हिमपहिरोमा मृत्यु भएकाको शव भारतको बाटो भएर दार्चुला ल्याइँदै

| 2023 May 04 | 01:58 pm 1285

दार्चुला, बैशाख २१: दार्चुला हिमपहिरोमा परी ज्यान गुमाएका तीन जनाको शव भारतको बाटो प्रयोग गरी सदरमुकाम खलङ्गा ल्याइँदै छ। नेपालतर्फ सडक सुविधा नहुँदा शव भारतीय सडक प्रयोग गरी ल्याउन लागिएको प्रमुख जिल्ला अधिकारी किरन जोशिले बताइन्।

मङ्गलबार हिमपहिरोमा परी ज्यान गुमाएका दार्चुलाको दुहुँ गाउँपालिकाका ३८ वर्षीया कमला कुँवर र १८ वर्षीय प्रविण कुँवर तथा डोटीको जोरायल गाउँपालिकाकी क्षिमी सोमो थापाको शव सदरमुकाम पठाउन लागिएको सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५० गुल्म छाङरुका प्रहरी नायव उपरीक्षक ईश्वरीदत्त भट्टले जानकारी दिए।

‘पानी निरन्तर परिरहेको छ, शव आफ्नै भूमि प्रयोग गरे खलङ्गा पठाउन सकिने अवस्था छैन’, उनले भने। भारतीय सीमा सुरक्षा बल (एसएसबी) सित समन्वय गरी शव पठाउन लागिएको डीएसपी भट्टले बताए।

हिमपहिरोमा परी अझै दुई जना बेपत्ता छन्। बेपत्ता हुनेमा डोटीको जोरायलकी ४५ वर्षीया नक्नी डोल्मा थापा र सोही ठाउँकी २८ वर्षीया ईश्वरी थापा रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार सशस्त्र प्रहरी बल र नेपाल प्रहरिको टोलीले मङ्गलबारदेखि निरन्तर बेपत्ताको खोजी कार्यमा खटिएकोछ। मौसम प्रतिकुलका कारण खोजी कार्यमा समस्या भएको छ। आज अलि मौसममा सुधार भएकोले खोजी तीव्र पारिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.