हामीले चाहेको शान्तिसुरक्षा किन हुँदैन ?

रिपोर्ट नेपाल | 2019 Jun 23 | 03:06 pm 2750

  • महेन्द्र पाण्डेय

२०४६ सालको ऐतिहासिक जनआन्दोलनको सफलतापछि र २०६२।०६३ को दोस्रो जनआन्दोलनपछि सत्य सेवा सुरक्षणमको नारा बोकेको नेपाल प्रहरी नागरिकसँगको सहकार्यबाट अपराध नियन्त्रण गर्न लागिपरेको छ ।

कहिले शान्ति दूतको नारा दिएर जनतासँग सहकार्य गर्न खोजेको देखिन्छ त कहिले मुस्कान सहितको नारा लगाएर । प्रहरीले नागरिकबाट आशा गरे अनुसारको सहयोग र सूचना प्राप्त गर्न नसकेपछि प्रहरी मेरो साथी भन्ने नारा पनि अघि सारीयो । वर्तमान प्रहरी प्रमुख सर्वेन्द्र खनालले कमाण्ड सम्हालेपछि समुदाय र प्रहरी नङ र मासुको सम्बन्ध हुने भन्ने सोचेर २०७५ कात्तिक ११ गते एक बृहद कार्यक्रम गरी समुदाय प्रहरी साझेदारी कार्यक्रम अघि सारिएको छ ।

अन्य कार्यक्रमको दाँजोमा यस पटक ल्याइएको समुदाय प्रहरी साझेदारी कार्यक्रम केही प्रभावकारी देखिए पनि हामीले प्रहरीबाट लिन खोजेको सेवा अनेक छन् तर हामीले प्रहरीलाई कति सहयोग गरेका छौं भन्ने कुरा पनि बुझ्न जरुरी छ । भान्छाको झगडा देखि संघियारको झगडा हुँदै दर्जनौ कृयाकलापमा प्रहरीको सहयोग खोज्ने समुदायले आफ्नै वरिपरी भएको अपराधिक चरित्र भएको विषय चाही हामीले प्रहरीलाई नदिने अनि कसरी हुन्छ शान्तिसुरक्षा कसरी हुन्छ अमनचयन ? समुदायले जसरी प्रहरीबाट सेवा चाहेको छ त्यसै गरी अपराध, विकृति विसंगति अन्त्यका लागि हामीेले पनि प्रहरीलाई सक्दो सूचना दिएर सहयोग गर्नु पर्दैन ? अपराध नियन्त्रण गरी हाम्रो वरिपरी भएका विकृति र विसंगतिलाई समाप्त पार्नका लागि प्रहरीको जस्तै नागरिकको पनि प्रमुख दायित्व र भूमिका रहन्छ ।

अपराध गर्ने अपराधि कुनै अर्को ग्रहमा बस्दैन हाम्रै छिमेक र घरमा बस्छ । उसको कृयाकलाप र गतिविधिले केही संकेत पनि गरेकै हुन्छ । हामीले यी सबै कुरा देख्दा पनि उसको हुलिया किन प्रहरीलाई दिदैनौं ? जवसम्म केही हुँदैन सबै गुपचाप राख्छौं जव घटना घट्छ र उ फरार हुन्छ त्यसपछि मात्रै प्रहरी गुहार्ने गर्छौं यो सबै भन्दा गलत काम हो । समुदायको यस्तो मानसिकताले शान्तिसुरक्षा चुनौतिपूर्ण त हुन्छ नै त्यसको शिकार स्वयम् आफैं भइन्छ । अपराधकर्म गर्नेका विषयमा प्रहरीलाई जानकारी दिँदा आफूलाई खतरा हुन्छ कि भन्ने हाम्रो गलत सोचले अहिले अपराधमा बढोत्तरी भएको हो ।

अपराध जुन किसिमले कमी हुनुपर्ने थियो त्यो नहुनुमा स्वयम् हामी पनि दोषी छौं । पंतिकारले अगाडी उल्लेख गरेझैं सुरक्षालाई कमजोर बनाउने, चुनौती निम्त्याउने अपराधिक घटना समाजभित्रै घट्ने र अपराधकर्म गर्ने मान्छे पनि समाजमै बस्ने हामी सबैलाई सर्वविदितै छ । समुदायबाट पर्याप्त रुपमा सहयोग नगर्ने हो भने संदिग्ध व्यक्तिको पछाडी सुरक्षाकर्मी लाग्न सक्ने सम्भावना छैन । आवश्यक जनशक्तिको कमी र पर्याप्त साधन स्रोतका बावजुत प्रहरीले जति गरेको छ त्यसलाई हामीले सन्तोष लिनै पर्छ ।

राज्यले पर्याप्त जनशक्ति नदिनु, समुदायले शंकास्पद सूचना नदिनु यसका अलवा गरेको हजारौं राम्रा कामलाई वेवास्ता गर्दै विग्रीएको एउटा कामको नारा घन्कउँदा यसले स्वयम् हामीलाई असुरक्षित बनाउँछ भनेर बुझ्न पनि जरुरी छ । अपराध विरुद्ध समुदाय एक हुने हो भने शंकास्पद व्यक्तिका चाल, ढाल र गतिविधिलाई नियाल्न ध्यान दिने हो भने अपराध न्यूनिकरण गर्न खासै कठिनाई पर्छ जस्तो यो पंतिकारलाई लाग्दैन । अपराध र अपराधिलाई हेर्ने सामाजिक दृष्टिकोण एक बनाएर समुदायले प्रहरीलाई सहयोग गर्ने हो भने हामीले चाहे जस्तो शान्तिसुरक्षा र अमनचयन प्राप्त गर्न सक्छौं ।

लामो अनुसन्धान पश्चात प्रहरी अपराध कर्म गर्नेलाई पक्राउ गर्दा नगर्दै हामीबाटै नाता सम्बन्ध आस्थाका कुरा गर्न सुरु हुन्छ । अपराध गर्ने मान्छे नाता सम्बन्ध र कुनै दलको आस्थावान हुँदैन । त्यो अपराधि नै हो । कुनै बाबुले आफ्नी छोरीलाई बलात्कार वा अन्य अपराध गर्छ भने त्यो छोरीकी आमाले नाता र सम्बधका कुरा गर्नु हुँदैन । पछिल्लो समय अपराध कर्म गर्नेहरु कुनै न कुनै दलसँग गासिँएका छन् । आफ्नो पार्टीको भए जघन्य अपराधि पनि दूधले नुहाएर शुद्ध हुने र अर्को पार्टीको भए कारबाही गर भन्दै नारा जुलुश गर्ने प्रवृत्तिले शान्तिसुरक्षालाई खलल पुर्याउन स्वयम् हामी पनि लागि परेका छौं । जबसम्म दण्ड सजायमा एकरुपता हुँदैन र अपराधिलाई समुदायले नै संरक्षण गर्ने प्रवृत्ति रोकिन्न तबसम्म प्रहरीले एक्लै चाहेर मात्रै शान्तिसुरक्षा हुन सक्दैन ।

अहिले डरलाग्दो स्थिती के पनि भइरहेको छ भने वास्तविक अपराधिलाई ढाकछोप गर्ने विपक्षीलाई फसाउनका लागि गलत उजुरी दिने प्रवृत्तिले प्रहरीलाई अनुसन्धान गर्न कठिनाई भइरहेको छ । घटनालाई तोडमोड गरेर वास्तविकतालाई छायाँमा पार्ने काम पनि कतै हामीबाट भएकोत छैन ? जवसम्म समाजका ऐनाका रुपमा रहेका बुद्धिजिवीहरुले समुदायलाई जागरुक गराउन चेतनामुलक कार्यक्रम लगेर चेतनशिल बनाउन सकिन्न तवसम्म पूर्ण सुरक्षित छु भनेर आशा नगर्दा पनि हुन्छ ।

कात्तिक ११ गते गृहमन्त्री रामबहादुर थापाबाट उद्घाटन गराई सुरु भएको समुदाय प्रहरी साझेदारी कार्यक्रमको चाहना पनि यही हो । यो पंतिकारको भनाई समुदायका मान्छेहरु सधै प्रहरीको जस्तै चौविसै घण्टा निगरानी र सुराकिमा विताउने भन्ने चाही होइन । कमसेकम अन्तरआत्माबाट म पनि यो देशलाई शान्त र सुरक्षित राख्नका लागि बिना बर्दीको प्रहरी हुँ भनेर लाग्न आग्रह गरेको मात्रै हो । साच्चीकै समुदाय सावधान र सचेत हुने हो भने अपराधि गतिविधिलाई निगरानी सहजै गर्न सकिन्छ । समुदाय सकृय हुनुपर्यो भन्नुको तात्पर्य समुदाय सयमा सय नै असहयोगी छन भन्ने होइन सहयोग भएको छ तर अझ बढी हुनुपर्यो भन्ने हो । समुदायको सकृय सहयोग नभएको मात्रै नभएर कतिपय प्रहरी कर्मचारी पनि अपराधिक घटनामा अनेक लोभमा फसेर लचिलो बन्नु पनि अपराधकर्म बढ्नुको थोरै अंश यो पनि हो । शान्त, सुन्दर र अमनचयन चाहाने जो कोहीले आ–आफ्ना ठाउँबाट प्रहरीलाई सहयोग गर्ने हो र हस्तक्षेपकारी कार्यलाई बन्द गर्ने हो भने आफ्नो परिवारको पीडालाई बिर्सेर नागरिकको पीडामा हाँसिहाँसी बलिदान दिन पनि पछि नपरेको नेपाल प्रहरी शान्तिसुरक्षा कायम गर्न अब्बल छ भन्ने यो पंतिकारको बुझाई हो । जनताले राज्यबाट शान्तिसुरक्षा आशा गर्नु स्वभाविक हो तर दुर्भाग्यको कुरा राज्यको अंगबाटै प्रहरीलाई कमजोर बनाउने काम हुन्छ । आफू खुशीका योजनामा अर्बौ रुपैयाँ लगानी गर्ने अर्थमन्त्रालयले प्रहरीको जनशक्ति बृद्धि गर्न नदिनु अर्को दुःख लाग्दो विषय हो । नेपाल प्रहरीलाई पर्याप्त जनशक्ति दिइने हो र समुदायले पनि सही सूचना समयमै दिने हो भने सुरक्षा स्थिती सहजै कायम हुन्छ । अर्थले जनशक्ति थप्न नदिने गृहले सुरक्षा स्थिती पूर्ण रुपमा कायम गर भन्नुको अर्थ हातखुट्टा बाँधेर लडाइको मैदानमा गएर युद्ध जितेर आउ भनेझै हो भन्ने मेरो बुझाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.