भ्रष्टहरू विरुद्ध स्टिङ अपरेशन जरुरी : गृहमन्त्री

रिपोर्ट नेपाल | 2018 May 31 | 11:54 am 5606

रत्ननगर, चितवन १७ जेठ : गृहमन्त्री रामबहादुर थापाले भ्रष्टाचारी विरुद्ध स्टिङ अपरेशन जरुरी रहेको बताएका छन् । बिहीबार चितवनको सौराहामा नेपाल फोटो पत्रकार महासंघको पहिलो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै गृहमन्त्री भ्रष्टाचारी विरुद्ध स्टिङ अपरेशन जरुरी रहेको बताएका हुन् ।

उनले देशको विकास र समृद्धिमा भ्रष्टाचारी र दलालहरुले अवरोध गरिरहेको भन्दै त्यस विरुद्ध लाग्न पत्रकारलाई आग्रह गरेका छन् । “भ्रष्टहरु, जसले देशको अर्थतन्त्रलाई खोक्रो बनाइरहेका छन, तिनीहरूको स्टिङ अपरेशन गर्नु जरुरी छ, चाहे अड्डाअदालतमा हुन् अथवा विभिन्न संघ संस्था या विभिन्न व्यावसायिक क्षेत्रका हुन” गृहमन्त्री थापाले भने।

लागुऔषध कारोबारी, राजश्व छल्ने, भ्रष्टाचारी, दलाल, तस्कर, नोकरशाह, पुँजिपति, राष्ट्र विरोधीको फोटो सार्वजनिक गर्न जरुरी रहेको भन्दै उहाँले फोटो पत्रकारलाई ध्यानाकर्षण गराए ।  विकास विरोधी ठेकेदारको फोटो सार्वजनिक गर्नुपर्नेमा जोड दिँदै उनले राम्रा काम गर्ने ठेकेदारलाई भने अगाडि बढाउनु जरुरी रहेको औंल्याए। नेपालको विकासमा मुख्य बाधक भनेको सामन्तवादी होइन, तस्कर, सिण्डिकेटवाला, दलाल भ्रष्टाचारी नै भएको गृहमन्त्री थापाले ठोकुवा गरे। उनले तिनीहरूको फोटो खलनायकको रुपमा र विकास विरोधीको रुपमा अगाडि ल्याउनु जरुरी रहेको जिकिर गरे।

पत्रकारिता देश र जनताको विकास र समृद्धिका लागि हुनुपर्नेमा गृहमन्त्री थापाको जोड थियो। पत्रकारसँग सहकार्य गर्न सरकार तयार रहेको उनले बताए।कार्यक्रममा नेकपाका नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले भ्रष्टाचार समृद्धिको बाधक हुने उल्लेख गरे। पत्रकारले आर्थिक विकासतर्फ ध्यान दिनुपर्ने भन्दै पाण्डेले लोकतन्त्र आइसकेकाले कसैले पनि पत्रकारको अधिकार खोस्न नसक्ने दाबी गरे।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.