काठमाडौं, १७ असार : फुटबलका महारथी लियोनेल मेस्सी रुसमा जारी विश्वकपबाट बाहिरिएका छन् । मेस्सीसँगै अर्को महारथी पनि घर जानु पर्यो त्यो हो क्रिष्टियानो रोनाल्डो । फुटबलका दुई महारथी एकै दिन घर फर्कनु पर्यो । यसले फुटबल प्रेमीहरूलाई नै स्तब्ध बनायो ।
मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना फ्रान्ससँग ४-३ गोल अन्तरले पराजित भयो भने रोनाल्डोको कप्तानीमा पोर्चुगल उरुग्वेसँग २-१ गोल अन्तरले पराजित भयो ।
यो सन् १९७० यता विश्वकपको नकआउट चरणका खेलमा एकै दिन भएको सबैभन्दा धेरै गोल हो । तर विश्व फुटबलका दुई महानहस्तीहरुले गोल गर्न सकेनन् र घर फर्कनु पर्यो मेस्सी र रोनाल्डो । विश्व फुटबलको इतिहासमा यो दिनको सम्झना भइरहने छ ।
मेस्सीको बहिर्गमन निराशाजनक
फ्रान्ससँगको प्रतिस्पर्धात्मक खेलमा हार बेहोरेपछि मैदानबाट बाहिर निस्किँदै गर्दा मेस्सीले पखुरामा बाँधेको कप्तानको पट्टी फुकालेर हातमा लिएका थिए। सुरुङ हुँदै बाहिर निस्कने क्रममा उनले एक पटक पनि पछाडि फर्केएर हेरेनन्।
‘विश्वकप नजितेपनि मेस्सी महान्’
जर्मनीका विश्वकप विजेता यार्गेन क्लिन्समेन भन्छन्, आर्जेन्टिनाले मेस्सीलाई वास्तवमा कहिल्यै चिन्नै सकेन। यस पटक पनि एकदमै उथलपुथल पूर्ण विश्वकप यात्रामा मेस्सीले आर्जेन्टिनाको अपेक्षालाई आफ्नो काँधमा लिएका थिए।
क्लिन्समेन भन्छन्, “पहिलो हाफमा उनी एक्लो देखिन्थे, दोस्रो हाफमा त उनले मुस्किलले बल छोए।”
मेस्सीलाई सर्वकालीन ‘महान्’ खेलाडी मान्न उनले विश्वकप जित्न आवश्यक नरहेको भूतपूर्व स्ट्राइकर हेर्नान क्रेस्पोले पनि बताएका छन्। उनले भने, विश्वकप नजितेका भए पनि धेरै खेलाडीहरू हाम्रो स्मृतिमा महान् भएर रहेका छन्। मेस्सी गज्जबका खेलाडी हुन्। उनले खेलेको हेर्न मलाई मन पर्छ र उनी राम्रा व्यक्ति हुन्। विश्वकप जित्न उनी योग्य छन्।
दुःखद
आर्जेन्टिना बार्सिलोना क्लबका खेलाडीहरूले जसरी मेस्सीलाई नियमित रूपमा बल दिन विफल देखिएको थियो। फ्रान्सविरुद्धको खेलमा ‘बक्स’ क्षेत्रमा उनले जम्मा चार पटक बल छोएका थिए र एक पटक फ्रान्सविरुद्ध गोलपोष्टमा आक्रमण गरेका थिए।
सन् २०१६ मा राष्ट्रिय टोलीबाट सन्यास लिएको घोषणा गरेका मेस्सीले पुनस् त्यसलाई उल्टाएका थिए। एकजना स्पेनी फुटबल विशेषज्ञ भन्छन्, “मेस्सी जस्ता सम्भवतः महान् खेलाडी घर गएको देख्नु दुःखद अवस्था हो। उनलाई थाहा थियो कि यस्तो टोली लिएर उनले विश्वकपमा केही गर्न सक्ने छैनन्। आर्जेन्टिना भावनाले जोडिएको थियो। तर टोली पूर्ण रूपमा भद्रगोलको अवस्थामा थियो।”
आइसल्याण्डविरुद्धको पहिलो खेलमा पेनाल्टीमार्फत गोल हान्ने अवसर गुमाए र क्रोएसियाविरुद्धको खेलअघि राष्ट्रियगान बजिरहँदा उनी तनावमा देखिएका थिए।