयो- ‘साथमा कस्तो मान्छे छ, त्यसमा भरपर्छ । गलत मान्छेका साथमा यात्रा गर्नुभन्दा एक्लै हिँड्नु राम्रो हो ।’

हिजोआज मानिसहरू आफ्नो वरिपरि कोही होस्, नहोस् जतिबेला पनि मानिसहरूको भीडमा छन् । पहिला आमने-सामने बसेर कुराकानी गर्थे, एकार्काका दुःखसुख बाँड्थे । अहिले यो ठाउँ सामाजिक संजालले लिएको छ । संजालमा मानिसहरू यसरी जोडिएका छन् कि घरपरिवार, समाज र देशमा मात्र नभइ विभिन्न देशमा साथीहरू बनेका छन् । तर मानिसहरूको यो भीडमा मान्छे एक्लो बन्दैछ, बनिरहेको छ । आफ्ना कुरा सेयर गर्ने मान्छे नपाएर हो या एक्लोपनबाट गुज्रिएर सहानुभूति लिनका लागि हो घर-परिवारमै भन्नुपर्ने, परिवारका सदस्यबीचमै बसेर समाधान गर्न सकिने कुराहरू इन्टरनेटमार्फत विभिन्न संजालमा लाइभ बसेर भीडलाई सुनाउन थाले । केही सयमयता कतिपय मानिसले बोल्ने, हाँस्ने, रुने, कराउने सबै काम भर्चुअल भीडका अगाडि बसेर गर्न थालेका छन् ।

मानिसहरूलाई अहिले खानलाउन भन्दा बढी सम्बन्धमा समस्या देखिएको छ । पतिको पत्नीसँग समस्या, पत्नीको पतिसँग समस्या, प्रेमी-प्रेमिकाबीचका सम्बन्धहरू त्यस्तै छन् । केही वर्षअघिसम्म पतिको प्रेमिका या पत्नीको प्रेमी भएको सुनिन्थ्यो अहिले त प्रेमीको पनि प्रेमिका र प्रमिकाको पनि प्रेमी हुनेरहेछ । यस प्रकारका सम्बन्धसँग जोडिएका कतिपय घटनाहरू सार्वजनिक भएका छन् । प्रेमिकाको प्रेमीले हत्या गरेको या प्रेमीको प्रेमिकाले धम्क्याएका अनेक घटना बाहिर आइरहेका छन् । मानिसमा आर्थिक, राजनीतिक मात्र नभइ भावनात्मक विचलन पनि त्यत्तिकै बढिरहेको छ । यस्तो बेलामा मानिसले आफूले आफैलाई सम्हाल्नुपर्ने हो तर त्यस्तो देखिएको छैन । सम्बन्धमा कुनै समस्या आए त्यसको अन्तिम समाधानका लागि अभ्यास गर्न सकिने या अभ्यास गर्न मिल्ने कानूनी प्रक्रियामा जानुभन्दा फेसबुक लाइभमा बसेर रोइकराई गर्नेहरूको सङ्ख्या बढ्दैछ ।

मानिस जन्मिदा एक्लै जन्मिन्छ, मर्दा पनि एक्लै मर्छ । जन्म र मृत्युको बीचमा जे-जे हुन्छ त्यसमा हामी धेरै मानिसहरूलाई सहभागी बनाइरहेका हुन्छौँ । आफ्नो जीवनमा कोही आएपनि, नआएपनि, भएपनि, नभएपनि अरुको प्रभाव नपर्ने गरी आफूलाई बनाउन सक्यो भने जीवनमा यस्ता रुवावासी गर्नै पर्दैन । कसैको अगाडि रोएर, कराएर हुनेपनि केही होइन । मानिसले आफ्नो भावनाको नियन्त्रण अरुको मनमा छोडुञ्जेल जीवन बाँच्न सहज हुँदैन । त्यसैले आफूले आफैलाई संहाल्नका लागि आफैभित्र काम गर्नु आवश्यक छ, आफू र आफ्नो मनलाई दह्रो बनाउनु जरुरी छ । सम्बन्धमा समस्या भएकाले मात्र नभइ म कुनैपनि समय एक्लै हुन सक्छु भन्ने कुराको ख्याल सबैले मनमा राख्नैपर्छ । जतिसुकै राम्रो सम्बन्ध भएका, मिल्ने र आफूलाई राम्रो गर्ने मानिस आफ्नो साथमा भएपनि मृत्युमा अघिपछि हुन्छ नै । भविष्यमा जेपनि हुनसक्छ, अन्ततः म एक्लै हुनसक्छु, त्यस्तो बेलामा मैले के गर्ने ? भन्ने योजनाको खाका मानिसले आफ्नो मन-मष्तिष्कमा कोरिरहनुपर्छ ।

झट्ट सुन्दा स्वार्थी लाग्नसक्छ तर मानिसलाई अरुको भन्दा आफ्नो साथ बढी महत्वपूर्ण हुन्छ । हामी आफूले आफैलाई साथ दिएनौँ भने अरुले साथ देला भनेर सोच्नु या अपेक्षा गर्नु ब्यर्थ छ । आफूलाई साथ दिनु भनेको आफ्नो शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्यमा ध्यान दिनु हो । आफूले बोल्ने शब्दहरूको चयनमा ख्याल गर्नु हो । हाम्रो सोचले कर्मलाई निर्धारण र निर्देशन गर्छ । सोचलाई राम्रो बनाउनु आफूलाई सशक्त बनाउनु हो । मानिसको जीवनमा आफूभन्दा शक्तिशाली यो संसारमा अरु कोही हुँदैन । मनैबाट आफू सशक्त हुने हो भने धेरै कुरा गौण लाग्दै जान्छन् । अरुले दिलाएको पद, पदले दिलाएको प्रतिष्ठा क्षणिक हुन् । हामी आफूले आफैलाई दिलाएको सम्मान, आर्जन गरेको ज्ञान, सीप, प्रतिष्ठा कसैले खोस्न सक्दैन, बाँचुन्जेल आफूसँगै रहन्छन् ।

हामीलाई हुर्काउँदा परिवारका सदस्य र आफन्तहरूसँगको सामिप्यताको अर्थ बुझाउँदै हुर्काइयो । स्कुलमा पढाउँदा मानिस सामाजिक प्राणी हो भन्ने पढाइयो । हामीमध्ये कसैलाई पनि एक्लै जीवन बाँच्न सिकाइएको छैन । सानैदेखि अरुलाई कस्तो ब्यवहार गर्ने भनेर सिकाइयो तर आफैसँग कस्तो ब्यवहार गर्ने भन्ने सिकाइएको छैन । परिणामतः हामी आफूले आफैले जोखिमपूर्ण ब्यवहार गरिरहेका हुन्छौँ । मानिसको जीवनमा अरुका कारणले भन्दा आफ्नै कारणले बढी दुख, कष्ट निम्तिइरहेको हुन्छ । खानेकुरादेखि अरुलाई गर्ने ब्यवहार र जीवन शैलीसम्म यसमा पर्छन् ।

त्यसो भए के जीवनमा कसैको साथ जरुरी छैन ? एक्लाएक्लै भयो भने यो संसार कस्तो होला ? एक्लै पनि बाँच्न सक्छु भनेर आफूले आफूलाई तयार गर्नुको अर्थ मानिसले घरमा या जहाँ बसेपनि एक्लै बस्नुपर्छ भन्ने होइन । मानिसको जीवनमा आफ्नोपन आवश्यक छ, सम्बन्धहरू पनि चाहिन्छ । मलाई कसैले माया गर्छ भन्ने भ्रम भइरहनु पनि स्वास्थका लागि राम्रो हो । किनभनें मानिस जतिसुकै ब्यस्त भएपनि, जतिसुकै ठुलो पदमा पुगेपनि या ध्वस्त भएपनि जीवनमा भएका कतिपय घटना र तिनका यादबाट टाढा रहन सक्दैन । तर ती सब भएनन् भने पनि फरक नपर्ने गरी आफूलाई बनाउनु आवश्यक भने हुन्छ । एक्लै बस्ने अभ्यास हामीमध्ये ज्यादै कममा मात्रै छ । कसैले म एक्लै बस्छु भन्यो भने त्यसलाई हाम्रो समाजमा धेरै ठुलो कुरा ठान्दै प्रश्न गरिन्छ, एक्लै ? कसरी सकेको होला…! उ सहानुभुतिको पात्र बन्छ । एक्लै हुनु र एक्लोपन ‘फिल’ गर्नु फरक कुरा हो । एक्लोपन महसूस गर्नबाट भने सकेसम्म आफूलाई टाढा राख्नुपर्छ । भगवान् गौतम बुद्धले २५ सय वर्षअगाडि आफैभित्र धेरै ठुलो अनुसन्धान गरेर ‘मानिस आफैभित्र हराएर एक्लै बस्न सक्यो भने दुःखी र एक्लो नहुने’ बताउनुभएको थियो ।

प्रविधि, सोच, ब्यवहार धेरै कुराले मानिस फरक परिस्थितमा बाँचिरहेको छ । आफूवरिपरि भीड बढ्दै जाँदा मानिस एक्लो हुँदैछ । अरुले हेर्ने बाहिरी आवरण र आफूले बाँचेको वास्तविकताको दूरी बढ्दो छ । यो दूरीको ब्यवस्थापन अरुले गर्न सक्दैन, आफैले गर्ने हो । त्यसैले अरुले के भन्यो, के गऱ्यो भनेर दुःखी हुनुभन्दा आफूलाई सशक्त बनाएर तनावरहित यात्राको सुरुवात गर्नु राम्रो हो । म एक्लो भएँ भनेर भीडलाई सुनाउँदै हिँड्नुभन्दा हामी सबै नै कुनैपनि बेला एक्लै हुनसक्छौँ तर जीवन त अघि बढाउनैपर्छ भनेर कर्म गर्दै अघि बढ्नु जिन्दगीको सही निर्णय हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.