हल्लैहल्लाको देश

रिपोर्ट नेपाल | 2022 Feb 23 | 09:02 am 1525

  • बबिता बस्नेत

२०७८ साल फाल्गुण ३ गते नेपाल नागरिक उड्ययन प्राधिकरण विमानस्थल सञ्चालन विभागले प्लेनको टिकटसम्बन्धी एउटा विज्ञप्ति जारी गऱ्यो । विज्ञप्तिमा ‘आन्तरिक उडानबाट यात्रा गर्न आउने कतिपय यात्रु महानुभावहरूले टिकटको पीएनआर कोड मात्र देखाउने गरेको र उक्त कोडमा यात्रुको पहिचान नखुल्ने भएकाले सुरक्षा संवेदनशीलतालाई मध्यनजर राखी फाल्गुण ७ गते बाट लागु हुने गरी काठमाडौंबाट अन्यत्र यात्रा गर्नु पर्दा विमानस्थल प्रवेश गर्नुपूर्व अनिवार्य रूपमा पूर्ण विवरणसहितको टिकटको प्रिन्टेट कपी वा डिजिटल कपी देखाउनुहुन साथै टिकटमा उल्लेख भएको रिपोर्टिङ समयमा अनिवार्य रूपमा विमानस्थल प्रवेश गरी सक्न त्रिअबिनाउका अनुरोध गर्दछ’ लेखिएको थियो । सम्बन्धित सरकारी निकायबाट यस्तो विज्ञप्ति आएपछि बुद्ध एयरले ‘विमानस्थलमा प्रिन्टेट टिकट वा मोबाइल ई-टिकट अनिवार्य गरिएको हुँदा सोहीअनुसार चेक इन गर्न सम्पूर्ण यात्रु महानुभावहरूमा अनुरोध छ’ भनेर उक्त विज्ञप्तिसहित सामाजिक सञ्जालमा पोष्ट गऱ्यो । अरु एयरलाइन्सले पनि आ-आफ्ना सामाजिक संजालमा पोष्ट गरे ।

यो कुरा सार्वजनिक हुनासाथ नेपाल ढुङ्गेयुगतिर धकेलिएको भन्दै सामाजिक संजालमा अनेक प्रतिक्रिया वर्षिन थाले । कसैले ‘एयरलाइन्सको टिकटलाई नेपाली कागजमा लेखेर हुलाक टिकट टाँसेर प्रयोग गर्न मिल्ने बनाउँ’ लेखे । कसैले ‘हातेफोन म्यासेजबाट संसार चल्दैछ, बुद्ध एयरलाई भने प्रिन्ट टिकट नै चाहिने’ भन्दै विमानस्थल सञ्चालन विभागलाई नभइ एयरलाइन्सलाई गाली गरे । यो न्यायिक भएन, पुनर्विचार भएन भने बहिष्कार गर्नुपर्छ भन्नेहरू पनि भए । घडी उल्टो चलाउन नखोजौँ भन्दै यसरी गलत सूचना फैलाउनेमा सर्वसाधारण मात्र नभइ विभिन्न सरकारी ओहदामा बसिसकेका र समाजमा सचेत वर्गका रूपमा चिनिएका ब्यक्तिहरू समेत थिए । एउटाले लेखेको अर्कोले सेयर ग¥यो, खासमा लेखिएको के थियो र गर्न खोजेको के हो कसैले खोजी गरेन । विज्ञप्तिमा स्पष्ट रूपमा ‘टिकटको प्रिन्टेट या डिजिटल कपी’ लेखिएको थियो तर ‘डिजिटल कपी’ शब्दको वास्ता नगरेर ब्यापक आलोचना गरियो । एसएमएसमा पीएनआर कोडले सम्बन्धित ब्यक्ति यात्रु हो कि होइन पहिचान गर्न सक्ने अवस्था थिएन । यात्रु र एयरपोर्टको सुरक्षाका लागि नाम भएको डिजिटल या प्रिन्ट कपी महत्वपूर्ण कुरा हो । तर शिक्षित, सचेत र ब्यवसायिक ब्यक्तिहरूबाटै यसरी होहल्ला गरियो कि मानौँ उक्त काम सम्बन्धित निकायको सहजताका लागि गरिएको हो । एयरपोर्ट प्रशासनले चालेको कदम सही हुँदाहुँदै पनि गलत सूचना या जानकारी फैलाएर मानिसहरूलाई कसरी दिग्भ्रमित बनाइन्छ भन्ने कुराको पछिल्लो उदाहरण हो यो । सोसियल मिडियामा लेखेको कुरा मात्र पढ्नेहरूलाई अहिले टिकट प्रिन्ट गरेर लगेन भने यात्रुहरू विमानस्थलभित्र पस्न पाउँदैनन् भन्ने बुझाइ छ, जुन सही होइन । मोबाइलमा डिजिटल या इलेक्ट्रोनिक टिकट देखाएर काउन्टरसम्म पुग्न पाइन्छ ।

२०७८ साल फल्गुण ८ गते संसद्मा एमसीसी टेबुल हुँदै गर्दा बानेश्वरको सडकमा युवाहरू सडकमा लगाइएका ढुङ्गाहरू उप्काइरहेका थिए । बडो मेहेनत गरेर उप्काइएका ति ढुङ्गा र इँटाहरू सुरक्षाकर्मीलाई हान्नका लागि थिए । युवाहरूले मुलुकमा केही न केही परिवर्तन ल्याउलान्, फरक तरिकाले सोच्लान् भन्ने लागिरहेको बेला त्यस प्रकारका दृष्यले धेरैको मन खिन्न बनायो । सडकमा आन्दोलन गरिरहेका केही युवाहरूको भनाइ पनि युटुबमा भाइरल बने । उनीहरूमध्ये कसैको भनाइ थियो, एमसीसी पास भयो भने अमेरिकी सेना नेपालमा आउँछ । कसैले भने, एमसीसी आयो भने देशका जङ्गल चराचुरुङ्गी केही रहँदैनन् र, कसैले भने- नेपाली महिलाहरूमाथि बलात्कार हुन्छ ! यी कुनै पनि कुरा एउटाले अर्कोलाई अर्कोले अर्कोलाई गर्दै मात्र नभइ सामाजिक संजालबाट गरिएको भ्रामक होहल्लाका कारण थियो । हल्ला गर्नेले त गरे तर पत्याउनेले कसरी पत्याए ?

इतिहासमा विभिन्न राजा-महाराजाका पालामा गलत सूचना र जानकारीका कारण निर्दोष मानिसहरूको हत्या गरिएको हामीले पढेका, सुनेका हौँ । अहिले सूचना प्रविधिको जल्दोबल्दो जमानामा कुन कुरा सही हो, कुन गलत हो, कसले, कुन नियतले, के कुरा भनिरहेको छ भनेर जान्न सक्ने अवस्था छ । तर जान्न चाहेको चाहिँ देखिँदैन ।

हाम्रो देशमा भ्रामक सूचनाको खेती नयाँ कुरा होइन । विगतमा पनि गलत हल्लाका कारण मानिसले ज्यान गुमाएका उदाहरणहरू हामीसँग छन् । २०५७ साल पौषमा भारतीय सिनेक्षेत्रका अभिनेता ऋतिक रोशनले ‘नेपाल भारतकै एउटा प्रान्त हो’ भन्ने अभिव्यक्ति दिए भनेर कसैले गलत हल्ला फैलाइदिएको भरमा चितवनमा हिंसा भड्कियो र दुई युवाले ज्यान गुमाए । पछि बुझ्दा थाहा भयो, आफूले त्यस्तो कहिले र कहाँ भनेँ भन्ने कुरा ऋतिक रोशनलाई थाहा पनि रहेनछ । उनले नेपालको सम्बन्धमा केही बोलेकै रहेनछन् । २०६१ साल भदौमा इराकमा १२ जना नेपालीको हत्या भएको भिडियो सार्वजनिक भएपछि काठमाडौंमा वैदेशिक रोजगार कम्पनीका कार्यालयहरू जलाइए । वैदेशिक रोजगार कम्पनीका कारण त्यस्तो भएको भनी कसैले गलत सूचना फैलाइदिएका कारण वैदेशिक रोजगार ब्यवसायीहरूले ठुलो क्षति ब्येहोर्नु पऱ्यो ।

यी सबै घटनामा हल्ला फैलाउनेहरू, गलत र मिथ्या सूचना प्रवाह गर्नेहरू सुरक्षित रहे र त्यस्ता सूचनाका उपभोक्ता सर्वसाधारणले आफ्नै सुरक्षाकर्मीलाई सत्रु ठान्दै ढुङ्गामुढा गरे, आफैले दुःख पाए, ज्यान गुमाए । गलत र मिथ्या सूचना हाम्रो सन्दर्भमा नयाँ कुरा होइन । दूरदर्शी कवि भुपी शेरचनले २०२४ सालमा ‘हल्लैहल्लाको देश’ शीर्षकमा कविता नै लेखेका थिए । ‘कागले कान लग्यो भनेर कसैले भन्यो भने कागको पछि नदौडी आफ्नो कान छाम्नु’ भन्ने हाम्रो पुरानो भनाइ हो । यसको अर्थ धेरै अगाडिदेखि हामीकहाँ गलत सूचनाहरू फैलिने गर्थे । कागको पछि नलागी आफ्नो कान छाम है भन्नुको अर्थ त्यस्ता हल्ला, गलत सूचना या जानकारी पायौ भने त्यसलाई पुनर्पुष्टि गर है भनेको हो । हाम्रा पुर्खाहरू गलत सूचना नफैलियोस् भन्ने कुरामा सचेत थिए । तर हामी पाइला-पाइलामा गलत सूचना प्रवाह र उपभोग गर्दै हिँडेका छौँ । हिजो यस प्रकारका हल्लाहरू सीमित ब्यक्ति र समूहमा रहन्थे भने अहिले सोसियल मिडियामार्फत एकैछिनमा विश्वब्यापी बन्ने गरेका छन् । भाइरल हुने होडमा मानिसहरू जे पनि बोल्न, लेख्न थालेका छन् । बोल्ने, लेख्ने मात्रै नभइ चर्चा पाउनका लागि टिकटक तिर जस्तो हाउभाउ पनि गर्न थालिएको छ । त्यस्ता हाउभाउले कालान्तरमा अरुलाई भन्दा बढी आफैलाई हानी गर्छ । गलत र भ्रामक सूचना तथा जानकारीले ब्यक्ति, समूह, समाज हुँदै अन्ततः मुलुकलाई नै हानी पुऱ्याउँछ । बढ्दो शिक्षा र चेतनासँगै भ्रम र हल्लाको खेती कम हुनुपर्ने हो तर झन्-झन् बढ्दै गएको छ । अहिले हामीले यसलाई सामान्य रूपमा लिए पनि दूरगामी सोच राख्ने हो भने यो निकै चिन्ताको विषय हो । घटना र विचारबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.