होटलदेखि चिया बगानसम्मको व्यवसायमा चलचित्रकर्मी

| 2023 Aug 03 | 07:30 am 3333

काठमाडौँ, साउन १८। अभिनेता दयाहाङ राई नेपाली चलचित्र क्षेत्रमा अहिलेका सबैभन्दा व्यस्त नायक हुन् । एउटा चलचित्रबाटै २५ लाख रुपैयाँ पारिश्रमिक लिनथालेका यी अभिनेताले वर्षमा ६ वटासम्म चलचित्रमा काम गर्न भ्याएका छन् । तैपनि, चलचित्रको कमाइबाट मात्र उनी सन्तुष्ट छैनन् । उनले रेस्टुरेन्ट व्यवसाय पनि सुरु गरेका छन् ।

काठमाडौंको थापागाउँमा रहेको मण्डला थिएटरको रुफटपमा अभिनेता दयाहाङले रेस्टुरेन्ट तथा बार खोलेका छन् । बंगुरको मासुको स्पेसल परिकार पाउने यस रेस्टुरेन्टमा प्रायः सबै कलाकारको जमघट हुने गरेको छ । ‘साथीहरूलाई जमघटका लागि सजिलो पनि होस् र साइड बिजनेस पनि होस् भनेर यो रेस्टुरेन्ट सञ्चालन गरेको हुँ,’ अभिनेता दयाहाङले भने, ‘अहिले राम्रोसँग चलेको छ ।’

यही रेस्टुरेन्टमा हालै चलचित्र नीरफूलको पत्रकार सम्मेलन गर्दैगर्दा दयाहाङले आफ्नो रेस्टुरेन्टको विशेषता’bout बताएका हुन् । चलचित्रका कलाकारहरूको अभिनयसँगै अन्य व्यवसाय हुँदा जीवनशैली अझ राम्रो हुने अभिनेता दयाहाङको कथन छ ।

अभिनेत्री पूजा शर्मा पनि पछिल्लो समय रेस्टुरेन्ट व्यवसायमा व्यस्त छिन् । उनले ललितपुरको झम्सिखेलमा नयाँ रेस्टुरेन्ट ‘ट्याग’ सुरु गरेकी छन् । पछिल्ला दुई वर्षबाट अभिनेत्री पूजाले चलचित्रमा काम गरेकी थिइनन् । हालै मात्र उनी नयाँ चलचित्रको छायांकनमा छिन् । आफ्नो फुर्सदलाई सदुपयोग गर्दै उनले रेस्टुरेन्ट व्यवसाय सुरु गरेकी हुन् । चलचित्रको काममा सधैं व्यस्त हुने भएकाले साइड बिजनेसका रूपमा आफूले रेस्टुरेन्ट व्यवसाय सुरु गरेको यी अभिनेत्रीको कथन छ ।

दयाहाङ र पूजा मात्र होइन, अरू थुप्रै अभिनेता–अभिनेत्रीको रेस्टुरेन्ट व्यवसाय रहेको छ । रेस्टुरेन्ट व्यवसायमा सर्वाधिक सफलता हासिल गर्नेमा अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइराला पनि हुन् । यी दम्पतीले कोभिडअघि नै काठमाडौंमा चिया अड्डा सुरु गरेका थिए । काठमाडौंको बानेश्वरबाट सुरु गरिएको चिया अड्डा अहिले थुप्रै ठाउँमा छ । हेर्दा चिया व्यापार सामान्य देखिने भए पनि नेपालीमा चिया पिउने कल्चर रहेकाले यो राम्रो व्यवसाय बनेको अभिनेता संजोगको भनाइ छ । सोही कारण उनले चिया अड्डा सञ्चालन गरेका रहेछन् । बानेश्वरको चिया अड्डामा वर्षा र संजोगसँगै दीपकराज गिरी र दीपाश्री निरौलाको पनि साझेदारी रहेको छ । संजोगले बानेश्वरपछि, ठमेल, त्रिपुरेश्वर, बागबजारसहित थुपै्र स्थानमा चिया अड्डा सञ्चालन गरेका छन् । अभिनेता संजोग र अभिनेत्री वर्षाले सञ्चालन गरेको चिया अड्डा चिया पारखीका लागि आकर्षणको केन्द्र बनेको छ ।

अभिनेता संजोग बिजनेस कन्सल्टेन्ट तथा सेयर व्यवसायमा पनि संलग्न छन् । आफू अभिनेता भए पनि उनले चलचित्रलाई साइड बिजनेस बनाएका छन् । आफ्नो ठुलो लगानी सेयर मार्केटमा रहेको यी अभिनेताको कथन छ ।

रेस्टुरेन्ट व्यवसायमा जमेकी अर्की अभिनेत्री श्वेता खड्का हुन् । उनले लामो समयदेखि हिमालय जावा कफी चेन सञ्चालन गरेकी छन् । काठमाडौंको राइजिङ मल, मार्कोपोलो बिजनेस होटल कमलपोखरी तथा बालुवाटारमा यी अभिनेत्रीको हिमालय जाभा कफी सप तथा क्याफे सञ्चलानमा रहेको छ । बालुवाटारमा कफीसपसँगै उनको ठुलो रेस्टुरेन्ट रहेको छ । अभिनेत्री श्वेता पछिल्लो समय चलचित्रभन्दा होटल व्यवसायमा जमेकी छन् ।

होटल व्यवसायमै जमेका अर्का हास्यव्यंग्य अभिनेता केदारप्रसाद घिमिरे (माग्ने बुढा) हुन् । उनले काठमाडौंको चेन क्याफे तथा होटल ‘ए वान’मा लगानी गरेका छन् । काठमाडौंका दुई दर्जनभन्दा बढी चेन रहेको ‘ए वान क्याफे’ तथा पार्टी भेन्युमध्ये चारवटा क्याफे तथा पार्टी भेन्युमा केदारको लगानी रहेको छ । ‘नेपालमा भूकम्पपछि चलचित्र व्यवसायको भविष्य अनिश्चित देखें, सोही कारण मैले साथीहरूसँग मिलेर ए वान क्याफेमा लगानी गरें र अहिले आम्दानी राम्रो छ,’ केदारले राजधानीसँग भने ।

यसरी केदार ए वानमा जोडिएपछि अर्का हास्य कलाकार जितु नेपाल पनि यही क्याफेमा जोडिएका छन् । उनी होटल व्यवसायमा जोडिएको दुई वर्ष मात्र भएको छ । उनी पनि बिस्तारै होटल व्यवसायमा रमाउँदै छन् ।

अर्का हास्य अभिनेता निर्मल शर्मा पनि लामो समयदेखि होटल व्यवसायमा छन् । उनी पछिल्लो समय पार्टी प्यालेस व्यवसायमा आबद्ध छन् । कुनै समय काठमाडौंको दरबारमार्गमा दरबार होटल सञ्चालन गरेका उनी पछिल्लो समय पार्टी प्यालेस व्यवसायमा जोडिएका हुन् ।

रेस्टुरेन्ट व्यवसायमा लागेका अर्का अभिनेता हुन्, सलोन बस्नेत । सलोनले ललितपुरको पुल्चोकमा बैठक लाउन्ज बार सञ्चालन गरेका छन् । उनले यो बार केही वर्षअघिबाट सञ्चालन गरेका हुन् । साझेदारीमा उनले सञ्चालन गरेको यस लाउन्जबाट राम्रै आम्दानी हुने गरेको यी अभिनेताको कथन छ । चलचित्र छायांकन नभएका बेला यी अभिनेता आफ्नो व्यवसायमा व्यस्त रहने गर्छन् । गत वर्ष वैवाहिक सम्बन्धमा बाँधिएका सलोन आउँदा दिनमा चलचित्र अभिनयसँगै अन्य व्यवसायमा पनि जोडिने बताउँछन् ।

अभिनेता तथा निर्माता दीपकराज गिरी र अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले भने सिनेमा हलको व्यवसाय सुरु गरेका छन् । यी दुईले अन्य व्यक्तिसँग मिलेर काठमाडौंको नयाँ बानेश्वर प्यालेसमा नयाँ सिनेमा हल सञ्चालन गर्न लागेका छन् । यो हल आउँदो भदौबाट सञ्चालनमा आउने भएको छ ।

अभिनेत्री रेजिना उप्रेती पनि अभिनयबाहेक पारिवारिक व्यवसायमा रमाउने गरेकी छन् । उनको ट्राभल एन्ड टुरको व्यवसाय छ । रेजिना, उनका पति र मामा भएर काठमाडौंमा ट्राभल एजेन्सी सञ्चालन गरेका छन् । आफूहरूको ट्राभल एजेन्सीले युरोप, अमेरिका तथा अन्य मुलुकको ट्राभल तथा टुरको व्यवस्थापन गर्दै आएको उनले बताइन् । ‘सधैं चलचित्रमा अभिनय गरेको कमाइले मात्र बाँच्न गाह्रो छ, सोही कारण आफ्नो दिगो व्यवसाय हरेक कलाकारको हुनु आवश्यक छ,’ अभिनेत्री रेजिनाले राजधानीसँग भनिन् ।

अर्का अभिनेता निर्देशक तथा निर्माता नवल खड्का काठमाडौंमा विभिन्न कार्यक्रममा अतिथिकै रूपमा देखिन्छन् । तर, उनी पनि व्यवसायी हुन् । नवलको चिया बगान छ । उनले इलाममा माङमालुङ चिया बगान सञ्चालन गरेका छन् । त्यहाँ निकै ठुलो भूभागमा रहेको आफ्नो बगानबाट उत्पादित चिया उनले देश विदेश पठाउँछन् । काठमाडौंका डिपार्टमेन्ट स्टोरमा पाइने माङमालुङ ग्रीन टी र सेलिब्रेटी ग्रीन टीका उत्पादक नवल खड्का नै हुन् । आफूहरूले उत्पादन गरेको यस चियाको राम्रो व्यापार रहेको पनि उनले बताएका छन् । ‘नेपालमा चलचित्रको आम्दानीले मात्र बाँच्न गाह्रो छ, सोही कारण मैले चिया बगान लिएर चियाको व्यवसाय पनि गरिरहेको छु र यसको आम्दानी राम्रो छ,’ नवलले राजधानीसँग भने ।

नेपाली चलचित्रमा कार्यरत थुप्रै चलचित्रकर्मीहरू विभिन्न व्यवसायमा जोडिएका छन् । चलचित्रको कमाइ अकासे खेतीजस्तै भएकाले आफूहरूले अन्य व्यवसाय पनि गर्दै आएको उनीहरूको कथन छ । उनीहरू चलचित्रमा जस्तै अन्य व्यवसायमा पनि सफल हुँदै आएको दाबी गर्छन् ।

(राजधानीबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.