सुनसरी, जेठ २७: जिल्लाको कोशी गाउँपालिकास्थित भाण्टावारीमा हात्तीकाे आक्रमणबाट ६० वर्षीय एक वृद्धको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएकाे जानकारी अनुसार जङ्गली हात्तीको आक्रमणमा परी सद्रुल मियाँको मृत्यु भएको जानकारी दिए ।
आइतबार राती करिब साढे १० बजे घरनजिकै रहेको केराबारी हेरचाह गर्न निस्कने क्रममा ६० वर्षिय मियाँ र उनको ३८ वर्षिया छोरी नेहरुल खातुन हात्तीको आक्रमणमा परेका थिए।
कोशी टप्पु वन्यजन्तु आरक्षणबाट आएका ४–५ वटा हात्तीको समूहले उनीहरुलाई आक्रमण गरेको बताइएको छ। घटनालगत्तै घाइते बाबु छोरीलाई भाण्टावारीस्थित सिमा प्रहरी चौकीको टोलीबाट खटिएका प्रहरीले उद्धार गरेका थिए।
घाइते सद्रुलको जिल्ला अस्पताल सुनसरी इनरुवामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते छोरी नेहरुल खातुनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिए ।
हात्तीलाई प्रहरी र स्थानीयको सहयोगमा वन्यजन्तु आरक्षण केन्द्र तर्फ लखेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।